ad ad

राजनीति


दिउँसो पदबाट राजीनामा दिएका यादव पुनः जसपा प्रदेश २ को अध्यक्ष बने

दिउँसो पदबाट राजीनामा दिएका यादव पुनः जसपा प्रदेश २ को अध्यक्ष बने

शैलेन्द्र महतो
असोज २४, २०७८ आइतबार २१:१८, काठमाडौँ

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को अध्यक्षमा पुनः विजय यादव चयन भएका छन्।

यादवको अध्यक्षतामा १५१ सदस्य प्रदेश कमिटी गठन भएको जसपाका नेता तथा प्रदेश सांसद ज्ञानेन्द्र यादवले जानकारी दिए। 

यसअघि पनि अध्यक्ष रहेका यादव कमिटी पुनर्गठनका लागि दिउँसो अध्यक्ष पदबाट राजीनामा दिएका थिए। पुनः उनकै अध्यक्षतामा १५१ सदस्य प्रदेश कमिटी गठन भएको हो। 

प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीको आर्थिक विभाग प्रमुख समेत छन्।  

पूर्वसंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको एकीकरण भएको लामोसमय सम्म पनि जसपामा प्रदेश कमिटी समायोजन हुन सकेको थिएन। दुई साता अघि जनकपुरमै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको प्रदेश कमिटी बैठकमा एक व्यक्ति एक पद र समायोजन गर्ने निर्णय गरेको थियो। 

सोही निर्णय कार्यान्वयन अन्तर्गत पूर्व फोरम र पूर्व राजपा मिलाएर नव कमिटी गठन गरिएको प्रदेश सांसद ज्ञानेन्द्र यादवको भनाइ छ। यद्यपी एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन गरेपनि कार्यकारिणी सदस्य समेत रहेका विजय यादवले नै पुनः अध्यक्ष पदमा चयन भएका हुन्। 

विशेष परिस्थितिका कारण उनलाई नै पुनः अध्यक्ष पदमा चयन गरिएको प्रदेश सांसद यादवले बताए। प्रदेश सांसद यादवका अनुसार अगामी कार्तिक १५ गते बस्ने जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा यस विषयमा निर्णय लिइने छ। 

बैठकमै सहभागी एक नेताका अनुसार प्रदेश कमिटी अध्यक्षका लागि स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालकिशोर यादव (रौतहट), प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादव (महोत्तरी), प्रतिनिधिसभा सदस्य रामबाबु यादव (बारा) र प्रदेश २ का आर्थिक मामिला मन्त्री समेत रहेका शैलेन्द्र प्रसाद साह (सप्तरी)ले नाम प्रस्ताव गरेका थिए। 

ती नेताका अनुसार भेलाबाटै अध्यक्षको टुंगो नलागेपछि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, नवनियुक्त कृषिमन्त्री महेन्द्र राय यादव र मुख्यमन्त्री लालबाबु राउतले अध्यक्ष चयन गर्ने जिम्मा पाएका थिए। तीनैजनाले पुनः विजय यादवलाई नै अध्यक्ष बनाउने निर्णय गरेका छन्। केन्द्रीय कार्यकारिणी सदस्य रहेकै व्यक्तिलाई पुनः अध्यक्ष चयन गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको ती नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .