ad ad

राजनीति


हाम्रो सबैभन्दा विश्वसनीय मित्र चीन हो, उसैबाट आर्थिक सहयोग लिएर सरकार चलाउँछौंः तालिबान

हाम्रो सबैभन्दा विश्वसनीय मित्र चीन हो, उसैबाट आर्थिक सहयोग लिएर सरकार चलाउँछौंः तालिबान

तालिबानका प्रवक्ता जबिरउल्लाह मुजाहिद


नेपालखबर
भदौ १८, २०७८ शुक्रबार ६:११, काठमाडौँ

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले चीन आफ्नो सबैभन्दा विश्वसनीय सहयोगी भएको उल्लेख गर्दै उसैबाट आर्थिक सहयोग लिएर सरकार चलाउने बताएको छ। 

केही दिनअघि तालिबानका दोस्रा ठूला नेता मानिने मुल्ला अब्दुल गनी बरादरले बेइजिङको भ्रमण गरेका थिए। त्यस क्रममा उनले चीनका विदेशमन्त्रीसँग कुरा गरेका थिए। यस भ्रमणको उद्देश्य बिहीबार तालिबानले दिएको वक्तव्यबाट प्रस्ट हुँदै छ। 

अफगानिस्तानमा करोडौं मूल्यका खनिज भण्डार छ, जसमा विश्वको कारखानाका रूपमा स्थापित चीनले नजर लगाइरहेको छ। 

तालिबानले चीनलाई उइगर मुस्लिमका अतिवादी तत्तव्प्रति कडा निगरानी राख्ने, चीनविरुद्धअफगानिस्तानको भूमि प्रयोग हुन नदिने विश्वास दिलाएको छ। त्यसो त तालिबानले भारतसहित कुनै पनि देशविरुद्ध आफ्नो देश अफगानिस्तानको भूमि प्रयोग हुन नदिने आश्वासन विश्वलाई दिइरहेको छ। 

तालिबानका प्रवक्ता जबिरउल्लाह मुजाहिदले इटाली पत्रिका ‘ला रिपब्लिका’लाई अन्तर्वार्ता दिँदै तालिबान र चीनबीच नजिकको सम्बन्ध रहेको खुलासा गरेका हुन्। मुजाहिदले भनेका छन्, ‘अफगानिस्तानको अर्थतन्त्र एकदम नाजुक छ। देश चलाउन हामीलाई आर्थिक सहयोगको आवश्यकता छ। अहिले सुरुमा हामी चीनसँग मद्दत मागेर आर्थिक अवस्था सुधार गर्ने कोसिस गरिरहेका छौं। 

तालिबानले गत अगस्ट १५ तारिखदेखि अफगानिस्तानको सत्ता कब्जामा लिएको हो। त्यस दिन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गर्नासाथ अफगानिस्तानका राष्ट्रपति देश छाडेर भागिसकेका छन्। यस्तै अगस्ट ३१ भित्र अमेरिकीलगायत सबै विदेशी सेनाले अफगानिस्तान छाडिसकेका छन्। साथै अमेरिका र अन्य पश्चिमी मुलकुले अनुदान दिन बन्द गरिसकेका छन्। यही मौकाको फाइदा चीनले उठाउन खोजिरहेको बताइएको छ।  

एक प्रश्नको जवाफमा मुजाहिदले भने– ‘चीन हाम्रो सबैभन्दा विश्वसनीय मित्र हो। उसले हाम्रा लागि ठूलो अवसर दिँदै छ। अफगानिस्तानमा लगानी गरी नयाँ ढंगले अगाडि बढ्ने वचन दिएको छ। सिल्क रुटका माध्यमबाट चीन विश्वमा आफ्नो प्रभाव बढाउन चाहन्छ। यसमार्फत हामी पनि विश्वसम्म आफ्नो पहुँच विस्तार गर्न सक्छौं। हाम्रो मुलुक तामाको खानी हो। चीन यसलाई आधुनिक तरिकाले सुरु गर्न चाहन्छ।’ 

तालिबानको शासनमा महिलाको अवस्थाबारे प्रश्नमा उनले भने, ‘हामीले प्रतिबद्धता जनाइसकेका छौं। उनीहरूलाई शिक्षा लिने अधिकार हुन्छ, नर्स, प्रहरी वा मन्त्रालयका कर्मचारी पनि हुन पाउँछन्। तर महिलालाई मन्त्रीचाहिँ बनाइने छैन।’ एजेन्सी 

यो पनि :

एक १९ वर्षे अफगान युवतीको हृदयविदारक पत्रः मेरी साथीलाई जस्तै मलाई पनि तालिबानले लाने हुन् कि!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .