राजनीति


बागमती प्रदेश सभा बैठक २ घण्टा सर्‍यो,  मुख्यमन्त्रीले विश्वासको मत लिन अलमल

बागमती प्रदेश सभा बैठक २ घण्टा सर्‍यो,  मुख्यमन्त्रीले विश्वासको मत लिन अलमल

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १४:२४, काठमाडौँ

बागमती प्रदेश सभाको बैठक ३ बजेसम्मको लागि सरेको छ। 

दिउँसो १ बजेको लागि बोलाइएको बैठक ३ बजेसम्मका लागि सरेको प्रदेश सभा सदस्य राजकाजी महर्जनले जानकारी दिए।

बिहीबारको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी थियो। त्यही तयारी अनुसार डाकिएको बैठक २ घण्टालाई सारिएको हो। 

मुख्यमन्त्री शाक्य यसअघि नै अल्पमतमा परिसकेकी छिन। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि शाक्यले बहुमत गुमाएकी थिइन्। 

१ सय ९ सदस्य प्रदेश सभामा एमालेको मात्रै ४३ जना छन्। यसअघि असोज २४ गते मै मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गरिसकेकी छन्। 

तर स्रोतका अनुसार मुख्यमन्त्री शाक्यले विश्वासको मत नलिने योजना बनाएकी छन्। संसदमा अल्पमतमा परिसकेको अवस्थामा विश्वासको मत नलिने योजना बनाएकोले बैठक २ घण्टा पर सारिएको स्रोतको दाबी छ।

मुख्यमन्त्री शाक्यका प्रमुख सल्लाहकार माधव अर्यालले भने विश्वासवको मत लिने प्रक्रिया अघि बढिसकेको बताए। उनले केही सांसदहरु नआइसकेकाले सत्ता र प्रतिपक्षकै सहमतिमा बैठक सारिएको बताए। 

'मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढिसकेको छ। हामी यो प्रक्रियाबाट पछि हट्ने कुरा छैन', अर्यालले नेपालखबरसँग भने, 'संसद फेस गरेर हामी बिदा हुन्छौँ। हाम्रो सरकारले गरेका कामबारे संसदलाई जानकारी गराएर मात्रै मुख्यमन्त्री बिदा हुनुहुनेछ।'

शाक्य गत भदौ २ ते मुख्यमन्त्री बनेकी हुन्। भदौ ९ गते माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले दलको मान्यता पाएर त्यसको जानकारी प्रदेश सभामा भदौ २५ गते मात्र दिएको थियो।

मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाक्यले विश्वासको मत लिन प्रस्ताव दर्ता गराएकी थिइन्। 

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने नलिने अलमलबीच कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले बहमुत सांसदको हस्ताक्षर प्रदेश प्रमुख मायाप्रसाद शर्मालाई बुझाउन सक्ने सांसद महर्जनले बताए।

यस विषयमा निर्णय गर्न गठबन्धनका सांसदहरु छलफलमा छन्। तर गठबन्धन दलबीचमा पनि मुख्यमन्त्रीका उम्मेदवारबारे मत मिलिसकेको छैन। 

केन्द्रमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भए पनि प्रदेशमा त्यस कुरालाई स्वीकारेर अघि बढ्न कांग्रेस तयार भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad