ad ad

राजनीति


सभापतिमा उठ्ने गोपालमानको घोषणा, भन्छन् : देउवाले देश चलाउँछन्, मैले पार्टी

सभापतिमा उठ्ने गोपालमानको घोषणा, भन्छन् : देउवाले देश चलाउँछन्, मैले पार्टी

केशव सावद
भदौ १७, २०७८ बिहिबार १२:४३, काठमाडौँ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ आसन्न १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने तयारीमा जुटेका छन्। 

उनले गृहजिल्ला स्याङ्जा पुगेर आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमै घोषणा गरिसकेका छन्। 

उम्मेदवारीको औपचारिक घोषणापछि नेपालखबरसँगको कुराकानीमा उनले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको सहयोगमा आफू उम्मेदवार बन्ने जिकिर गरे। 

‘देउवाजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँले प्रधानमन्त्री चलाउनुहुन्छ,’ श्रेष्ठले भने, ‘म उहाँको सहयोगमा सभापति उठ्छु। जित्छु र पार्टी चलाउँछु।’ 

उनी यस अघिदेखि नै आसन्न महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार बन्ने बताउँदै आएका थिए।

कांग्रेसका पूर्व उपसभापति समेत रहेका नेता श्रेष्ठ मंसिरमा हुने महाधिवेशनमा सभापति देउवाले आफूलाई सघाउनेमा ढुक्क देखिन्छन्। 

‘देउवाजीले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा म ढुक्क छु,’ उनले भने, ‘अब उहाँले आफ्नो शुभचिन्तक, कलिग्सलाई उत्तराधिकारी बनाउनुहुन्छ।’

कांग्रेसको संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले यसअघिका विभिन्न छलफलका क्रममा देउवाले आफूलाई सघाउने वचन दिँदै आएको पनि स्मरण गरे। 

‘उहाँ (देउवा)ले धेरै पटक मलाई सहयोग गर्ने भनिसक्नु भएको छ,’ उनले भने, ‘मसँग कुरा गर्दा उहाँ गोपालमानजी मैले छोड्ने बेला तपाईंलाई नै छोड्ने हो भन्दै पनि आउनुभएको छ।’

नेता श्रेष्ठले आफूले यसअघि सभापति देउवाको कार्यवाहक भएर काम गरिसकेको स्मरण गर्दै कारागारमा भएका बेला उनलाई सभापति बनाएको पनि बताए। 

‘मैले उहाँको कार्यवाहक भएर काम गरिसकेको छु। उहाँ जेलमा हुनुहुन्थ्यो, त्यो बेला अधिवेशन गरेर मैले ११ औं महाधिवेशनमा उहाँलाई सभापति बनाएको हुँ,’ श्रेष्ठले भने, ‘१० औं, ११ औं, १२औं र १३ औंमा म उहाँसँगै छु। अब १४ औंमा पनि सँगै हुन्छौं।’

उनले बुधबार स्याङ्जा कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा आयोजित अगुवा कार्यकर्ता भेलामा उम्मेदवारी घोषणा गरेका थिए। 

यसअघि कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले औपचारिक रुपमा नै उम्मेदवारी घोषणा गरिसकेका छन्। 

कांग्रेसका संस्थापन इतर समूह पनि आसन्न महाधिवेशनमा साझा उम्मेदवार चयनको प्रयासमा छ। इतर समूहमा रहेका सभापति पदका आकांक्षीहरुको पटक-पटक छलफल भए पनि साझा उम्मेदवार तय हुन सकेको छैन।

उक्त समूहले बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दैछ। साझा उम्मेदवार तय गर्न नसकेको इतर समूह आफूहरु एकजुट भएको सन्देश दिन पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .