समाज


एक १९ वर्षे अफगान युवतीको हृदयविदारक पत्रः मेरी साथीलाई जस्तै मलाई पनि तालिबानले लाने हुन् कि!

एक १९ वर्षे अफगान युवतीको हृदयविदारक पत्रः मेरी साथीलाई जस्तै मलाई पनि तालिबानले लाने हुन् कि!

फाइल तस्बिर : तालिबानी लडाकु।


नेपालखबर
भदौ १७, २०७८ बिहिबार १२:४, काठमाडौँ

गत अगस्ट १५ देखि अफगानिस्तान तालिबान संगठनको नियन्त्रणमा छ। तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेकै दिन त्यहाँका राष्ट्रपति असरफ गनी देशै छाडेर भागिसकेका छन्।

सम्झौताअनुसार २० वर्षदेखिको युद्ध अन्त्य गर्दै गत अगस्ट ३१ अघि नै  अमेरिका र बेलायतका सैनिकले पनि अफगानिस्तान छाडिसेकका छन्।

अहिले त्यहाँ तालिबानले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरिरहेको छ। यसअगाडि २० वर्षअघि पनि अफगानिस्तानमा तालिबानको शासन थियो। त्यसबेला खासगरी महिलाले धेरै प्रताडना भाेग्नपरेकाे भुक्तभोगी बताउँछन्।

तर यसपटक तालिबानले आफू पहिलेभन्दा परिवर्तन भएको र महिलाले पनि स्वतन्त्रता र अधिकार पाउने आश्वासन दिइरहेको छ। तर व्यावहारिक रूपमा भने अहिले पनि तालिबानको स्वभाव नबदलिएको त्यहाँका स्थानीयले बताएको कुरा विभिन्न विदेशी सञ्चारमाध्यमहरूमा आइरहेका छन्। 

यसै सन्दर्भमा भारतीय पत्रिका दैनिक भास्करले १९ वर्षीया एक अफगान युवतीको हृदयविदारक पत्र सार्वजनिक गरेको छ :   

‘मेरो नाम जाहिदा हो, उमेर १९ वर्ष। म अफगानिस्तानको परयाब प्रान्तको एक सहरमा बस्छु। दुई वर्षअघि स्कुलको पढाइ पूरा गरेर विश्वविद्यालयमा भर्ना भएँ, तर अब पुनः विश्वविद्यालयमा पढ्न जान पाउँछु कि पाउँदिन थाहा छैन। अब मेरो सहर र देश तालिबानको कब्जामा छ।

मेरा एक जना दौंतरी छिन्। एकदमै सुन्दर र हँसिली। उनलाई तालिबानले लिएर गएको भन्ने थाहा पाएँ। उनीसँग मेरो अन्तिमपटक ३ महिनाअघि कुरा भएको थियो। अहिले मलाई उनको अवस्था के छ भन्ने थाहा छैन। 

हामी दुईले पढाइ सकेर अफगान नागरिकका लागि केही गर्ने सपना देखेका थियौं। उनी शिक्षक बन्न चाहन्थिन्, बालबालिका पढाउन उनी मन पराउँथिन्, तर यतिबेला उनका दिन कसरी बितिरहेका छन्, मलाई थाहा छैन। 

थाहा छैन– हामी दुईबीच फेरि भेट हुन्छ वा हुँदैन? म जहाँ बसिरहेकी छु, त्यो एकदमै सुन्दर क्षेत्र हो, तर सुरक्षा छैन्। हर क्षण तालिबानको त्रास छ। जबदेखि यो सहर तालिबानको कब्जामा आयो, तबदेखि मानिस त्रासमा छन्। डरले कोही पनि तालिबानको विरोधमा चुइँक्क बोल्न सक्दैनन्।  

हाम्रो सहरमा तालिबान ३ महिनापहिले आएका थिए। जुन दिन तालिबानले हाम्रो सहर कब्जा गरे, त्यो दिन म निकै डराएँ र रोएँ। मलाई आशा थियो– सरकारले तालिबानविरुद्ध लड्नेछ र  उसलाई पछाडि हट्न बाध्य बनाउनेछ। तर तालिबानले एकपछि अर्काे क्षेत्र कब्जा गरे, हाम्रो चाहना चकनाचुर भए। मैले सुनेको छु– तालिबानी पुरुष पढेलेखेका केटीसँग विवाह गर्न चाहन्छन्। उनीहरू डाक्टर, शिक्षक महिलालाई आफ्ना पत्नी बनाउन चाहन्छन्, ताकि उनीहरूबाट आफ्ना सन्तान जन्माउन पाइयोस्। 

केही तालिबानी पुरुषका पहिल्यै श्रीमती छन्, तर फेरि पनि उनीहरू राम्री केटी विवाह गर्न चाहन्छन्। मलाई डर लागिरहेको छ– कतै मेरी साथीलाई जस्तै मलाई पनि लिएर जाने हुन् कि! म सधैं यही कुराले आतंकित छु। यहाँ तालिबानका केही केटाका घरै छन् त केही पाकिस्तानबाट आएका हुन्। उनीहरू यहाँ सरकारी भवनमा बसेका छन्। आफ्ना हरेक आवश्यकताका लागि तालिबानीहरू यहीँकै बासिन्दामा निर्भर छन्। उनीहरूले यहाँका हरेक घरबाट खाने/पिउने कुरा तथा पैसा लिइरहेका छन्। 

केही दिनअघि तालिबानीहरू हाम्रो घरमा आएका थिए। हामीले ३०/४० जनाका लागि खाना बनायौं। उनीहरूका लागि काबुली पुलवा बनाउनुपर्यो, जसका लागि मासु चाहिन्छ। उनीहरूले यहाँका घरघरमा गएर जबर्जस्ती खाना बनाउन लगाउँछन्। उनीहरूका कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन्। हरेक घरको पालो आउँछ। यसअघि तालिबान सत्तामा रहेका बेला मेरी आमा जवान हुनुहुन्थ्यो। त्यसबेला उहाँले धेरै किसिमका प्रतिबन्ध देख्नुभएको थियो। तर उहाँ एकदमै साहसी महिला हुनुहुन्थ्यो। उहाँ शिक्षक बन्नुभयो। जागिर खानुभयो र घर–व्यवहार चलाउनुभयो। जब तालिबानले हरेक शिक्षकसँग पैसा उठाउन थाले तब हाम्री आमासँग पनि हजार अफगानी पैसा लिए। मेरी आमाका अनुसार उनीहरूले त्यसपछि पनि पैसा लगिरहे। 

तालिबानले यसपटक आफू बदलिएको त भनेको छ तर उनीहरूप्रति हामीलाई विश्वास छैन। मेरी आमाले तालिबानको त्यो डरलाग्दो शासन देख्नुभएको छ। उहाँ जब त्यसबेलाका कथा सुनाउनुहुन्थ्यो, तब म काँप्थे। तर त्यो समय मेरैसामु आइपुगेको छ। मेरा सारा सपना चकचनाचुर भएका छन्। म आँखा बन्द गर्छु, अँध्यारै देख्छु। आँखा खोल्छु र पनि अँध्यारै देख्छु। 

हामी उज्बेक नागरिक हौं। हाम्रो सहरमा ताजिक समुदायका मानिस पनि बस्छन् र केही हजारा समुदायका परिवार पनि छन्। हजारा समुदायप्रति तालिबानले निकै ज्यादती गरेका थिए। केही हजारा परिवार यो सहर छाडेर काबुल (अफगानिस्तानको राजधानी) गएका छन्। तालिबानका मानिस अधिकतर पश्तो समु्दायका छन् र उनीहरू अन्य समुदायका मानिसविरुद्ध अत्याचार गर्छन्। धेरै क्षेत्रमा उनीहरूले उज्बेक र ताजिक समुदाका मानिसलाई आफ्नो निसाना बनाएको कुरा मैले थाहा पाएको छु।

म अफगानिस्तानलाई धेरै माया गर्छु। म कहिले पनि यो देश छाडेर बाहिर जान चाहन्थिनँ, किनकि म सोच्थेँ– मेरो देश मेरा लागि आवश्यक छ, तर अहिले बाहिर जाने मौका मिल्यो भने जान्छु। तालिबानको शासनले हाम्रो जीवन बदलदिएको छ। मैले चिनेका जति पनि साथी छन्, ती सबै डराइरहेका छन्। ढोकाको ढकढकसँगै मेरो मुटु हल्लिन थाल्छ। यस्तो लाग्छ– त्यो तालिबान पो हो कि मलाई लिन आएको!

म अझै पढ्न चाहन्छु, आफ्नो देशका लागि केही गर्न चाहन्छु। तर अब म पढ्न पाउँछु कि पाउँदिन, थाहा छैन। मेरी एक बहिनी भारतमा पढिरहेकी छन्। उनी पढाइ सकेर अफगानिस्तान आउन चाहन्थिन्। तर तालिबानले देश कब्जा गरेसँगै उनले घर आउने सोच परिवर्तन गरेकी छन्। 

यहाँ लेखिएका सबै कुरा सत्य हुन्, मेरो नाम र सहरको नामबाहेक। तालिबानको त्रासले गर्दा मैले आफ्नो नाम–ठेगाना गोप्य राख्नुपरेको हो। गत मंगलबार तालिबानी लडाकु फेरि हाम्रो घर आएका थिए। ज्यान जोगाउन हामीले आफ्नो घर र सहर छाडिदियौं। अहिले हामी अर्कै नयाँ ठाउँमा बसेका छौं, तर यहाँ हामीले कहिलेसम्म सुरक्षित रहन्छौं, कुनै ठेगान छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .