ad ad

राजनीति


'एमालेमा केपी ओलीको विकल्प छैन, म तेस्रो पटक महासचिवमा उठ्दिनँ'

'एमालेमा केपी ओलीको विकल्प छैन, म तेस्रो पटक महासचिवमा उठ्दिनँ'

नेपालखबर
असोज २४, २०७८ आइतबार १४:२५, काठमाडौँ

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने बताएका छन्। 

महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै अध्यक्ष बनाउने संकेत गरेका हुन्। 

बडादसैँ, तिहार, नेपाल संवत् र छठको अवसर पारेर आइतबार सञ्चारकर्मीसँग आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को ध्रुवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको पोललाई बलियो बनाउन जरुरी रहेको तर्क समेत उनले गरे। 

महासचिव पोखरेलले आफूले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गरे। 

विधानमा पनि २ पटक भन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनले बताए। 

महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरु इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले पार्टी नेतृत्वका लागि स्वभाविक दावेदार भएको पनि दोहोर्‍याए। 

‘नेशनल पोलिटिक्स दुइटा पोलमा पोलराइज भएको छ। एउटा पोलको लिड एमालेले गरेको छ। जुन एमालेलाई केपी ओलीले नेतृत्व गर्नु भएको छ। त्यो पोल मजबुत हुन जरुरी छ। सुदृढ हुन जरुरी छ। ताकि यो अर्को पोल जो अवाञ्छित ढंगले गतिविधि गरिराखेको छ', उनले भने, 'त्यो पोल चाहिँ बलशाली बन्नु हुँदैन भन्ने हाम्रो मान्यता छ। त्यसकारणले हामी राष्ट्रिय राजनीतिको यो परिप्रेक्ष्यमा कुन ठाउँमा उभिनुपर्दछ, त्यसका लागि मानसिक रुपमा तयार छौं।'

पोखरेलले आफू तेस्रो पटक महासचिवमा नउठ्ने पनि बताए। 'म अब तेस्रो पटक महासचिव हुन्नँ। विधानले पनि दिँदैन। मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन', उनले भने, 'तर कुन खालको जिम्मेवारी लिने हो, त्यसका लागि म मात्रै होइन, पार्टीको नेतृत्वका हरेक साथीहरु तयार हुनुहुन्छ। जुनसुकै जिम्मेवारी लिनुपर्दा तयार हुनुहुन्छ। यो राष्ट्रिय राजनीतिको स्थिति हो। त्यसलाई सबल बनाउन हामी लाग्छौं।’

महासचिव पोखरेलले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पारे। तर त्यसका लागि कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा आफूहरु नरहेको महासचिव पोखरेलले बताए। 

‘यो संसद, संसदलाई नेतृत्व गर्ने व्यक्तिका यी सबै कुराहरु हामी देख्दैछौँ। त्यसकारण ताजा जनादेशमा जानु जरुरी छ। त्यो मुलुकको हितमा छ', उनले भने, 'यो ताजा जनादेशमा जानका लागि अब शेरबहादुर देउवाजीसित वा अरु कोहीसित मिलेर सरकारका जाने कुरा हुन्छ रे भन्ने पनि सुनियो हाँस पनि उठ्यो मलाई।'

उनले अब एमाले सरकारमा नजाने पनि बताइन्। 'हामी यो बीचमा सरकार गएर आत्मबल प्राप्त गर्ने योजनामा छैनौँ। हामी त्यो ठान्दैनौँ। तर हामी के भन्छौ भने जति धेरै यो गन्जागोल रहन्छ, मुलुकले त्यति धेरै दुःख पाउँछ', उनले भने, 'त्यसकारण जति चाँडो ताजा जनादेशमा जाने कुरा राम्रो हो। तर त्यसका लागि हामी अश्वभाविक लाग्ने गठबन्धन गर्ने पक्षमा छैनौँ।'

महासचिव पोखरेलले अदालतलाई राजनीति नगर्न पनि चेतावनी दिए। अदालत संविधान अनुरुप नहिँडेको दाबी गर्दै उनले आपत्ति जनाए। 

‘जहाँसम्म अदालतको कुरा हो। त्यसले पोलिटिक्स गर्ने होइन। अदालत अदालत जस्तो हुनुपर्यो', उनले भने, 'अदालत संविधान अनुरुप राजनीतिक दलसम्बन्धी कानुन छ, त्यसलाई हेक्का राखेर चल्नुपर्ने हो। तर त्यस्तो भइराखेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .