राजनीति


बाढी पहिरोपीडितलाई राहतमा ढिलाइबारे सरकारसँग प्रचण्डको असन्तुष्टि

बाढी पहिरोपीडितलाई राहतमा ढिलाइबारे सरकारसँग प्रचण्डको असन्तुष्टि

नेपालखबर
साउन २४, २०७८ आइतबार १४:१६, काठमाडौँ

देशका विभिन्न भागमा केही महिनायता आएका बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत वितरणमा भइरहेको ढिलाइप्रति सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्। 

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिबारे भेट्न आएको प्रतिनिधि मण्डलसँग खुमलटारमा भएको छलफलका क्रममा राहत प्रक्रिया सुस्त भएको भन्दै ‘प्रचण्ड’ले असन्तु्टि जनाएका हुन्। 


सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहत वितरणलाई तीव्रता दिन नसकेको कुरा बाढीपीडितसँगको भेटमा दाहालले बताएका हुन्। ‘सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गरेको छ,' उनले  भने, 'तर घोषणालाई कार्यान्वनमा लैजानेतर्फका क्रियाकलाप अघि बढाउन सरकार ढिलो भएको छ। अझै पनि सरकारका गतिविधि बाढी पीडितले अपेक्षा गरेअनुसार अघि बढ्न सकेका छैनन्।'

दाहालले बाढीपीडितलाई राहत दिलाउन माओवादी केन्द्रले सरकारलाई घचघच्याउने बचन पनि दिए। बाढीपीडितलाई माओवादीको तर्फबाट सक्दो सहयोग गरेको बताउँदै उनले अब सरकारले थप कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए। बाढीपीडितसँगको भेटका क्रममा उनले  प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूले मेलम्ची र हेलम्बुमा बाढीले निम्त्याएको विपत्तिको अवलोकन गर्न आउने पनि बताए। 

प्रचण्डलाई भेट्न सिन्धुपाल्चोकका सबै दलका प्रतिनिधि खुमलटार पुगेका थिउ। सर्वदलीय टोलीले बाढीपहिरोबाट भएको क्षति र तत्कालका लागि आवश्यक पूर्वाधारबारे प्रचण्डलाई ध्यानाकर्षण गराएको थियो। 

अध्यक्ष प्रचण्डले प्रतिनिधिमण्डलले उठाएका विषयमा  गम्भीरताका साथ सरकारमा उठाउने पनि बताए। अध्यक्ष दाहालले मेलम्ची र हेलम्बुका बाढी पीडितका समस्या समाधानका लागि सरकारलाई घच्घचाउने विश्वास पनि दिलाएका छन्। 

‘देशमा बढेको प्राकृतिक प्रकोपहरुको सम्बन्ध विश्वव्यापी रुपमा विकासको मोडलमा खोज्नु पर्ने भएको छ', उनले भने, 'हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ । तर यो समस्या हाम्रो मात्रै होइन।’

बाढीपहिरो, आँधी लगायतका प्राकृतिक समस्याको कारण खोज्नु पर्ने पनि उनले बताए। 'हिमालयको काखमा रहेको नेपालमा बढ्दै गइरहेका यसप्रकारका प्राकृतिक प्रकोपका कुराहरु विश्वका फोरमहरुमा पनि उठाउन जरुरी छ', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad