राष्ट्रिय जनमोर्चाले महोत्तरीकी युवती सुजिता ठाकुरको हत्या प्रकरणको अनुसन्धानमा रुची नदेखाउने प्रहरी अधिकारीमाथि छानविन गर्न माग गरेको छ।
राजमोका उपाध्यक्ष दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको समयमै अनुसन्धान गर्न रुची नदेखाउने प्रहरी अधिकारीमाथिसमेत छानविन गर्न माग गरेकी छन्। उनले दोषीमाथि कडा कारबाही गर्नसमेत माग गरेकी छन्।
‘हत्याजस्तो गम्भीर अपराधमा अनुसन्धान गर्न रुची नदेखाउने प्रहरीमाथि नै छानविन गर्नुपर्ने आवश्यकता छ’ विज्ञप्तिमा भनिएको छ, ‘सुजिता हत्याकाण्डका दोषीमाथि कडा कारवाही गर्न माग गर्दछौं।’
राजमोले सुजिताको हत्या दाइजो र सम्पत्तिकै कारण भएको भन्दै महिला हिंसा, दाइजो नियन्त्रण र सामाजिक कुसंस्कारका विरुद्ध सशक्त कार्यक्रम सञ्चालन गर्न पनि सरकारसँग माग गरेको छ ।
गत जेठ २० गते परिवारबाटै बेपत्ता बनाइएकी सुजिताको शव २३ दिनपछि शौचालयको सेप्टिक ट्याङकीमा फेला परेको थियो। सो घटनाबारे माइतीपक्षले सुरुमै प्रहरीमा जाहेरी दिए पनि प्रहरी उपरीक्षक दिनेश आचार्यले जाहेरी लिन अस्वीकार गरेको परिवारको भनाइ छ।
Shares

प्रतिक्रिया