ad ad

राजनीति


तेस्रो चरणको थरुहट आन्दोलन माइतीघरबाट सुरु

तेस्रो चरणको थरुहट आन्दोलन माइतीघरबाट सुरु

समर्पण श्री
भदौ १, २०७८ मंगलबार १७:४६, काठमाडौँ

थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलन माइतीघर मण्डलबाट सुरु गरेको छ। मंगलबार नागरिक समाजका अभियन्तासहितको सहभागितामा मोर्चाले धर्नामार्फत् आन्दोलन सुरु गरेको हो। 

‘न्याय खोज्दै हामी आज सिंहदरबारअघि आइपुगेका छौँ। किनकि टीकापुर विद्रोह कुनै जाति विशेषको विद्रोह होइन। राज्यले जुन बिल्ला लगाएको छ, त्यसको विरुद्ध हामी निरन्तर आन्दोलनमा छौँ,’ मोर्चाका महासचिव तुलसी थारुले भने। 

लामो समयदेखि राज्यबाट दलनमा परेको थारु समुदाय हक अधिकारको लागि संगठित हुँदै आन्दोलित बनेको थियो। तर, २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसामा ८ जनाको ज्यान गएको छ। सोही घटनापछि थारू आन्दोलन कमजोर बन्यो।

तर, टीकापुर त्यसको ६ वर्षपछि आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउन आफूहरू एकजुट भएको महासचिव तुलसी थारुले बताए। 

‘टीकापुरको घटना न आयोजकहरूको तर्फबाट प्रायोजित घटना थियो, न जनप्रदर्शन र सभामा सामेल जनसमुदायको उद्देश्यअनुरुप नै थियो। त्यो केही तत्वहरूले अवान्छित तवरले आन्दोलनलाई बदनाम गर्न, राजनीतिक मुद्दालाई आपराधिक करार गर्न गरेको षड्यन्त्र मात्र थियो,’ थरुहट थारुवान राष्ट्रिय मोर्चाले अपिलमा भनेको छ। 

त्यही घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित अन्य अभियन्ता अहिले पनि जेलमा छन्। 

लाल आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुरको झुटा मुद्दा खारेज, टीकापुरका घर जलाइएका परिवारलाई क्षतिपूर्ति, रेशम चौधरीसहित अन्य बन्दीको रिहाइ, अधुरो संविधान संशोधलगायतका मागसहित उनीहरुले धर्ना दिएका थिए।

दोस्रो चरणको आन्दोलनका क्रममा अघिल्लो चैतसम्म विभिन्न जिल्लामा मोर्चाले सभा गरेको थियो। 

नागरिक समाजको साथ
थरुहट आन्दोलनमा नागरिक समाजका अभियन्ताहरूको पनि सहभागिता देखिएको थियो। आजको कार्यक्रममा सडकमा नारायण वाग्ले, युग पाठक, मोहना अन्सारी, रीता परियार, श्रवण मुकारुङलगायतको उपस्थिति थियो। 

आन्दोलमा नेवाहरूको झाँकी समेत थियो।

‘थारुहरू पीडामा परेका कारण सम्पूर्ण संघसंस्थाहरूले हाम्रो आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। अब यो आन्दोलनमा हामी सबै जात र समुदायका छौं,’ महासचिव थारुले भने। 

अभियन्ता सीएन थारु राज्यले पटक–पटक थारुहरूको मुद्दालाई दबाउन खोजेको र षड्यन्त्रपूर्वक आन्दोलनलाई कमजोर पार्न कोसिस गरेको बताउँछन्। लाल आयोग  प्रतिवेदन शेरबहादुर देउवा नै प्रधानमन्त्री हुँदा सरकारलाई मोर्चाले बुझाएको थियो।

‘उनले त्यो बेलामा पनि सार्वजनिक गरेनन्। त्यहाँ जे जे प्रमाण त्यसलाई सार्वजनिक गरेर अदालतले पनि त्यसलाई प्रमाण्को रुपमा लिएर निर्णय प्रक्रिया अगाडि बढाएको भए हुन्थ्यो। तर अदालतले एकतर्फी निर्णय गरेको छ,’ उनी भन्छन्, ‘अब त्यो प्रतिदेवन सार्वजनिकसहित अन्य हाम्रा मागहरू पुरा गर्न आन्दोलन गरेका हौँ।’

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी टीकापुर घटनाको ६ वर्षको दौरानमा घटना घट्नुअघि र घटिसकेपछिका धेरै थारुहरू पीडित रहेको बताउँछिन्। 

‘थारु समुदायमाथि भएको दमन, अन्यायबारे यथार्थ बाहिर ल्याउन न्यायिक समिति बनेको थियो। तर त्यो समितिको प्रतिवेदन सार्वजनिक भएको छैन। त्यो प्रतिवेदनले उठाएका विषय सम्बोधन हुनुपर्यो। नेपालका राजनीतिक परिवर्तनमा ठूलो भूमिका थारुले निभाए। तर थारु पिछडिएका छन्। त्यसकै लागि पनि हामी सडकमा आएका हौं,’ अन्सारी भन्छिन्। 

आन्दोलनमा देखिएका कवि श्रवण मुकारुङ पटकपटक राजनीतिक परिवर्तन हुँदा पनि थारुहरूको मुद्दालाई भने बेवास्ता गरिएको बताउँछन्। सीमान्त बनाइएको समुदायको न्यायका निम्ति नागरिक समाज र लेखक पनि आन्दोलनमा सडकमा आउने उनले बताए।

‘साझा समस्यामाथि लेखक अगाडि उभिन्छ नै। एउटा लेखकले नेतृत्व पनि गर्छ। सबैखाले अन्यायको विरुद्ध लेखक सधैं अग्रपंक्तिमा हुने हुँदा लेखकको लागि यो महत्वपूर्ण कुरा हो,’ उनले भने।  

उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले टीकापुरमा भएको अन्यायमा आफूहरूको पनि साथ रहेको बताए। 

‘उनीहरूलाई झुटो मुद्दा लगाएर जसरी षड्यन्त्र गरिएको छ, त्यसविरुद्ध सडकमा ओर्लिएका हौं,’ उनले भने।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .