ad ad

राजनीति


नेकपा कसले फुटायो, कसले जुटायो, ओली-प्रचण्डले जवाफ दिनुपर्छ

नेकपा कसले फुटायो, कसले जुटायो, ओली-प्रचण्डले जवाफ दिनुपर्छ

हरि शर्मा
असार ३०, २०७८ बुधबार २०:३०,

पहिलो कुरा त नेकपा एमाले र माओवादी केन्द्रले गरेको एकता नै संशयको घेरामा थियो। सुरुमा वाम गठबन्धन गरेका यी दुई कम्युनिस्ट पार्टी किन जुटे र किन फुटे भन्ने प्रश्नको जवाफ कहीँकतै दिएका छैनन्। 

एकाएक दुई वटा पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा वाम गठबन्धन बनाउने कुरा गरे र पछि विस्तारै एकीकरण गर्न थाले। नेपालको गरिब समुदायमा वामपन्थ व्याप्त छ। यहाँ कम्युनिस्ट समाजवादी विचारधारामा मान्छेको आकर्षण ठूलो छ। फेरि छियाछिया भएको आन्दोलन पनि कम्युनिस्ट आन्दोलन नै हो, त्यसैले पनि उनीहरू एक ठाउँमा आउने कुराले एउटा उत्साह थपियो, कस्मेटिक प्रचार भयो। तर, किन यिनीहरु एक ठाउँमा आए, सैद्धान्तिक आधार के हो भनेर यदाकदा प्रश्नहरु त गरिए, जवाफ फेला पार्न सकिएन। 

त्यो गठबन्धनले दुई तिहाइ मत ल्याएर आमूल परिवर्तन गर्छु भनेको थियो। तर, तिनले ती बाचा पुरा गर्न सकेनन्। एकीकरण भएपछि पनि अब कसरी अघि बढ्ने, संगठनहरुलाई कसरी बलियो बनाउने भनेर नेकपाभित्र कहिल्यै कुरा भएन। त्यसैले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली विश्वासका आधारमा एक भएका रहेनछन् भन्ने देखियो। अहिले पनि यी दुई पार्टीलाई कता–कता कसले जुटाए र कसले फुटाए भन्ने प्रश्न उठ्छ। जोड्ने रसायन र फुटाउने रसायन के हो भन्ने कुरा थाहा हुनै सकेन। नेकपाको एकीकरण सुरुदेखि नै एकांकी एकीकरण भयो। मैले यो किन पनि चर्चा गरेको हो भने यो राजनीतिक अस्थिरताको कडी नेकपा फुट्नु र जुट्नुसँग जोडिएको छ। 

कतिसम्म भयो भने राम्रो नतिजा आउँदा यो त ओलीका कारण भएको हो भन्ने नराम्रो हुनेबित्तिकै प्रचण्डका कारण भएको हो भन्न थालियो। त्यसले उनीहरुका बीचमा झगडा पैदा भयो। यसको अर्काे पृष्ठभूमि के पनि हो भने प्रचण्डसँग हठात् गरिएको एकता एमालेलाई मन परेको थिएन। 

एमालेका कार्यकर्ता खुसी थिएनन्, सत्ताका लागि खुसी भएको चाहीँ देखाउँदै थिए। तर संसारको सर्वाेत्कृष्ट व्यक्ति मै हुँ भन्ने ओलीको शैली र आत्मरतिले उनी पुरै कार्यकाल शासन गर्न नपाई सत्ताबाट बाहिरिए। तर, सत्तामा टिक्न उनले जे जे विधि अपनाउन सकिन्थ्यो, त्यो सबै गरेका हुन्। सबैभन्दा धेरै त दक्षिणपन्थीलाई नै रिझाए। पुरातनवादी सोच, धर्मलाई बढावा दिने, जातजातिलाई फुटाउनेजस्ता प्रवृत्ति ओलीमा देखियो। नेपालले ठूलो दुःखले प्राप्त गरेको संघीयता र धर्मनिरपक्षेतामाथि श्रृंखलाबद्ध आक्रमण नै गरे। तर त्यो कालखण्डमा देउवाले पनि ओलीलाई चुनौती भने दिएनन्।

(कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .