ad ad

फोटोफिचर


फोहोरको थुप्रोमाथि उभिएको काठमाडौं (फोटो फिचर)


विजय सिंह
जेठ २३, २०७९ सोमबार १७:११, काठमाडौँ

दुई सातादेखि थुप्रिएको फोहोर नउठ्दा काठमाडौं दुर्गन्धित भएको छ।

मनसुन सुरु भएसँगै पानीले भिजेर सडकमा फ्याँकिएको फोहोर कुहिन थालेपछि गर्मीको यो समयमा हैजासहितका सरुवा रोग फैलिने जोखिम बढेको छ।

काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएयता फोहोरमा अल्झिएको गाँठो सुल्झिन सकेको छैन।

काठमाडौंका सडकमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको दौडधूप रोकिएको छैन। 

उनीहरु कहिले सहरी विकास मन्त्री रामकुमारी झाँक्री भेट्न सिंहदरबार छिर्छन् त कहिले स्थानीय फकाउन नुवाकोटको सिसडोल पुग्छन्। 

यसबीचमा मेयर साहले सत्तारुढ दलका शीर्ष नेता भेटिसकेका छन्। तर संघीय राजधानीको फोहोर व्यवस्थापनमा प्रमुख भूमिका रहेको केन्द्रीय सरकार पनि मौन जस्तै छन।

केन्द्रीय सरकार मौन र भूमिकाहीन भएर बसिदिँदा महानगरको नयाँ नेतृत्व नै फोहोरको डंगुरमाथि उभिन बाध्य भएको छ।

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा एकजना वडाअध्यक्षले मेयर साहलाई उनको कुर्सीमाथि पनि फोहोर गन्हाइरहेको बताएका थिए।

त्यस अघिदेखि नै काठमाडौंका सडकमा थुप्रिएको फोहोर कुहिन थालेपछि महानगरले औषधि छर्किएर गन्ध मार्न थालेको छ।

यसबीचमा काठमाडौं वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले आफ्नो क्षेत्रका चोक चोकमा थुप्रिएको फोहोर उठाएर अल्पकालीन व्यवस्थापन थालेका छन्।

अहिले काठमाडौंसँगै ललितपुरमा पनि फोहोर थुप्रिन थालेको छ। नुवाकोटको सिसडोल भरिएपछि नयाँ डम्पिङ साइट धादिङको बन्चरे डाँडामा पनि फोहोर बोकेका गाडी जान नसक्ने भएपछि झनै समस्या बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .