श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी भई बुधबार साँझ स्वदेश फर्किएका छन्।
जेनेभामा रहँदा उनले आइएलओले आयोजना गरेको १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै उनले मर्यादित श्रमको अभ्यास, श्रमिकका हकअधिकार स्थापित गर्ने विषय र सामाजिक सुरक्षा तथा सामाजिक संवादका माध्यमबाट असल श्रम सम्बन्धको विकास गर्न नेपालले शुरु गरेको नीतिगत, संस्थागत र कार्यगत सुधारका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए।
सम्मेलनकै दौरान उनले विभिन्न मुलुकका समकक्षीसँग श्रम आप्रवासनका क्षेत्रमा सहकार्यका लागि औपचारिक तथा अनौपचारिक छलफल गरेका थिए। मन्त्री विष्टले टर्कीको परिवार, श्रम तथा सामाजिक सेवामन्त्री, लेबनानका श्रममन्त्री, साउदी अरेबियाका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरी सुरक्षित आप्रवासन, आप्रवासी कामदारको हकहितका विषयमा विमर्श गरेका थिए।
जेनेभामै रहँदा उनले अफ्रिकी मुलुक मरिसस र संयुक्त अरब इमिरेट्स (युएई) सँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। मन्त्री विष्ट आइएलओको शतवार्षिकी समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणदलमा श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल, सहसचिव डा रामप्रसाद घिमिरेलगायत थिए। रासस

प्रतिक्रिया