ad ad

राजनीति


प्रदेश २ : दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन एकीकृत समाजवादी तम्तयार

प्रदेश २ : दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन एकीकृत समाजवादी तम्तयार

एकीकृत समाजवादीका प्रदेश सांसदहरू


शैलेन्द्र महतो
भदौ २६, २०७८ शनिबार ९:४१, काठमाडौँ

माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। 

आफ्नो पार्टी दुई मन्त्रालयसहित प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीका सांसद शत्रुधन महतोले जानकारी दिए। तर राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन भएपछि मात्र सरकारमा संलग्न हुने उनले बताए। 

उनका अनुसार कुन कुन मन्त्रालय लिने भन्ने कुरा पनि टुंगो लाग्न बाँकी छ।

नेकपा एकीकृत समाजवादीले अर्थसहित दुई मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। 

तर मुख्यमन्त्री लालबाबु राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन केही मन्त्रालय फुटाएर बनाइएका १० मन्त्रालयमध्ये बाँकी रहेका दुई मन्त्रालय एकीकृत समाजवादीलाई दिने योजनामा छन्। 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बाँकी छन्। 

यी दुई मन्त्रालय त्यति महत्त्वपूर्ण नभएकाले हाल जसपाकै भागमा रहेका ४ महत्त्वपूर्ण मन्त्रलायमध्ये एउटा आफूलाई दिन एकीकृत समाजवादीले भनिरहेको छ। 

‘पार्टी सरकारमा सहभागी हुन्छ भने कमसेकम एउटा महत्त्वपूर्ण मन्त्रालयसहित दुई मन्त्रालय दिनुपर्ने हाम्रो माग छ’, सांसद महतोले नेपालखबरसँग भने, ‘राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन भएलगतै हामी सरकारमा जान्छौं। तबसम्म मन्त्रालयको टुंगो समेत लागिसक्छ।’ 

सरकारमा सहभागी हुने विषयमा हाम्रो पार्टीभित्र गृहकार्य भइरहेको उनले जानकारी दिए। 

नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भएपछि एमालेका २१ प्रदेश सांसदमध्ये १३ जना नयाँ पार्टीमा लागेका छन्। 

प्रदेश सांसदहरू गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती, रवीन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादीमा आबद्ध भएका हुन्। 

प्रदेश सांसद शत्रुधन महतोको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी भइरहेको एकीकृत समाजवादी स्रोतले जनाएको छ। 

प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ। पछिल्लो राजनीतिक घटनाक्रममा जसपाकै तत्कालीन अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएपछि उनका पक्षका २ मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए। 

केन्द्रमा बनेको पाँचदलीय गठबन्धनका हिसाबले प्रदेश २ सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र तत्कालीन एमाले माधव नेपाल पक्ष समेट्न मुख्यमन्त्री लालबाबु राउतले ६ मन्त्रालय फोडेर १० मन्त्रालय बनाएका थिए। 

कंग्रेस तीन मन्त्रालयसहित जेठ २६ गते र एक मन्त्रालयसहित साउन २ गते माओवादी केन्द्र प्रदशे २ सरकारमा सहभागी भएको थियो। 

माधव नेपाल पक्ष भने पार्टी विवादका कारण त्यसबेला सहभागी हुन सकेन। तर यस समूहका नेताले पार्टी विवाद समाधान हुनेबित्तिकै सरकारमा सहभागी हुने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .