ad ad

राजनीति


अखिल क्रान्तिकारीमा अध्यक्षका ९ प्रत्याशीः कसलाई कुन नेताको साथ?

अखिल क्रान्तिकारीमा अध्यक्षका ९ प्रत्याशीः कसलाई कुन नेताको साथ?

सागर न्यौपाने
असोज १२, २०७८ मंगलबार २१:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको अधिवेशन असोज १४ देखि १६ गतेसम्म हुँदैछ। २२ औं अधिवेशनमा अध्यक्ष बन्नको लागि ९ जना प्रतिस्पर्धामा छन्।

निर्वाचनबाटै नेतृत्व चयन गरेको अवस्थामा चुनावी माहोल रोचक हुने देखिन्छ। यद्यपि, चुनाव हुने सम्भावना कम छ।

अहिले अध्यक्षको दौडमा रहेका विद्यार्थी नेताहरुमध्ये सबैलाई पार्टीका फरकफरक प्रभावशाली नेताहरुको साथ छ।

नारायणकाजी श्रेष्ठदेखि शक्ति बस्नेतसम्मले विद्यार्थी नेताहरुको पक्षमा माहोल बनाइरहेका छन्। 

‘नौ जनै विद्यार्थी नेताहरुलाई पार्टीका सिनियर नेताहरुको साथ छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘तर, यसपालि पनि टीके नेता छानिन सक्छन्।’

क्रान्तिकारीको २२ औँ अधिवेशनबाट उपाध्यक्ष रहेका सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम, दीपेश पुन, रविकिरण यादव र इन्द्र भुसाल अध्यक्षको प्रतिस्पर्धामा छन्। यस्तै हालका महासचिव उत्तम अधिकारी पनि अध्यक्षको दौडमा छन्।

यी सबै नेताहरु अहिले देशव्यापी रुपमा आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन्। क्रान्तिकारीले जिल्लापछि मंगलबार प्रदेशको अधिवेशन पनि सम्पन्न गरेको छ।

क्रान्तिकारीको अध्यक्षमा कसले बाजी मार्छ? यसै भन्न कठिन रहेको नेताहरु बताउँछन्। सहमतिको आधारमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष प्रचण्डले निर्देशन दिएको अवस्थामा परिस्थिति अर्कै हुने एक नेताले बताए।

प्रचण्डले मंगलबार क्रान्तिकारीका नेताहरुलाई खुमलटारमा बोलाएर अहिलेसम्मको ब्रिफिङ लिएका छन्। 

कसलाई कुन नेताको साथ?
दीपक देवकोटाः हाल उपाध्यक्ष रहेका देवकोटा रसुवाका हुन्। क्रान्तिकारीमा रहेका पुराना नेतामध्येका उनी एक हुन्। 

अर्थमन्त्री तथा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माको निकट रहेका उनी जनयुद्धका बेला ४ वर्ष जेल परेका थिए। 

त्यही कारण पनि उनलाई अध्यक्ष प्रचण्डको पनि साथ रहने नेताहरु अनुमान गर्छन। उनी अनिल शर्मा प्यानलबाट चुनाव उठेर क्रान्तिकारीको उपाध्यक्ष बनेका हुन्।

सुरेन्द्र बस्नेतः बस्नेत पनि क्रान्तिकारीका उपाध्यक्ष छन्। अध्यक्ष रञ्जित तामाङ प्यानलबाट उनले उपाध्यक्ष जितेका हुन्। एमालेमा रहेका उनी शान्तिप्रक्रियापछि भने माओवादी प्रवेश गरेका हुन्। 

अहिले उनलाई वर्षमान पुन र  शक्ति बस्नेतले साथ दिएको क्रान्तिकारीका एक नेताले दाबी गरे। उनका २ भाइ जनयुद्धमा मारिएका थिए।

‘उहाँलाई वर्षमान पुन र शक्ति बस्नेतको साथ छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘पूर्वको भएकाले अध्यक्ष बनाउन लबिङ भइरहेको छ।’

पञ्चा सिंहः संगठनमा यस पटक अध्यक्षको एक मात्र महिला प्रत्याशी हुन् सिंह।

कर्णाली प्रदेश र महिला विभागमा प्रभाव पार्न सक्ने उनी अहिले बढी चर्चामा रहेको नेताहरु स्वीकार गर्छन्। जनार्दन शर्माको निकट रहेकी अध्यक्ष प्रचण्डबाट पनि साथकाे अपेक्षा गरेकी छिन्। 

तिलक भण्डारी: अध्ययनशील नेतामा गनिन्छन् भण्डारी। उनी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरासँग बढी निकट छन्। तर, पछिल्लो चरण उनले पार्टीका सबै नेताहरुसँग बलियो सम्बन्ध बनाइसकेका छन्। 

यस आधारमा उनी वर्षमान पुन, शक्ति बस्नेतसँग पनि नजिक छन्। क्रान्तिकारीभित्र उनी कुशल संगठकका रुपमा चिनिन्छन्। उनी पनि हालका अध्यक्ष रञ्जित तामाङकै समूहबाट उपाध्यक्ष निर्वाचित भएका हुन्।

विजय गौतम: अखिल क्रान्तिकारी नेताहरुमा सबैभन्दा कम उमेरका गौतम मकवानपुरका हुन्। उनी लामो समयदेखि माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठ निकट छन्। 

उनी जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्षम नेता भएको अध्यक्ष रञ्जित तामाङले बताए। उनी तामाङ समूहबाटै उपाध्यक्ष निर्वाचित भएका थिए। 

दीपेश पुनः उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश अहिले उपाध्यक्ष छन्। उनी पनि अध्यक्षका आकांक्षी हुन्। महरा, वर्षमान पुन लगायत केही स्थायी समिति सदस्यहरुको पहुँचमा उनी छन्। 

रविकिरण यादव: माओवादी केन्द्रका स्थायी समिति सदस्य मात्रिका यादवका छोरा रविकिरण क्रान्तिकारीमा अध्यक्षका प्रत्याशीमध्ये सबैभन्दा सोझा नेताका रुपमा चिनिन्छन्। 

जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने उनी संगठन बनाउन सफल मानिन्छन्। 

इन्द्र भुसाल: कांग्रेसको भातृ संगठन नेविसंघबाट अखिल क्रान्तिकारी प्रवेश गरेका भुसाल अध्यक्षको दौडमा रहेका अर्का नेता हुन्। हाल उपाध्यक्ष रहेका उनको घर संखुवासभा हो। हालका अध्यक्ष रञ्जित तामाङसँग सबैभन्दा निकटमा उनी छन्।

माओवादी केन्द्रका उच्च तहका नेताहरुले व्यक्तिगत रुपमा उनलाई साथ दिएको नदेखिए पनि क्रान्तिकारीभित्र भने उनलाई निकै सम्भावना भएको नेता मानिन्छ। 

उत्तम अधिकारीः नुवाकोट घर भएका अधिकारीलाई क्रान्तिकारीभित्र वैचारिक नेता मानिन्छ। जनयुद्धमा लागेर चार वर्ष जेल परेका उनले ललितपुर लगायतका जिल्लाको इन्चार्ज भएर काम गरिसकेका छन्।

हाल क्रान्तिकारीका महासचिव रहेका उनी मोहन वैद्य किरणले एमाओवादी छोडेर क्रान्तिकारी–माओवादी गठन गर्दा सँगै गएका थिए। २०७३ सालमा रामबहादुर थापा बादलसँगै  अधिकारी पनि माओवादी केन्द्र फर्किएका हुन्।

उनले अनिल शर्मा प्यानलबाट महासचिव जितेका हुन्। निर्वाचन भएको अवस्थामा उनी अहिले पनि बलियो दाबेदार रहेको क्रान्तिकारीका नेताहरु बताउँछन्।

प्रचण्डले मंगलबार भेटे अध्यक्षका प्रत्याशी 
अध्यक्ष प्रचण्डले अध्यक्षका प्रत्याशीसँग मंगलबार निवासमै बोलाएर छलफल गरेका छन्।

सहभागी एक नेताका अनुसार प्रचण्डले सुरुमा सामूहिक र पछि छुट्टाछुट्टै पनि छलफल गरेर धारणा बुझेका थिए। उनले धेरै कुरा अध्यक्षका प्रत्याशीबाट सुनेको एक नेताले जानकारी दिए। 

‘विद्यार्थीको सम्मेलनले सिंगो पार्टीलाई उत्साहित बनाएको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘राष्ट्रिय सम्मेलनमा नेतृत्वमा पुग्ने सबैको चाहना हुन्छ। पार्टीले चासोपूर्वक हेरेको छ।’

अघिल्लो अधिवेशनमा गरिएको चुनावले समस्या ल्याएको प्रचण्डले बताएका थिए।

‘अघिल्लो पटक हामीले चुनावबाट नेतृत्व चयन त ग¥यौँ तर त्यसले हार्ने पक्षमा अलि निराशा आएको देख्यौँ, अहिले भने त्यसो हुन दिँदैनौँ, उर्जावान् सबै साथीहरुलाई निराश बनाउँदैनौँ,’ प्रचण्डले भने। 

प्रचण्डले क्रान्तिकारीको नेतृत्व चयनको निर्णय पनि स्थायी समितिको बैठकबाट गर्ने बताएको खुमलटार पुगेका अर्का नेताले बताए।

‘पार्टीको स्थायी समितिमा छलफल गरेर नेतृत्व लगायतका पदाधिकारीबारे निष्कर्ष निकाल्छौँ,’ प्रचण्डले थपे, ‘नेतृत्वमा नअटेका साथीहरुलाई पार्टीमा केन्द्रीय स्तरको उचित जिम्मेवारी दिइनेछ।’

प्रचण्डले गुट बनाएर नहुने र एकताबद्ध भएर पार्टी निर्माणमा विशेष भूमिका खेल्न पनि निर्देशन दिएका थिए। 

‘अहिले सबैजना एकताबद्ध भएर सम्मेलनमा लाग्नुस्, गुट बनाएर हुँदैन, लिडरसिप छान्दा पार्टीले अन्याय गर्दैन सर्वस्वीकार्य बनाइन्छ,’ प्रचण्डले अध्यक्षका प्रत्याशीसँग भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .