राजनीति


प्रदेश १ : आकांक्षी धेरै हुँदा सपथ नै सर्‍यो, यी हुन् सम्भावित मन्त्री

प्रदेश १ : आकांक्षी धेरै हुँदा सपथ नै सर्‍यो, यी हुन् सम्भावित मन्त्री

फाइल तस्बिर


कृष्ण बहाब
कात्तिक १६, २०७८ मंगलबार १४:१२, इटहरी

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। एकीकृत समाजवादी दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

अधिकारीले मंगलबार १ बजे सम्म मुख्यमन्त्रीको लागि दाबी आव्हान गरेका थिए। समयभित्र विपक्षी गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन बहुमतसहित सोमबारै दाबी परेको थियो। 

एकल दाबीपछि प्रदेश प्रमुखले मंगलबार २ बजेका लागि सपथ ग्रहणको समय तय गरेका थिए। 

तर, विपक्षी गठबन्धनका कस-कसलाई मन्त्री बनाउने भन्ने 'टुंगो' नलाग्दा सपथ ग्रहणको समय सर्ने देखिएको छ।

मुख्यमन्त्रीसँगै गठबन्धन दलबाट कम्तीमा एक एकजना मन्त्री पठाउने तयारी गरे पनि निस्कर्ष भने आएको छैन। 

गठबन्धन सदस्य जसपाको तर्फबाट भने जयनारायण यादव मन्त्री हुने भएका छन्। यादवले उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय पाउने बताइएको छ।

जसपाको टुंगो लागे पनि कांग्रेस माओवादी र समाजवादीमा मन्त्री छनोट कठिन भएको छ। प्रदेशमा मन्त्री बन्न माओवादी केन्द्र र नेपाली काङ्ग्रेसभित्र हानथाप छ। 

गठबन्धन भित्रको ठूलो दलका रुपमा कांग्रेसमा सबैभन्दा बढी आकांक्षी छन्। काङ्ग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहबीच तीव्र प्रतिस्पर्धा छ।

कांग्रेसको तर्फबाट हिमाल कार्की र केदार कार्कीमध्ये एकको नेतृत्वमा सरकारमा जाने तयारी छ। 

देउवा समूहबाट संसदीय दलका उपनेता हिमाल कार्की पार्टीको नेतृत्व गर्दै मन्त्रिपरिषद्‍मा जाने सम्भावना बलियो रहेको बताइएको छ।

कांग्रेसबाट प्रदेशमा मन्त्री बन्ने लाइनमा ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, बिन्दिया कार्की, शेखरचन्द्र थापा दौडमा छन्। 

नेकपा एकीकृत समाजवादीबाट सरिता थापा, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु मन्त्री बन्ने दौडमा अगाडि छन्। 

त्यसैगरि माओवादीमा पुराना मन्त्रीसमेत दोहोरिने चर्चा छ। शेरधन राईको पालामा आन्तरिक मामिला मन्त्री दलका नेता इन्द्रबहादुर आङ्बो फेरि मन्त्री बन्ने चर्चा छ। 

त्यसैगरि झलकसिंह दर्लामी, रामकुमार राई, धीरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ मन्त्री बन्ने दौडमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .