राजनीति


माधव नेपालको भनाइमा विष्णु रिजालको दुईबुँदे खण्डन

माधव नेपालको भनाइमा विष्णु रिजालको दुईबुँदे खण्डन

नेपालखबर
असोज १४, २०७८ बिहिबार १३:३७, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी (एमाले) एकताका पक्षमा उभिएका नेताहरूलाई अवसरवादी भन्न नमिल्ने दाबी गरेका छन्। 

लामो समय पार्टीका अध्यक्ष केपी शर्मा ओलीको विरोध र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा रहेका एमालेका कतिपय नेता अन्ततः ओलीसँगै रहेपछि आलोचना भइरहेको छ।

स्वयं नेता नेपालले आफूलाई धोका दिएको भनेर गुनासो गरिरहेका छन् भने अन्य कतिपयले नेता नेपालको साथ छाड्दै ओलीसँगै समाहित भएर अवसरवादी चरित्र देखाएको आरोप पनि लगाइरहेका छन्। 

यसैलाई लक्ष्य गरी नेता रिजालले त्यसको खण्डन गरेका हुन्।   

माधव नेपालको नाम नलिइकन उनले ‘दुईवटा कुरामा सबै स्पष्ट हुनुपर्छ’ शीर्षकमा बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् : 

१. पार्टी विभाजनका पक्षमा लाग्दा तत्कालै ठूल्लठूला पद र अवसरहरू पाउने निश्चित हुँदाहुँदै तिनलाई किञ्चित महत्त्व नदिएर दृढतापूर्वक पार्टी एकताका पक्षमा उभिने नेता–कार्यकर्ताहरूलाई कदापि अवसरवादी भन्न मिल्दैन।

२. पार्टीको अन्तर्संघर्षमा एक ठाउँमा उभिँदा पार्टी विभाजन गरौं भनेर कुनै भेला–बैठकबाट निर्णय भएको रहेछ र त्यसमा सहभागीहरूले पछि विभाजनमा साथ दिएका रहेनछन् भने मात्र धोका भन्न सकिन्छ। अन्यथा अन्तर्संघर्ष र विभाजन बिलकुल फरक विषय हुन्।

भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत दोस्रो पुस्ताका १० नेताले अन्त्यमा माधव नेपालको साथ छाड्दै उनले गठन गरेकाे नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नलागी ओली पक्ष अर्थात् एमाले नै रोजेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .