राजनीति


भारतीय रक्षा महाविद्यालयको टोलीको प्रधानमन्त्रीसँग भेटवार्ता नहुने

भारतीय रक्षा महाविद्यालयको टोलीको प्रधानमन्त्रीसँग भेटवार्ता नहुने

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १९:२८, काठमाडौँ

नेपाल भ्रमणमा रहेको भारतको राष्ट्रिय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलको प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता नहुने भएको छ। 

प्रधानमन्त्री देउवाको कार्यव्यस्तताले कारण पूर्वनिर्धारित भेट रद्द भएको नेपाली सेनाले जनाएको छ।

सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएपनि कार्यव्यस्तताका कारण भेटवार्ता नहुने नेपालखबरलाई बताए।

यसैबीच, साे टाेलीले सोमबार काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा तथा दूतावासका अन्य अधिकारीसँग अन्तरक्रिया गरेको छ। 

भारतीय सेनाका रियर एडमिरल धिरेन भिग नेतृत्वको उक्त प्रतिनिधिमण्डललाई दूतावासका अधिकारीले नेपाल-भारतको सैन्य सहकार्यलगायतका विविध विषयमा ब्रिफिङ गरेका थिए। प्रतिनिधिमण्डललाई भारतीय राजदूत क्वात्राले स्वागत गरेका थिए। 

सो टोलीको औपचारिक भेटवार्ता भोलिदेखि सुरु हुने प्रवक्ता पौड्यालले जानकारी दिए।

३९ सदस्यीय प्रतिनिधिमण्डलले रक्षामन्त्री मिनेन्द्र रिजाल,  अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

सात दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रतिनिधिमण्डलले नेपाली सेनाको मुख्यालय, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ। भारतको नेसनल डिफेन्स कलेजका अधिकारीहरुले नेपाली सेनाका अधिकारीहरुसँग साक्षात्कार गर्नेछन्। 

त्यसका अलावा टोलीले पशुपतिनाथ र मुक्तिनाथको पनि दर्शन गर्नेछ। काठमाडौं चन्द्रागिरी तथा नारायणहिटी संग्रहालयको समेत प्रतिनिधिमण्डलले अवलोकन भ्रमण गर्नेछ। नाम्चेस्थित होटल एभरेस्ट भ्यूको अवलोकन गर्ने पनि कार्यक्रम छ। 

नेपाली सेनाले विगतमा पनि मित्रराष्ट्रसँग यसखालका भ्रमण आदानप्रदान हुने गरेको उल्लेख गरेको छ।

‘विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा सञ्चालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रही आएको छ’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ‘छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सबन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ।’

भ्रमण सकेर प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्किनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad