ad ad

राजनीति


आफ्नै ‘गढ’ कञ्चनपुरमा माधव नेपाललाई धक्का, १२ नेताले छाडे साथ

आफ्नै ‘गढ’ कञ्चनपुरमा माधव नेपाललाई धक्का, १२ नेताले छाडे साथ

गोकुल जोशी
भदौ १८, २०७८ शुक्रबार १३:३१, महेन्द्रनगर

नेकपा एमालेमा छँदा कञ्चनपुरमा माधवकुमार नेपाल समूहको दबदबा थियो। तर, एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएपछि नेपालले जिल्लामा केही शक्ति गुमाएका छन्। 

कञ्चनपुरलाई एमाले संगनठभित्रको शक्ति संघर्षमा नेपालको गढ नै मानिन्थ्यो। त्यसैले कञ्चनपुरमा ओलीपक्षीय नेताले चुनावमा टिकट पाउनै मुस्किल पर्ने गरेको थियो।

‘एमालेभित्रको आन्तरिक संघर्षमा हामी नै बलियो थियौँ। ओली पक्ष धेरै कमजोर थियो,’ एकीकृत समाजवादीमा लागेका एक नेताले भने, ‘एमाले फुट्दा अहिले त्यो शक्ति बचाउन सकिएन। ढिलो होला, तर सबै साथीहरु हामीसँगै आउँछन्।’ 

एमालेको कञ्चनपुर जिल्ला कमिटीमा अधिकांश पदाधिकारी नेपाल समूहबाट विजयी भएका थिए। जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा थिए। 

‘चुनावका बेला नरबहादुर धामी मात्रै ओली समूहका थिए। अरु सबै हाम्रै लाइनका भनेर टिकट दिएका थियौँ,’ ती नेताले भने, ‘तर फुटमा अहिले अधिकांश एमालेमै बसे।’

कञ्चनपुरमा स्थानीय तहका प्रमुख, उपप्रमुख र सांसद गरेर १२ जना नेताले नेपालको साथ छाडेका छन्।

स्थानीय तहका? 
९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो। 

तीमध्ये अधिकांश प्रमुख र उपप्रमुख एमालेमै बसेका छन्। चुनावताका नेपाल समूहमै रहेका उनीहरुले पार्टी फुट्दा भने नेपाललाई साथ दिएनन्।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द, उपमेयर सुशीला सिंह, शुक्लाफाँटा नगरपालिकाकी उपमेयर तुलसी देवी हमाल, कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमाल, उपमेयर रमिता राना, पुनर्वास नगरपालिकाकी उपमेयर शारदा विष्ट, बेलौरी नगरपालिकाकी उपमेयर चित्र कुमारी चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्की एमालेमै छन्।

स्थानीय तहका प्रमुखमध्ये पुनर्वास नगरपालिकाका मेयर जीवन थापा मात्रै एकीकृत समाजवादीमा खुलेका छन्। यस्तै दोधारा–चाँदनी नगरपालिकाकी उपमेयर चिनी गिरी अझै कतै लागेकी छैनन्। 

प्रदेश सांसद
कञ्चनपुरमा एमालेका चारमध्ये तीन सांसद नेकपा एकीकृत समाजवादीतर्फ गएका छन्। कञ्चनपुरबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने चारै जना पहिले नेपाल पक्षमै थिए। 

एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धन कञ्चनपुरका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा विजयी भएको थियो। भागबण्डा अनुसार ४ प्रदेश निर्वाचन क्षेत्र एमालेले पाएको थियो भने माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र पाएको थियो।

निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी तारालामा तामाङ, ‘ख’ बाट विजयी कुलवीर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट विजयी लालबहादुर खड्का  (सामाजिक विकासमन्त्री) एकीकृत समाजवादीमा गएका छन्। 

चौधरी र खड्काले मंगलबार नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए। समाजवादीमा खुलेका तामाङले भने आवश्यक कागजात तयार नहुँदा सनाखत गर्न पाएनन्। 

निर्वाचन क्षेत्र नम्बर ३ (क) का सांसद प्रकाश रावलले भने माधव नेपालको साथ छाडेका छन्। 

पुस ५ गते पहिलो पटक संसद् विघटन हुँदा तत्कालीन नेकपामा देखिएको ध्रुवीकरणमा उनी नेपाल पक्षमा उभिएका थिए।

उनी एमाले उपाध्यक्ष डा. भीम रावल निकट मानिन्छन्। भीम रावलकै सिफारिसमा सांसद प्रकाश रावल सुदूरपश्चिम प्रदेशको उद्योग, वन तथा वातावरण राज्यमन्त्री बनेका थिए।

संघीय सांसद
कञ्चनपुरका एमालेका दुवै संघीय सांसद एमालेमै रहे।  क्षेत्र नम्बर ३ बाट विजयी सांसद डा. दीपकप्रकाश भट्टले नेपालको साथ छाडे। क्षेत्र नम्बर २ बाट निर्वाचित नरबहादुर धामी भने पहिले पनि ओलीनिकट थिए।

यस्तै कञ्चनपुरका दुई जना समानुपातिक सांसद छन्। तीमध्ये निरु पाल एमालेमै छिन् भने विना बुढाथोकी नेकपा एकीकृत समाजवादीमा छिन्। 

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्ट एमालेमै छिन्।

केन्द्रीय सदस्य
कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादीतर्फ खुलेका छन्। वि.सं. २०७५ जेठ २ पूर्वको एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरबाट तीन नेता छन्। 

रामकुमार ज्ञवाली र विक्रम शाही नेकपा एकीकृत समाजवादीमा गएका छन्। ओलीनिकट निरु पाल भने एमालेमै छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .