राजनीति


सुदूरपश्चिममा माधव नेपालको शक्ति भीम रावलमा ‘निर्भर’

सुदूरपश्चिममा माधव नेपालको शक्ति भीम रावलमा ‘निर्भर’

गोकुल जोशी
भदौ ४, २०७८ शुक्रबार ८:५८, काठमाडौँ

नेता भीम रावलले साथ नदिँदा सुदूरपश्चिममा माधवकुमार नेपालको शक्ति कमजोर भएको छ। एमाले वरिष्ठ नेता नेपालले नयाँ दल नेकपा एमाले (समाजवादी) गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए पनि उनै पक्षका भनिएका नेता रावल त्यसमा सहभागी नभएका हुन्। 

सुदूरपश्चिमका प्रभावशाली नेता रावलले एमाले फुटमा अझै कित्ता क्लियर गर्न सकेका छैनन्। एमाले विभाजनमा मध्यमार्गी बाटो अपनाउँदै उनीसहित एमालेका दोस्रो तहका नेता अझै एकताकै पक्षमा सक्रिय भइरहेका हुन्। 

नेपाललाई साथ नदिएर रावल संस्थापन पक्षमै उभिए प्रदेशमा एमाले बलियो बन्ने नेताहरू दाबी गर्छन्।

‘हाम्रा नेता भीम रावल नै हुनुहुन्छ। उहाँ जता जानुहुन्छ, हामी त्यतै जान्छौं। उहाँ अहिले पनि एकताका लागि अन्तिम कसरतमै हुनुहुन्छ,’ एमालेका एक सांसदले नेपालखबरसँग भने, ‘संस्थापनतिरै रह्यौं भने प्रदेशमा हाम्रो बलियो पकड रहन्छ।’

नेपालका विश्वास पात्र मानिएका रावलले नयाँ पार्टी गठनमा साथ नदिएपछि सुदूरपश्चिममा माधवकुमार नेपालको उपस्थिति कमजोर देखिएको हो।

सुदूरपश्चिममा पार्टी संगठनभित्र एमाले उपाध्यक्ष रावलको बलियो पकड छ। उनी तटस्थ बस्दा अहिले एमाले विभाजनमा सुदूरपश्चिमका धेरै नेता पर्ख र हेरको अवस्थामा छन्। 

सुदूरपश्चिम प्रदेश सभाका बहुमत सदस्य रावलका पक्षमा छन्। प्रदेश सभामा एमालेका २५ (सभामुखसमेत) सांसदमध्ये नेपाल पक्षमा १८ र ओली पक्षमा ७ जना थिए।   

तर वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गरेसँगै उनी पक्षका १५ प्रदेश सांसद विमुख भएका हुन्। अहिले उनका पक्षमा दुई सांसद मात्रै उभिएका छन्। 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्वउद्योग, वन तथा वातावरणमन्त्री माया भट्टलाई एमाले (समाजवादी) को केन्द्रीय सदस्य बनाइएको छ। उनीहरूसहित सुदूरपश्चिमबाट एमाले (समाजवादी) मा ६ जनालाई केन्द्रीय सदस्यमा राखिएको छ। 

निरादेवी जैरु (डडेल्धुरा), प्रेम आले (डोटी), उर्वादत्त पन्त (कञ्चनपुर) र भानुभक्त जोशी (बझाङ) लाई एमाले (समाजवादी) को केन्द्रीय सदस्य चयन गरिएको हो। तर तीमध्ये जोशीले सदस्यमा नबस्ने घोषणा गरेका छन्। उनले आफूसँग सहमति नलिईकन आफ्नो नाम राखिएको भन्दै सामाजिक सञ्जालमार्फत नयाँ पार्टीमा रहन अस्वीकार गरेका हुन्। 

‘म निरन्तर पार्टीको एकताको पक्षमा लागि रहेको थिएँ र अहिले पनि लागी नै रहेको छु,’ नेता जोशीले भनेका छन्, ‘मेरो सहमति नलिई मेरो नाम नेकपा  एमाले (समाजवादी) पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखिएकोमा मेरो सहमति नभएको जानकारी गराउँछु।’

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्न पाउने समय दिएको छ। यस अवधिभित्र नयाँ पार्टीमा प्रवेश गरे पनि सांसद पद सुरक्षित रहने सुविधा पनि दिएको छ। यसर्थ २१ दिनपछि मात्रै यहाँका प्रदेश सांसदमध्ये कति जना नेपालको नयाँ पार्टीमा र कति जना एमालेमै रहन्छन् भन्ने कुरा टुंगो लाग्ने देखिन्छ।

यस्तै एमालेका केन्द्रीय सदस्यमध्ये सुदूरपश्चिमबाट गरिमा शाह, प्रेम आले र निरादेवी जैरु मात्रै एमाले (समाजवादी) मा आबद्ध भएका छन्। माधव नेपाल समूहकै भीम रावल, झपट रावल, विक्रम शाही, रामकुमार ज्ञवाली र प्रकाश शाहले भने एमाले छाडेका छैनन्। 

यसैगरी अहिलेसम्म लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमै छन्।

राष्ट्रिय सभामा सुदूरपश्चिमबाट एमालेका चार जना सदस्य छन्। तीमध्ये इन्दु कडरिया विष्ट (कञ्चनपुर), चक्र स्नेही (डडेल्धुरा) र शारदा भट्ट (कैलाली) एमालेमै छन्। अछामका शेरबहादुर कुँवरले नेपाल पक्षलाई साथ दिने बताइएको छ। तर उनी एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा अटाएका छैनन्। 

सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद छन्। तीमध्ये ८ जना ओलीनिकट थिए भने ३ जना माधव समूहका थिए। 

ओली समूहका डोटीका सांसद प्रेम आले अहिले एमाले (समाजवादी) को केन्द्रीय सदस्यमा चयन भएका छन्। ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी एमालेमै छन्।

माधव नेपाल समूहका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्टले पनि एमाले (समाजवादी) लाई साथ दिएका छैनन्।

एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन्। तीमध्ये ३ जना ओली समूहका थिए भने २ जना माधव नेपाल पक्षका। 

अहिले एमाले (समाजवादी) तर्फ ३ जना समानुपातिक सांसद लागेका छन्  भने २ जना एमालेमै छन्। ओली समूहकी कञ्चनपुरकी सांसद विना बुढाथोकी एमाले (समाजवादी) तर्फ लागेकी छन्। तर उनी पनि केन्द्रीय कमिटीमा अटाएकी छैनन्। 

कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु नेपाल समूहमै  छन्। जैरु केन्द्रीय सदस्य हुन् भने चौधरी कमिटीमा छैनन्। ओलीले कारबाही गरेका १४ जनामध्ये चौधरी पनि एक हुन्। 

ओलीनिकट कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक भने एमालेमै छन्।

उता एमाले (समाजवादी) को केन्द्रीय सदस्य चयन भएकी प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले माधव नेपाल पक्षमा बहुमत सांसद रहेको दाबी गरेकी छन्।

‘निरुकुशताविरुद्ध माधव नेपाल कमरेडको नेतृत्वमा हामीहरू संघर्षमा होमियौं। पार्टी एकता होस् भन्ने कामना थियो। त्यसका लागि प्रयासहरू पनि भए तर त्यो सम्भव भएन,’ उनले नेपालखबरसँग भनिन्, ‘माधव कमरेडले नयाँ पार्टी खोल्ने निर्णयमा हामीले पनि समर्थन गरेका छौं। प्रदेश सभामा हाम्रो संख्या यथावत् छ। राम्रो उपस्थिति छ।’

यो पनि–​

‘माधव नेपालकै पार्टीमा जान्छन् दोस्रो पुस्ताका नौ नेता’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .