राजनीति


अमेरिकी सेना राति सुटुक्क हिँडेपछि बग्राम हवाई अड्डामा लुटेराद्वारा तोडफोड

अमेरिकी सेना राति सुटुक्क हिँडेपछि बग्राम हवाई अड्डामा लुटेराद्वारा तोडफोड

बग्राम हवाई अड्डाभित्र सेल्फी खिच्दै एक अफगानी सैनिक (एपी)


नेपालखबर
असार २२, २०७८ मंगलबार १६:११,

२० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तानको बग्राम हवाई अड्डा खाली गरेको छ। तर, अमेरिकी सेना कसैलाई सूचना नदिई राति सुटुक्क सुटुक्क हिँडेपछि सो हवाई अड्डामा केही समय लुटेराहरुले तोडफोड मच्चाएको अफगानी सेनाले बताएको छ। 
 

‘अमेरिकीहरुले बग्राम छाडे भन्ने हल्ला त अलिअलि सुनेका थियौँ। तर, बिहान सात बजे मात्रै उनीहरु हिँडेको थाहा भयो,’ जनरल असदुल्लाह कोहिस्तानीले भने। अमेरिकी सेनाले छाडेपछि उनी बग्रामको नयाँ कमान्डर तोकिएका छन्। 

अफगानिस्तानको राजधानी काबुलबाट गाडीमा करिब एक घण्टामा बग्राम पुगिन्छ। यो स्थल करिब २० वर्ष लामो अफगानिस्तान युद्धमा अमेरिकी सेनाको प्रमुख केन्द्र रह्यो। 

ससानो सहरजत्रो यो हवाई अड्डा अमेरिकी र नेटो सैनिकले मात्रै प्रयोग गर्दै आएका थिए। यसमा दुई वटा धावनमार्ग र एक सयभन्दा बढी पार्किङ छन्। एउटा चाहिँ धावनमार्ग ३६ सय मिटर लामो छ। त्यो सन् २००६ मा बनाइएको हो। 

हवाई अड्डामा ५ हजार कैदी पनि छन्। त्यसबाहेक ५० बेडको अस्पताल र ठुल्ठूला गोदाम पनि छन्।

अमेरिकी सेनाले ३५ लाख गोटा सरसामान बग्राममा छाडेको कोहिस्तानीले बताए। जसमा दसौँ हजार पानीका बोतत, इनर्जी ड्रिंक र तयारी खाना पनि छन्। 

त्यस्तै ठूला सामानमा हजारौँ गैरसैनिक गाडी पनि छन्। तर, तीमध्ये धेरैको चाबी नभएको कोहिस्तानीले बताए। सयौँ बख्तरबन्द गाडी पनि छन्। 

कोहिस्तानीका अनुसार अमेरिकी सेनाले थोरै हतियार र गोलीगठ्ठा पनि छाडेका छन्। तर, भारी हतियार अमेरिकी सेनाले नै लगेको छ। 

अमेरिकाले गत शुक्रबार अफगानिस्तानमा रहेको आफ्नो सबैभन्दा ठूलो सो अड्डा पूर्ण रुपमा खाली गरिएको बताएको थियो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिलको मध्यतिर अफगानिस्तानबाट सेना फर्काउने घोषणा गरेका थिए। अगस्ट अन्त्यसम्म सबै सैनिक फर्काइसक्ने पेन्टागनले जनाएको छ। 

अमेरिकी सेना हिँडेपछि लुटेराहरुको समूहले त्यहाँ तोडफोड मच्चाएका थिए। 

‘सुरुमा त हामीले तालिबान आएछ भन्ने सोच्यौँ,’ १० वर्षदेखि सैन्य सेवामा रहेका अब्दुल रउफले भने, ‘उनीहरुले काबुल विमानस्थल पुगेपछि मात्रै हामीलाई फोन गरे र हामी त काबुल आइपुग्यौँ भने।’

अमेरिकी सेनाले आफूहरु हिँडेको २० मिनेटमा बत्ती आफैँ निभ्ने व्यवस्था गरेका थिए। जसका कारण सैनिकहरु बाहिरिपछि त्यहाँ अन्धकार छाएको थियो। 

‘अचानक अन्धकार बनाएर लुटेरालाई संकेत दिएजस्तै भयो। लुटेराहरु उत्तरपट्टिबाट बार भत्काएर तोडफोड गर्दै भित्र पसेछन् र सकेजति सामान लिएर भागेछन्,’ रउफले भने। 

अमेरिकी सेना त्यसरी सुटुक्क हिँड्दा उसको इज्जत गुमेको एक अफगानी सैनिकले बताए। 

‘हामी बाहिरपट्टि थियौँ। तर, हामीलाई नभनी हिँडेर उनीहरुले २० वर्षमा कमाएको इज्जत एकै रातमा गुमाएका छन्,’ ती सैनिकले भने। 

किन त्यसरी सुटुक्क सेना हिँड्यो भन्ने विषयमा अमेरिकाले केही बताएको छैन। 

हवाई अड्डाको सुरक्षा गर्न आफूहरु सक्षम रहेको कोहिस्तानीले बताए। 

यद्यपि पछिल्लो समय अफगानिस्तानमा तालिबानको आक्रमण बढ्दै गएको छ। देशको उत्तरी भेगमा एकपछि अर्को जिल्ला तालिबानको कब्जामा गइरहेको छ। गएको दुई दिनमा मात्र सयौँ अफगानी सैनिक भागेर ताजिकिस्तान प्रवेश गरेका छन्।

नेटोको सेना पनि लगभग सबै अफगानिस्तानबाट बाहिरिसकेको छ। 

काबुलको हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कसरी गर्ने भन्ने सम्झौता भएपछि सबै अमेरिकी सेना बाहिरिने बताइएको छ। 

अमेरिकी सेना हिँडेको तीन दिनपछि सोमबार पनि अफगानी सैनिकहरुले त्यहाँ जम्मा भएका फोहोर संकलन गरिरहेका छन्। 

२० वर्षअघि अमेरिकाले आतंकवादविरोधी युद्ध सुरु गरेसँगै अफगानिस्तानमा आक्रमण गरेको थियो। तर, तालिबानलाई सत्ताच्युत गरेपनि अमेरिकाले यो युद्ध जित्न सकेन। २० वर्षसम्मै मानिसहरुको ज्यान जाने क्रम चलिरह्यो। अन्ततः ‘साम्राज्यहरुको चिहान’ भनिने अफगानिस्तानबाट अमेरिका बाहिरिएको छ। 

‘हाम्रो समस्या हामी आफैँले समाधान गर्नुपर्छ। देशको सुरक्षा गरेर आफ्नै हातले यो मुलुकलाई फेरि बनाउनु छ,’ कोहिस्तानीले भने। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .