ad ad

राजनीति


एमाले र जसपा विभाजन : रुपन्देहीका पालिका प्रमुख उपप्रमुख को कता?

एमाले र जसपा विभाजन : रुपन्देहीका पालिका प्रमुख उपप्रमुख को कता?

सुदीप भण्डारी
भदौ १७, २०७८ बिहिबार १८:४६, काठमाडौँ

२०७४ सालको स्थानीय चुनावमा रुपन्देहीको उत्तरी भेगमा नेकपा एमाले र दक्षिण क्षेत्रमा उपेन्द्र यादवको तत्कालिन संघीय समाजवादी पार्टीले बर्चस्व कायम गरेको थियो। जिल्लाका १६ स्थानीय तहमध्ये एमालेले ७ वटा पालिकामा प्रमुख र ८ वटा पालिकामा उपप्रमुख हात पारेको थियो। 

तत्कालिन संघीय समाजवादी पार्टी चार पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुखमा विजयी भएको थियो। नेपाली कांग्रेसले दुईवटा पालिकामा प्रमुख र एउटा पालिकामा उपप्रमुख जितेको थियो। माओवादी केन्द्र र तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले एक एक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष हात पारेका थिए। एउटा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। त्यस्तै एउटा गाउँपालिकामा राप्रपाले उपाध्यक्ष हात पारेको थियो। 

एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि त्यसको प्रभाव रुपन्देहीमा पनि परेको छ। रुपन्देही एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको जिल्ला हो। पौडेल पहिलेदेखि नै केपी ओली निकट हुन्। माधव नेपाल पक्षधर भनेर चिनिएका घनश्याम भुसाल भने नयाँ पार्टीमा गएका छैनन्। भुसालले पनि एमाले नछाड्दा नयाँ पार्टीमा जानेहरुको संख्या निकै थोरै छ।

माधवलाई एक उपप्रमुखको मात्र साथ
एमालेबाट जितेका पालिका प्रमुख र उपप्रमुख गरी १५ जना मध्य अहिलेसम्म एक जनाले मात्र माधव नेपाललाई साथ दिएका छन्। नेपालको एकीकृत समाजवादी पार्टीमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले मात्र खुलेकी हुन्। बाँकी संस्थापन पक्षतिरै लाग्ने देखिएको छ। 

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी एमालेका जिल्ला अध्यक्ष समेत हुन्। उनी सुरुदेखि नै केपी ओली पक्षका हुन्। उपमेयर गुमादेवी आचार्य पनि संस्थापन पक्षकै हुन्। बुटवल उपमहानगरपालिका विष्णु पौडेलको चुनावी क्षेत्र हो।

यता तिलोत्तमा नगरपालिका एमालेका अर्का उपमहासचिव घनश्याम भुसालको गृहनगर हो। सुरुमा एमालेले विष्णु पौडेल पक्षका मोहन चापागाइँलाई तिलोत्तमा नगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको थियो। घनश्याम भुसालकै जोडबलमा बासुदेव घिमिरेले टिकट पाए अनि विजयी पनि भए। 

घिमिरे लामो समयसम्म माधव नेपाल र घनश्याम भुसालको पक्षमै थिए। तत्कालिन प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा २ ध्रुवमा बाँडिएको थियो। त्यसपछि उनी माधव नेपाल र घनश्याम भुसालको साथ छोडेर केपी ओली र विष्णु पौडेलको पक्षमा लागे। 

यस्तै तिलोत्तमाकी उपप्रमुख जागेश्वरी चौधरी पनि माधव नेपाल पक्षकै थिइन्। बासुदेव घिमिरे संस्थापन पक्षमा लाग्दा उनी पनि ओली पक्षमै गएको चर्चा चलेको थियो। तर पछि आफू माधव नेपालकै पक्षमा रहेको बताएकी थिइन्। एमालेको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुँदा जागेश्वरी कार्यक्रममा देखिएकी थिइनन्। 

सिद्धार्थनगर नगरपालिका पनि घनश्याम भुसालको चुनावी क्षेत्र हो। सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारी र उपमेयर उमा काफ्ले दुवै जना भुसाल पक्षका हुन्। माधव नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी बनाउँदा भुसाल एमालेमै अडिएका छन्। तर उपमेयर उमा काफ्ले भने केही दिनअघि नयाँ पार्टीको कार्यक्रममा देखिएकी थिइन्।

मेयर हरि अधिकारी भने अझै खुलेका छैनन्। सिद्धार्थनगरका मेयर अधिकारी र तिलोत्तमाकी उपमेयर जागेश्वरी चौधरीले घनश्याम भुसालको साथ नछाड्ने संकेत गरेका छन्। एक पटक घनश्याम भुसाललाई भेटेर मात्र नयाँ पार्टीमा लाग्ने की नलाग्ने निर्णय गर्ने दुई जनाले बताएको एकीकृत समाजवादीका एक जिल्ला नेताले बताए। 

सैनामैना नगरपालिका मेयर चित्रबहादुर कार्की र उपमेयर विना राना दुवै पहिलेदेखि नै संस्थापन पक्षका हुन्। त्यसैगरी कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्री र उपाध्यक्ष गोमा तरामु मगर, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तिदेवी ज्ञवाली पनि ओली निकट नै हुन्। 

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु ओली पक्ष र अमृता गुरुङ माधव नेपाल पक्षमा थिए। तर अहिले अमृता पनि नयाँ पार्टीमा गएकी छैनन्। 

रुपन्देहीको देवदह नगरपालिकामा गत स्थानीय तहको चुनावमा मेयरमा नेपाली कांग्रेसका हिराबहादुर खत्री र उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भएका थिए। गुरुङ पनि एमाले संस्थापन पक्ष कै हुन्।  

देवदह बाहेक जिल्लाको मायादेवी गाउँपालिकामा कांग्रेसका ध्रुव नारायण चौधरीले अध्यक्ष र सोही पार्टीकी तारादेवी यादवले उपाध्यक्ष जितेकी थिइन्। जिल्लाको ओमसतिया गाउँपालिकामा भने माओवादी केन्द्रका हिरा केवट अध्यक्ष र सुन्दरमतीकुमारी हरिजनले उपाध्यक्षमा विजयी भएका थिए। 

जसपाका पाँचमध्य चार पालिका प्रमुख लोसपामा नजाने 
गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीका ४ वटा गाउँपालिकामा तत्कालिन संघीय समाजवादी पार्टीले अध्यक्ष जितेको थियो। एउटा नगरपालिकामा उपप्रमुख र ३ पालिकामा उपाध्यक्ष हात पारेको थियो। एउटा नगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेको भएपनि उनी पछिल्लो पटक जनता समाजवादी पार्टीमै छन्। 

जिल्लाको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, कोटयीमाइ गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव र उपाध्यक्ष भानमती बानीया, मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्नद बानीया र उपाध्यक्ष सुनिता कलावर, गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चु केवट र सुभावती यादव तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख जानकी देवी श्रीवास्तव तत्कालिन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए। 

उनीहरुमध्ये मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानीया बाहेक बाँकी जसपातिरै छन्। बानीयाले भने बिहीबार लाेकतान्त्रिक  समाजवादी दलमा  सनाखत गरेका छन्।

जसपाका उनीहरु सबैजसो केही दिन अघि भैरहवामा उपेन्द्र यादवको उपस्थितीमा जसपाको कार्यक्रम हुँदा सहभागी थिए। नयाँ पार्टीको लागि फाराम आएको तर आफूहरुले नभरेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताए। 

लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा मनमोहन चौधरी स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए। तत्कालिन राष्ट्रिय जनता पार्टी निर्वाचन वहिस्कार गर्दा सो पार्टीका चौधरी स्वतन्त्र उम्मेदवार भएर मेयर बनेका हुन्। राजपाले उनलाई कारबाही भने गरेको थिएन। संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एक भएर जनता समाजवादी पार्टी बन्यो। लुम्बिनी सांस्कृतिकका मेयर चौधरीले अहिले पनि आफू उपेन्द्र यादवसँगै रहेको बताए।

‘म स्वतन्त्र उम्मेदवार भएर जितेको हुँ। सनाखत गर्न पर्छ कि पर्दैन कानून व्यवसायीसँग सल्लाह गर्छु। अहिले मूल पार्टीमै छु’ उनले भने। 

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल तत्कालिन मधेशी जनआधिकार फोरम लोकतान्त्रिकबाट विजयी भएका हुन्। उपाध्यक्ष कांग्रेसकी कुमारी प्रियंका शाही सिंह विजयी बनेकी थिइन्। फोरम लोकतान्त्रिक पछि नेपाली कांग्रेससँग मिल्यो। अध्यक्ष शुक्ला भने केही समय एमालेतिर लागेर पछि सिके राउतको जनमत पार्टीमा आवद्ध भएका छन्। 

एमाले र जसपा विभाजन भएपछि नयाँ पार्टीमा जान चाहाने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्ने हुन्छ। नयाँ दर्ता भएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले जनप्रतिनिधिहरूलाई आफ्नो पार्टीमा तान्न निकै प्रयास गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .