नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरिसकेकाले नयाँ पार्टी दर्ता सुरु गरिएको जनाएको छ।
सरकारले खुकुलो प्रावधानसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेपछि नेपाल पक्षले त्यसलाई सदुपयोग गर्दै नयाँ पार्टी दर्ता अघि बढाउने भएको हो।
वरिष्ठ नेता नेपालले पनि नयाँ पार्टी दर्ताका लागि आफूनिकट नेताहरुसँग टेलिफोनबाट परामर्श गरिरहेका छन्। टेलिफोनबाट परामर्शपछि नेपालले आफूनिकट सांसद र केन्द्रीय सदस्यहरुसँग अहिले सिंहदरबारमा बैठक डाकेका छन्।
'अब नयाँ पार्टी दर्ता गरेरै अघि बढ्ने हो। आजका मितिसम्म मिल्ने प्रतिक्षा गर्यौँ। तर अध्यक्ष ओलीले एक्लै वक्तव्य निकालेर अल्मल्याउने मात्रै गरिरहे', नेपालनिकट नेता जगन्नाथ खतिवडाले नेपालखबरसँग भने, 'एक्लै वक्तव्यबाजी गर्नुभन्दा केपी ओलीले माधव नेपालसँग संयुक्त अध्यक्ष र संयुक्त हस्ताक्षर गर्न तयार भएको भए एमाले मिलिसक्थ्यो।'
नेता खतिवडाले त्यसो गर्नका लागि अझै समय रहेको पनि बताए। 'हामीले भने जस्तो गर्नका लागि ओलीलाई सद्बुद्धि आओस्। हाम्रो चाहना भनेको त्यो दुईजना मिले त सकियो नि', उनले भने, 'तर अब त्यो हुने र गर्ने स्थितिमा केपी ओलीले मान्नु भएन। १० बुँदे सहमति अंगिकार गर्ने प्रतिवद्धता पनि उहाँमा छैन।'
नेपाल पक्षले मिल्ने बाटो बन्द गरेर ओलीले विधान संशोधनमार्फत अधिकारहरू आफूमाथि केन्द्रित गरेको पनि आरोप लगाए। 'सबै अधिकार आफूमाथि केन्द्रित गरिसकेपछि अब हामीलाई एमालेमा कहाँ ठाउँ राखेका छन् र?', खतिवडाले प्रश्न गरे, 'अब हामीसँग आफ्नो राजनीति र अस्तित्वलाई बढी बल प्रदान गर्न राजनीतिक दल गठन गर्ने मात्रै विकल्प रहेको छ।'
सरकारले अध्यादेश ल्याउने जानकारी पाएको बताउँदै खतिवडाले अब कानुनी रुपमै विभाजन प्रक्रियामा गएर नयाँ ढंगले पार्टी पुनर्गठन गर्ने पनि बताए।
'स्वयम् केपी ओलीमा कम्युनिष्ट चरित्र देखिएन। कम्युनिष्ट चरित्र नभएकै उहाँले मदन भण्डारीद्वारा प्रतिपादित जबजको सारतत्त्वलाई नै समाप्त पारिदिनु दिनुभयो', उनले भने, 'उहाँ स्वयम् कम्युनिष्ट नदेखिएपछि केपी ओलीलाई मानेर जान सकिने अवस्था भएन। एकताका लागि उहाँमा रहेको स्वेच्छाचारिता, विसर्जनवाद नियन्त्रण गर्नु जरुरी थियो।'
नेपाल पक्षले कार्यदलका सदस्यहरुले ओलीलाई मनाउन समय मागेकाले कुरेको पनि जनाएको छ। यसैबीच वरिष्ठ नेता नेपालले आफूनिकट नेताहरुलाई नयाँ पार्टी दर्ताका लागि तयार रहन भन्दै फोन गरेका छन्।
उनले अब नयाँ प्रक्रियामा जानै पर्ने बताउँदै नेता नेपालले त्यसका लागि तयार रहन भनेर नेताहरुलाई फोन गरेका हुन्। 'ओलीले मिल्ने सम्भावनाका सबै ढोका बन्द गरिसके', नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'अब नयाँ ढंगले जान तयार रहनुहोला।'
'केपी ओलीलाई मनाउन भनेर वार्ता कार्यदलले अन्तिम प्रयास गर्छौ भनेकाले कुरेका हौँ', खतिवडाले भने, 'हामीलाई विश्वास छ केपी ओलीले त्यो काम गर्ने छैनन्। कार्यदलको आग्रहमा हामीले नयाँ पार्टी रोकेका हौँ। तर अब प्रक्रिया अघि बढ्यो।'
नेपाल पक्षले यसअघि जीवन राईले गत जेठमा दर्ता गराएको नेकपा एकीकृतलाई अघि बढाउन सक्ने सम्भावना रहेको छ। उक्त पार्टी ओली पक्षसँग विवाद चर्किँदै गर्दा नेपाल निकट राईले दर्ता गरेर चुनाव चिह्न कलम पनि लिइसकेका छन्।
Shares

प्रतिक्रिया