नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रका केही व्यक्तिहरुको आग्रहमा सरकारले खुकुलो प्रावधानसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको बताएका छन्।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटी बैठकपछि उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालतर्फ इंगित गर्दै यस्तो बताएका हुन्।
'पार्टीभित्रका केही व्यक्तिको अनुरोध, दबाब र आग्रहमा यो भएको हो। केही साथीहरु बाहिरिने अनुमान गर्न सकिन्छ,’ ज्ञवालीले नेता नेपालको नाम नलिइ भने, ‘केही व्यक्तिहरु २० प्रतिशत, २० प्रतिशत नभए १५ प्रतिशतले पनि छुट्टिन चाहनुहुन्थ्यो।’
उनले मन्त्रिपरिषद्ले २० प्रतिशत सदस्य संख्या पुर्याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय नै गरिसकेको दाबी गरे। ज्ञवालीले उक्त अध्यादेशको प्रतिवाद गरिने समेत बताए।
‘यो गलत हो। यसको आलोचना हुन्छ। खुशीयाली मनाउनेहरु मनाउनुहोला,’ अध्यादेश आए कस्तो प्रकारले प्रतिवाद गर्नुहुन्छ? भन्ने प्रश्नको जवाफमा नेता ज्ञवालीले भने, 'हामी यसको जनपरिचालसहितका विधिबाट सशक्त प्रतिवाद गर्छौँ।'
उनले संघीय संसदको चालु अधिवेशन हठात् अन्त्य गरिएको पनि बताए। 'अध्यादेशहरु नटुंग्याइ एक महिनासम्म बिजनेस नदिइ संसद अन्त्य गरिएको छ', उनले भने, 'यसअघि भनिएका विषय केबल ढोङ र आडम्बर मात्रै थिए। साझा प्रतिवद्धताको पनि धज्जी उडाइएको छ।'
ज्ञवालीले गठबन्धन सरकारका असंसदीय र अराजक गतिविधिको एमालेले सशक्त प्रतिरोध पनि गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया