ad ad

राजनीति


माओवादी निर्णय : प्रचण्डका प्रस्ताव पारित, जिल्ला कमिटी खारेज, चार महिने अभियान थाल्ने

माओवादी निर्णय : प्रचण्डका प्रस्ताव पारित, जिल्ला कमिटी खारेज, चार महिने अभियान थाल्ने

नेपालखबर
साउन ३१, २०७८ आइतबार १८:५०, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतवार सकिएको छ। शनिबारदेखि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक प्रस्ताव पास गर्दै सकिएको हो। 

बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा गठित समूहगत सुझावलाई पनि स्वीकारेर विभिन्न प्रस्ताव पास गरिएको बताएका छन्। 

बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदम असफल भएको निचोड निकालेको छ।

'प्रतिगामी कदम असफल भएको छ तर प्रतिगामी खतरा टरिसकेको छैन', माओवादीले भनेको छ, 'संविधान र लोकतन्त्रको रक्षा कार्यान्वयनमा अगाडि बढ्ने नीति लिएका छौँ। राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पार्टीले अपिल गरेको छ।'

माओवादीले वाम लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई संविधान र लोकतन्त्रको रक्षाका लागि जोगाइ राख्ने निर्णय लिएको छ। 'यो गठबन्धन राजनीतिक अवस्थाले माग गरेसम्म कायम रहनेछ', उनले भने, 'संयुक्त सरकार र प्रतिनिधिसभालाई पूरा कार्यकाल सञ्चालन गर्दै सफल पार्न अपिल पनि बैठकले गरेको छ।' 

माओवादीले तात्कालीन राजनीतिक कार्यभारलाई समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न प्रयोग गर्ने पनि निर्णय लिएको छ। 'क्रान्तिकारी पार्टी निर्माणको दिशा योजना र संकल्प यो बैठकको मुख्य लक्ष्य हो', उनले भने, 'पुस ११ १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्न चार महिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय भएको छ।'

मा‌ओवादीले आफूलाई सर्वहाराको अग्रदस्ताका रुपमा परिभाषित गरिएको उनले बताए। 'त्यही अनुसार संगठनात्मक संरचना निर्माण हुनेछ', उनले भने, 'जनआधारित पार्टीका रुपमा माओवादीलाई अघि बढाइनेछ। अग्रदस्ता भित्रका क्रान्तिकारीहरुलाई समावेशीकरणको नीति अनुसार लैजाने भएका छौँ।'

उनले माओवादीलाई अझै समावेशी बनाउँदै लैजाने पनि बताए। 'केन्द्रीय कमिटीमा महिला र दलितको सहभागिता बढाएका छौँ। पार्टी केन्द्रमा १५ प्रतिशत दलित राख्ने निर्णय भएको छ। युवाहरुलाई कम्तीमा पनि २० प्रतिशत समावेश गर्नेमा पुगेका छौँ', उनले भने, 'अहिलेसम्म कायम रहेका जिल्ला कमिटी खारेज गरिएको छ। अब जिल्ला समन्वय समिति रहनेछन्। जिल्लालाई कार्यकारी अंगका रुपमा स्वीकारेको छैन। त्यही अनुसार नयाँ पार्टी संरचना अघि बढाउने छौँ।'

पार्टीको अन्तरिम विधान लागु भएको उनले बताए। 'अझै व्यापक छलफल र व्यापक बहस गर्दै राष्ट्रिय सम्मेलनमा त्यसलाई अन्तिम रुप दिइनेछ', प्रवक्ता श्रेष्ठले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .