ad ad

विचार


चीन अध्ययनका गम्भिर व्यक्तित्व

चीन अध्ययनका गम्भिर व्यक्तित्व

डा. महेश मास्के
असोज ६, २०७६ सोमबार ५:६,

गोविन्द भट्टजीसँग मेरो पहिलो भेटघाट कमलादीमा रहेको उहाँको डेरामा भएको थियो। चीन बसाईको पहिलो लामो अवधि (करिब ७ वर्ष) सकेर उहाँ नेपाल फर्कनु भएको बेला थियो। म भारतमा दरभंगा मेडिकल कलेजको अन्तिम वर्षको विद्यार्थी थिएँ र अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्ष। उहाँसँग मलाई भेटघाट गराउने व्यक्ति हुनुहुन्थ्यो डा. बाबुराम भट्टराई। माओवादी शीर्षस्थ नेताहरुमध्ये एक र नेपालको प्रधानमन्त्री समेत भएर पछि नयाँ शक्तिको झण्डा उठाउनु भएका बाबुराम भट्टराई तिनताका आफ्नो प्रसिद्ध फित्तावाल चप्पल प्रयोग गर्नु हुन्थ्यो जुन उहाँको पहिचान नै बनिसकेको थियो। उहाँले नै मलाई नेपालको धेरै वामपन्थी बौद्धिकहरुलाई चिन्ने र भेट्ने अवसर मिलाई दिनुभएको हो।

अखिल भारत नेपाल विद्यार्थी संघ (अभानेवि संघ) को मुखपत्र ‘जनमानस’ का लागि हामी लेखहरू बटुल्दै हिड्थ्यौँ। कमलादीनिरको सडकबाट यसो उक्लेर ढिस्कोजस्तो ठाउँमा रहेको भट्टजीको डेरा नजिक पुग्दा बाबुरामजीले मलाई भन्नुभएको थियो, ‘नेपालमा यदि कसैलाई माक्र्सवादी चिन्तक भन्न सकिन्छ भने ऊ गोविन्द भट्ट नै हो।’

मैले त्यति बेला गोविन्द भट्टजीको बारेमा केही सुनेको थिएँ। उहाँका कृतिहरु थोरै अध्ययन गर्न पाएको थिएँ, भेट्ने उत्सुकता पनि थियो तर बाबुरामजीको स्वरमा र मुद्रामा प्रतिविम्बित उहाँप्रतिको आदरभाव मलाई प्रभावित पार्न पर्याप्त थियो। अभानेवि संघको कार्यकालमा बाबुरामजीसँगै झोला बोकेर नेपाल र भारतका गल्लीहरु चहार्दा उहाँलाई निकै नजिकबाट चिन्ने अवसर पाएको छु। बाबुरामजीको मुखबाट अरुका लागि प्रशंसाका शब्दहरु सितिमिति निस्किँदैनथे। पुरानो समाजलाई भत्काएर नयाँ निमार्ण गर्न लागिपरेको उहाँजस्तो बौद्धिक  प्रतिभाको कम्मरमा आलोचनाको धारिलो खुकुरी सधैँ सुशोभित हुनु अस्वभाविक थिएन। अलि अलि पढाइमा सधैँ अब्बल रहेको अहम् पनि थियो होला तर हरेक वस्तु र प्रकृयामा विपरित तत्वहरुको एकत्व र संघर्ष खुट्याउन प्रयत्नशील भट्टराईको दृष्टिमा थोरै मान्छेहरुका मात्र सकारात्मक पक्षले प्रधानता पाउँथ्यो जस्तो लाग्थ्यो मलाई। तर त्यो आलोचक दृष्टि तथ्यहरुको गम्भिर अध्ययनबाट निःसृत हुन्थो भन्ने पनि लाग्थ्यो त्यतिबेला। त्यसैले बाबुरामजीको प्रशंसाले गोविन्द भट्टजीसँग भेट्ने मेरो उत्सुकतालाई कयौँ गुणा बढाइ दिएको थियो।

एउटा साधारण डेराको बैठक कोठामा भट्टजीसँग भेट भयो। प्रथम साक्षात्कारमा भट्टजीको बौद्धिकताभन्दा उहाँको सरलताले प्रभावित पा¥यो। अझ यसो भनौँ, यति कहलिएको बौद्धिक व्यक्तित्व पनि यति सहज र सरल हुन सक्दो रहेछ भनेर मैले मनमनै गमेँ। त्यतिबेला मलाई दरभंगाका बिहारी मित्रहरुको ठट्टा गर्ने शब्दहरु पनि याद आएको थियो। उहाँको रंग श्यामल थियो, मेरो रुममेटको जस्तै। उसलाई साथीभाइहरु ‘काला वामनसे बचके रहना’ भन्दै जिस्काउँथे। मैथिल संस्कृतिमा चाणक्य र गोनु झाको उपमा दिएर ‘कालो रंग भएका ब्राह्मणहरुबाट सतर्क रहनू, उनीहरु साह्रै चतुर हुन्छन् र अरुलाई थाङ्गनामा सुताउन सक्ने क्षमता राख्छन्’ भने जनश्रुति रहेछ। हुन त मान्छेको रङ्गले उसको स्वभाव र विशेषताहरु निक्र्यौल गर्छ भन्ने कुरा मलाई सानैदेखि विश्वास लाग्दैनथ्यो। भेट हुँदा मनमा उठेका कुरा फेरि सम्झना गरेको मात्रै हो।

भट्टजीको सान्निध्यतामा त्यस्ता सोचका अवशेषहरु पनि कता बिलाए थाहा भएन। मैले जति उहाँलाई नजिकबाट चिन्ने अवसर पाउँदै गएँ त्यति नै उहाँका व्यक्तित्वको आलोकलाई देख्न सक्ने पनि हुन थालेँ। साहित्यकार समालोचक अभि सुवेदीले भने झैँ मलाई पनि लाग्छ उहाँको मन एक निर्मल आकाश झैँ स्वच्छ र फराकिलो थियो। जति भेटे पनि भेटिरहुँ जस्तो लाग्ने। चियाको चुस्किसँगै उहासँग घण्टौँ बहस चल्थ्यो। उहाँ सधैँ युवा पुस्तालाई ज्ञानको गहिराइमा उत्रिन प्रेरित गर्नुहुन्थ्यो। छलफलको क्रममा विचारहरुको प्वाँख उम्रेर खुल्ला आकाशमा विचरण गरिरहेझैं लाग्थ्यो। उहासँग आज भेट हुँदैछ भन्ने अनुभूतिले पनि मन आनन्दित हुन्थ्यो। यस्तो अनुभूति मैले पारिजात, खगेन्द्र संग्रौला र निनु चापागाईंसँगको भेटघाटमा पनि अनुभव गरेको छु।

कुरा गर्दा बेलाबेला खिस्स हाँस्ने र उमेरमा धेरै अन्तर भए पनि युवाहरुसँग समकक्षी जस्तो व्यवहार गर्ने उहाँका यी स्वाभाव पारिजातसँग पनि मिल्थ्यो। प्रत्यक्ष भेट हुनुअघि भट्टजीको बौद्घिक परिचय पारिजातकै रचनामाथि लेखिएको ‘शिरिषको फूल कि कागजको फूल’ भन्ने आलोचनात्मक लेखबाट पाएको हुँ। त्यतिबेला मेरो पारिजातसँगको प्रगाढ मित्रताका शुरुवाती दिनहरु थिए, पत्राचार पनि चल्थ्यो। गोविन्द भट्टप्रति पारिजातको आदरभावसँग म परिचित थिएँ तर उहाँहरुका स्वभावगत समानताहरु पनि छन् भन्ने थाहा थिएन। पारिजातको निधनपछि उहाँ पारिजात स्मृति केन्द्रको सञ्चालक समितिको सदस्य बन्नु भयो, अब प्रगतिशील साहित्यको अभिभावकत्वको जिम्मेवारी उहाँमाथि नै आएको थियो। त्यही अवधिमा उहाँसँग संगत गर्ने राम्रो अवसर मलाई जुटेको थियो। यो जान्ने अवसर कि ‘शिरिषको फूल’ माथि एक पछि अर्को प्रसंशाको खात लगाइरहेका मूर्धन्य समालोचकहरुको भिडबाट निस्केर त्यसलाई ‘कागजको फूल’ भनेर औँलो ठड्याउने व्यक्तिप्रति पारिजात किन कृतज्ञ बन्नु भयो? र, किन उहाँकै चेतनाको विकास क्रमले एक दिन यो भन्यो ‘शिरिषको फूल जलाइ दिए हुन्छ’?

‘जनमानस’ का लागि भट्टजीसँग लेखको टुंगो लगाएर उठ्ने बेलामा आफ्नो टेबुलमा छरिएका भारतीय प्रकाशनबाट मुद्रित महिलाहरुका लागि निस्किएका पत्रिकाहरु देखाउँदै भन्नु भयो, ‘हेर्नुस् न, नेपालमा एउटा गतिलो नारी प्रधान पत्रिका नै भएन। त्यसको अभावमा कस्तो श्रृंगार गर्ने, कस्तो फिल्म हेर्ने, खाना पकाउने कला आदि जस्ता सामग्रीहरुले भरिएका पत्रिकाहरु मात्रै पढ्न बाध्य छन् हाम्रा परिवारहरु।’

भट्टजीको संकेत आफ्नै छोरी लुना र शिरीषतर्फ पनि थियो। दुबै पढाईमा मेधावी थिए। लुनाले नेपाल आएको दुई वर्षमै एसएलसी बोर्ड परीक्षा दिइन् र प्रथम श्रेणीमा प्रथम मात्रै होइन त्यस्तो उपलब्धि हासिल गर्ने नेपालको प्रथम महिला पनि बनिन्। उल्लेखनीय के छ भने उनले त्यसअघिको शिक्षा चिनियाँ भाषामा प्राप्त गरेकी थिइन्। अंग्रेजी र नेपाली भाषा सिक्ने यथेष्ट अवसर नपाएकी लुनाले बोर्ड फस्र्ट गर्नु उनको असाधारण प्रतिभाको परिचायक हो। धेरैपछि राजदूत भएको बेला चीनमा लुनासँग मेरो भेट भयो। उनी मुटु रोग विशेषज्ञ भएर अमेरिकामा काम गरिरहेको रहिछिन्। त्यति बेलै भन्थिन, ‘बुबाको स्मृतिग्रन्थ निकाल्नु छ, तपाईंको लेख चाहिन्छ है।’

आज भट्टजीको सम्झनामा यी हरफहरु कोर्दा म लुनालाई पनि सम्झिरहेको छु। र, सोचिरहेको छु लुनाको नेपाल फर्कने बेला भएन? लुना जस्तो प्रतिभाको सेवा पाउने नेपालको पनि त अलिकति हक छ, हैन?

त्यतिबेला नारी प्रधान पत्रिकाबारे भट्टजीले भन्नु भएका कुराहरु मनमा गडेर बसेको रहेछ। मेरी बहिनी सुसन मास्के र अन्जु क्षेत्रीले ‘अस्मिता’ पत्रिका शुरु गर्ने अठोट कस्दा उनीहरुलाई सघाउन भट्टका ती शब्दहरुकै प्रेरणाले पनि उर्जा दिएका थिए। ‘अस्मिता’ पत्रिकाले एउटा ठूलो काल खण्डसम्म यो दायित्व निर्वाह ग¥यो र पछि निस्कने नारी प्रधान पत्रिकाहरुका लागि एउटा गोरेटो कोर्न सफल पनि भयो।

त्यस भेटपछि भट्टजीले हाम्रो अनुरोध अनुरुप एक लामो लेख लेख्नु भयो। उहाँलाई चिन्नेहरुलाई थाहा छ, उहाँ कम लेख्ने तर लेख्न धेरै मेहनत गर्ने मान्छे हुनुहुन्थ्यो। त्यतिबेला ‘जनमानस’ को प्रकाशनको जिम्मा मेरै थियो, पत्रिका प्रकाशन गर्न हामीलाई आर्थिक संकटले धौ धौ पथ्र्याे। भट्टजीको लेख आइसकेपछि बाबुरामजी र म दुबैले पढ्यौं तर, हामीले अपेक्षा गरेको स्तरको लागेन। त्यतिबेला ‘जनमानस’ म पढिरहेको ठाउँबाट प्रकाशित हुन्थ्यो। उहाँको लेख छाप्दा आर्थिक रुपले भार बढ्ने तर नछाप्दा खासै फरक नपर्ने मेरो सोच बन्यो। तर त्यत्रो अनुनय विनय गरेर ल्याएको लेख, गाविन्द भट्टजस्तो लेखकको लेख, छाप्नयोग्य लागेन भन्ने आँट पनि थिएन। त्यसैले कुनै बेला बाबुरामजीले ऋषिकेश शाहको लेखको बारेमा गरेको नजिरलाई नै दोहोर्याउने विचार गरेँ मैले। शाहको लेख स्तरीय पनि नलागेको, छाप्दा खर्च बढी लाग्ने र फर्काउँदा अप्ठेरो हुने भएकाले ‘प्रेसले पान्डुलिपि नै हराइ दिएछ’ भनेर उम्किनु भएको मलाई सुनाउनु भएको थियो। बाबुरामजीसँग सल्लाह नै नगरी मैले पनि त्यही दृष्टान्तलाई दोहो¥याएँ। ‘जनमानस’ छापिएपछि त्यहाँ भट्टजीको लेख नदेखेर बाबुरामजीले सोध्दा उहाँकै जुक्ति अपनाएको कुरा सुनाएँ। उहाँले अलि ननिको मान्नु भयो तर केही बोल्नु भएन। भट्टजीलाई उहाँको लेख ‘हराएको’ मा क्षमायाचना सहित ‘जनमानस’ पठाइयो। त्यो लुकाएको पाण्डुलिपि धेरै दिनसम्म मसँगै रह्यो र एक दिन वास्तवमै त्यो हरायो।

काठमाडौंमा भट्टजीसँग भेट हुँदा ‘अझै पनि प्रेसले फेला पार्छ भने खोजिदिउन, त्यो मेरो एउटै मात्र कपि थियो’ भन्नु भएको थियो, मैले यताउताको कुरा गरेर टारेको थिएँ। सामाजिक आर्थिक आधार र त्यसमाथि उभिएको संस्कृतिको अधिरचना बीचको अन्तरसम्बन्ध, अन्तरक्रिया र अन्तरविरोधबारे विस्तृत रुपमा लेखिएको लेख थियो जसले कुनै खास परिस्थितिमा सांस्कृतिक अधिरचना निर्णायक पक्ष हुन सक्छ भन्ने धारणालाई पुष्टि गथ्र्यो। छाप्न नसक्दा वा छाप्न योग्य नठान्दा फर्काउनु पर्ने सोच र क्षमता नभएको हामी केटौले मानसिकताका युवाहरुबाट एउटा अक्षम्य भूल र अपूरणीय क्षति भएको थियो। उहाँको लेख अरुले पढ्न पाउने अवस्थाबाट बञ्चित गराउनमा म नै प्रमुख रुपले जिम्मेवार थिएँ। यस कार्यबाट ममा एक प्रकारको अपराधबोध पलायो। सो अपराधबोधले मलाई धेरैपछिसम्म खेदि रह्यो।

म नेपाल फर्किसकेपछि अभानेवि संघको दशौँ वार्षिकोत्सवमा प्रकाशित गरिने ‘जनमानस’ विशेषांकमा इन्जिनियर पुरुषोत्तम श्रेष्ठले मसँग लेख माग्नु भएको थियो। त्यस लेखमा मैले उपर्युक्त घटनाको उल्लेख गरेर क्षमायाचना गरेको थिएँ। पछि ‘जनमानस’ प्रकाशित हुँदा थाहा पाएँ मेरो लेखका ती हरफ बाबुरामजीको निर्देशनमा हटाइएको रहेछ। पुरुषोत्तमलाई सोधेपछि थाहा भयो। आफ्नै शब्दहरुले पनि त्यही नियति भोग्नु परेकोमा म मनमनै हाँसें। आफुले गरेको गल्ती स्वीकार्न नसक्ने कस्तो संस्कृति हामीले विकास गरेको रहेछौँ? धेरै समयपछि त्यस्तै संयोग पारेर भट्टजीलाई यो कथा सुनाएर आफ्नो मनको बोझ हलुको पारेँ।
त्यो कुरा सुनेर भट्टजी खिस्स हाँस्नु भएको थियो, ‘तपाईंलाई एउटा पाठ नै भएछ, बेसै भयो।’

करिब १९८४ तिर भट्टजी दोस्रो लामो कार्यकालका लागि चीन जानु भयो र १९९२ मा मात्र फर्किनु भयो। म १९८५ मा पढाई पूरा गरेर भारतबाट नेपाल फर्किएँ। १९८५ देखि १९९० को अवधि साम्यवादी आन्दोलनमा तीब्र मतभेद र टुटफुटको अवधि थियो। त्यसको साथै पञ्चायती व्यवस्था विरुद्ध कार्यगत एकता गर्नु पर्ने बाध्यता वस्तुगत अवस्थाले नै सृजना गराएको थियो। १९९० को जन आन्दोलनले निरंकुश राजतन्त्रलाई संवैधानिक सीमाभित्र रहन बाध्य ग¥यो र दलबिहिन पञ्चायती व्यवस्थालाई फ्यालेर बहुदलीय प्रजातन्त्रको स्थापना ग¥यो। यो महत्वपूर्ण राजनीतिक परिवर्तनपछि वाम आन्दोलनमा पुनः एकीकरणको प्रक्रिया शुरु भयोे। नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, सर्वहारा श्रमिक संगठन, जनमुखी र नेकपा मसालका बाबुराम भट्टराई समूह जुटेर नेकपा (एकताकेन्द्र) को निर्माण भयो। नेकपा (माले) सँग पुष्पलाल र मनमोहन समूह मिलेर नेकपा (एमाले) गठन भयो। माओवादी जनयुद्घ शुरु हुने बेलामा एकताकेन्द्र फुटेर त्यसको एउटा भाग नेकपा (माओवादी) को नाममा जनयुद्घमा होमियो। अर्को भाग एकताकेन्द्रकै नाममा ‘ग्रामीण वर्ग संघर्ष’ र ‘जनाधार निर्माणको कार्यभार’ लिएर अघि बढ्यो। कालान्तरमा यी दुई शक्तिहरु पुनः मिलेर एकीकृत नेकपा (माओवादी) निर्माण गरे। जुन पछि नेकपा (माओवादी केन्द्र) बन्यो।

१९९० को ऐतिहासिक आन्दोलनले नेपालका ठूलो परिवर्तन ल्यायो तर त्यति नै बेला सोभियत संघ र पूर्वी युरोपमा कम्युनिष्ट शासन व्यवस्थाहरु ढल्ने लहर सुरु भयो। त्यो पृष्ठभूमिमा ‘समाजवादको झण्डा उठाउने’ सोचका साथ श्याम श्रेष्ठ, हरिगोविन्द लुईंटेलहरुको सक्रियतामा ‘मूल्यांकन’ पत्रिकाको जन्म भयो। मूल्यांकनको पहिलो अंकमा ‘के समाजवादको मृत्यु भएको हो’ शीर्षकमा मैले ‘नीरव शेरचन’ को नामबाट एउटा आलेख लेखें, जुन निकै चर्चित भयो। त्यतिबेला रुसका विभिन्न चोकहरुबाट लेनिनका सालिक क्रेन लगाएर ढालिएको दृष्य खुबै प्रचारित भइरहेको थियो। त्यहीबेला पारिजातले भन्नु भएको थियो, ‘लेनिनको ढुंगाको सालिकलाई भत्काउन सफल होलान् तर हाम्रो मनभित्र रहेको लेनिनको सालिकलाई कसैले ढाल्न सक्ने छैन।’

पारिजातले आफ्नो यो गहिरो आस्थालाई मृत्युपछि लेनिनको फोटो आफ्नो शिरमाथि राख्ने इच्छा व्यक्त गरेर प्रदर्शित गर्नु भयो। त्यहीबेला १९९२ मा गोविन्द भट्ट चीनबाट फर्कनु भयो। माइतिघर नजिक रहेको जनप्रशासन क्याम्पसमा एउटा कार्यक्रममा साहित्यकारहरुले गोविन्द भट्टलाई वक्ताका रुपमा बोलाएका थिए। त्यतिबेला भट्टजीले ‘लाल सलाम’ को मुद्रामा मुठ्ठी उचालेर माक्र्सवादको अजेयताबारे आफ्ना विचार व्यक्त गर्नु भयो।

साहित्यकार खगेन्द्र संग्रौला र म सँगै थियौँ। उहाँले मतिर फर्कंदै गर्विलो स्वरमा भन्नु भयो, ‘मास्केजी ध्यान दिएर हेर्नुहोस्, यो गोविन्द भट्टले उठाएको मुठ्ठी हो।’

आलोचनाको धारिलो खुकुरी भिरेर हिँड्ने मैले चिनेको अर्को व्यक्तित्व हुन्, खगेन्द्र संग्रौला। संग्रौलाको दृष्टिले व्यक्तिहरुमा रहेको संभावनाहरुलाई पहिल्याउँथ्यो। त्यसलाई टेवा दिन कन्जुसी गर्दैनथ्यो। आफ्नो लेखमा कठोर आलोचकको रुपमा संग्रौला प्रस्तुत भएपनि उनको कलमले सधैँ नेपालको धरतीमा नायकहरु खोज्यो र फेला नपर्दाका निराशाहरु पनि पोख्यो। विनोद विक्रम केसीको कविताले भने झैं अलिकति सम्भावना भएकाहरुलाई पनि बोक्न ‘संग्रौलाको काँध’ सधैं हाजिर भयो। गोविन्द भट्टप्रति संग्रौलाको आदरपूर्ण अनुराग थियो। मलाई लाग्छ भट्ट संग्रौलाका अग्रज, मित्र र नायक तीनवटै थिए। तिनै भट्ट तत्कालीन राजा ज्ञानेन्द्रको पक्षमा संचार माध्यममा देखिएपछि त्यो ‘कुरुप र विवश क्षण’ बारे बोल्नु पर्दा संग्रौलालाई कति पीडा भयो होला म अनुमान गर्न सक्छु। तर त्यसो भए तापनि भट्ट संग्रौलाका प्रिय नै रहे।

मलाई लाग्छ, गोविन्द भट्टको सम्पूर्ण जीवनको गरिमामय उपलब्धिहरुका अगाडि त्यो एउटा सानो धब्बा मात्र थियो, जसको चर्चा त भइ नै रहनेछ तर त्यसले भट्टको व्यक्तित्वलाई धमिल्याउन सक्ने छैन। आफ्नो नामको अघि पछि अनेक विशेषण झुन्ड्याउँदै खाँटी कम्युनिष्ट नेता कहलिएकाहरुमध्ये कसैले पदको निम्ति राजालाई बिन्तीपत्र चढाउने, कसैले राजासँग संवाद गरेर जनयुद्घको निकास खोज्ने प्रयत्न गरेको इतिहासको तुलनामा गोविन्द भट्टको गल्ती कति नै ठूलो देखिन्छ र? एउटा कोणबाट ‘गोविन्द भट्ट कतै राजावादी कम्युनिष्ट त थिएनन्’ भन्ने चर्चा पनि चलेको छ। यदि त्यसो हो भने राजावादी कम्युनिष्टहरुको पंक्तिबाट त्यस्तो गरिमामय व्यक्तित्व कसरी जन्मन संभव हुँदो रहेछ, वामपन्थी आन्दोलनका लागि यो एक चाखलाग्दो अनुसन्धानको विषय हुन सक्छ। उहाँको सैद्धान्तिक दृष्टिकोणमा भारतको थिचोमिचो विरुद्घ राजतन्त्रसँग सहकार्य गर्न सकिन्छ भन्ने धारणा रहेको थियो भन्ने मलाई पनि लाग्छ। तर त्यसैको आधारमा भट्टजीलाई त्यो विशेषणको पगरी गुथाउनु उहाँप्रति अन्याय गर्नु हो भन्ने मेरो अभिमत हो।

तर २०६२/६३ मा नेपाली जनता राजतन्त्र विरुद्ध जुर्मुराएको बेला त्यो जनआन्दोलनको स्पिरिटलाई ठम्याउन नसक्नु गोविन्द भट्टको ठूलो भूल थियो। त्यो भूललाई इतिहासले सम्झना गरि नै रहनेछ। त्यस घटनाले भट्टजीको वास्तविक चरित्र दर्शाउँछ भन्ने नभए पनि एउटा अनुत्तरित प्रश्न सदैव हामीसँग रहिरहेको छ– गोविन्द भट्टजस्तो व्यक्तिबाट पनि त्यस्तो भूल कसरी हुन गयो, त्यस्तो के विवशता थियो जसले भट्टलाई त्यसरी सार्वजनिक हुन बाध्य पा¥यो?

१९९३ तिर प्रगतिशील लेखक वा कुनै साहित्यिक संस्थाले भट्टजीको सम्मानमा जनप्रशासन क्याम्पसमै अर्को एउटा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो। त्यतिबेला भट्टजीले ‘शिरिषको फूल कि कागजको फूल’ रचना भएको काल खण्डबारे सुनाउनु भयो। रचना प्रकाशित भइसकेपछि उहाँलाई मित्रहरुले अलि सतर्क भएर हिंड्न सुझाव दिएको स्मरण पनि गर्नुभयो। साथीहरुले भन्नु भएको थियो रे, ‘होस् गर्नुस् है, परिजातका वरिपरि हट्टाकट्टा राल्फा युवकहरु छन्, बचेर हिंड्नु होला।’

कार्यक्रममा निनु, रामेश र रायनहरु थिए। भट्टजीका कुरा सुनेर हल हाँसोले गुन्जयमान भएको थियो। पूर्व राल्फाहरु पनि त्यसमा साथ दिइरहेका थिए।

हाम्रो भेटघाटमा भट्टजी मलाई दर्शनको छलफल बहसमा प्रेरित गर्नुहुन्यो। त्यसताका उहाँले दुईवटा पुस्तक पढ्न दिनु भयो– ‘जेन एण्ड आर्टस् अफ मोटरसाइकल मेन्टिनेन्स’ र हर्मन हेसको ‘सिद्धार्थ’। किताब पढिसकेपछि उहाँले कस्तो लाग्यो भनेर सोध्नु हुन्थ्यो, सुन्नु हुन्थ्यो, तर आफ्नो धारणा भने खासै बताउनु हुन्नथ्यो। ‘सिद्धार्थ’ उपन्यासको पात्र सिद्धार्थ झैँ उहाँ ज्ञानको बाटो आफैँले आर्जन गर्नु पर्छ, आफैँले बुझेको कुराले मात्र हाम्रो जीवनमा परिवर्तन ल्याउँछ, अरुबाट सुनेर ग्रहण गरेको कुरा त्यति टिकाउ हुँदैन भन्ने मान्यता राख्नु हुँदो रहेछ। ‘सिद्धार्थ’ पात्र स्वयम् गौतम बुद्धका शिक्षाहरुलाई पनि आँखा चिम्लेर स्वीकार गर्दैन, आफैँले खोजेको बाटो हिँड्छ र अन्ततः त्यसरी बुद्धको शिक्षाको सारलाई बोध गर्दछ।

धेरै पछि २००६ तिर उहाँले ‘ताओ अफ फिजिक्स’ पढ्न दिनु भयो। यो पनि दर्शनसँगै सम्बन्धित थियो र क्वान्टम भौतिकीलाई व्याख्या गर्ने प्रयासमा त्यसको आदर्शवादी चिन्तनलाई टेवा पुग्ने अवधारणाको पक्षपोषण गर्दथ्यो।

त्यो किताबतिर संकेत गर्दै उहाँले भन्नु भएको थियो, ‘यस्ता चिन्तनहरुलाई प्रति उत्तर दिन सक्ने प्रयत्नहरु कमै भएका छन्। चिनियाँहरु पनि अहिले क्वान्टम भौतिकीलाई खुब गहिरिएर अध्ययन गरिरहेका छन् तर भौतिकवादी दृष्टिकोणबाट।’

त्यो किताब वास्तवमै रोचक थियो, विज्ञानका नविनतम खोजहरुबारे छलफल गरिएको पूर्वेली शिव शक्तिदेखि चीनको यिनयाङसम्मको आदर्शवादी द्वन्द्ववादको चर्चा चरिएको पुस्तक थियो। त्यसले मेरो अध्ययन फिजिक्सजस्तो निरस विषयतर्फ पनि आकर्षित भयो।

म अमेरिका अध्ययन गर्न जानु अघि भट्टजीसँग २ वर्षसँगै बिताउने मौका पाएँ। ती दुई वर्ष असाध्यै उपलब्धिमूलक थिए। मैले लेखेका लेख, कविताहरु पनि भट्टजीलाई सुनाउँथे र राय माग्थेँ। ‘लज्जा’ पुस्तककी लेखिका तस्लिमा नसरिनलाई काफिरको आरोप लगाई बंगलादेशबाट देश निकाला सहित फतवा जारी गरिएपछि मैले ‘तसलिमा’ शीर्षकमा एउटा कविता लेखेको थिएँ। कवितामा मुल्लाहरुप्रति मेरा क्रोधपूर्ण अभिव्यक्तिहरु थिए। भट्टजीले धार्मिक संवेदनशीलतालाई कसरी सम्बोधन गर्नुपर्छ भनेर धेरै सम्झाउनु भयो। संप्रेषण गर्ने हो भने काँचो रिसले काम चल्दैन भन्ने उहाँको सुझाव थियो। त्यसपछि दुई तिन पटक साफी गरेर मेरो कविता भट्टजीबाट स्वीकृत भयो। यो कविता कतैै प्रकाशित भएको हुनु पर्छ तर कहाँ कुन पत्रिकामा प्काशित भयो मलार्ई याद छैन।

आज म यो कविता उहाँलाई समर्पण गर्दछु र त्यसको सम्पूर्ण पाठ यहाँ साभार गर्दछु। पाठकहरुले अनुमान लगाउन सक्नु हुन्छ यसको पहिलो मस्यौदा कस्तो थियो होलाः

तसलिमा
एउटा काफिरको सल्लाह सुनेर
आतंकित छन्
ग्रन्थमा लिपिवद्घ देववाणीहरु
प्रक्षेपित भइसकेको छ धर्मगुरुहरुको प्रत्यञ्चाबाट
मृत्युदण्डको आदेश
खल्तीमा वारेन्ट बोकेर
घरघर भौंतारिएको छ राज्य।

पचास हजार टाँका
हत्यारालाई पुरस्कार
पचास हजार टाँका
हत्यारालाई पुरस्कार
लज्जाले खुम्चिएका छन्
सभ्यताका अपरिमित आयामहरु
लज्जाले निहुरिएका छन्
स्वतन्त्रताका अप्रतिम उचाइहरु
एउटा पाशविक अट्टहासमा दबिएका छन्
जीवन मूल्यका प्रचण्ड उद्घोषहरु
पचास हजार टाँका
हत्यारालाई पुरस्कार।

दुबै हात अञ्जुली पारेर
आफ्नै रगतको धारले
यो कुन सूर्यलाई अर्घ चढाउँदै छौ तसलिमा?
तिम्रो देशको धर्तीले
यस सूर्यलाई चिनेको छैन
अँध्यारोमा अभ्यस्त मानुषीले शायद
प्रकाशको गीत सुनेको छैन
पुरुषहरु धुँवाको मुस्लो बनेर यसलाई छेक्न खोज्छन्
अरु त अरु तिम्रो देशको एक हुल लेखक
यो सूर्यलाई अपराधी घोषित गर्छन्
तर यी सबैबाट असंपृक्त
स्थितप्रज्ञ
यो कुन सूर्यलाई
आफ्नो रगतको अर्घ चढाउँदै छौ तसलिमा?

तलाशी लिइराख अन्धकारका मसिहाहरु
देशहरुका सिमापारि फैलिसकेकी छ तसलिमा
बिना कुनै याचना बिना कुनै अपिल
युगको अदालतमा दर्ता भइसकेको छ
एक निशब्द प्रश्न
र कठघरामा उभिएको छ अभियुक्त समय
निर्णयको प्रतिक्षामा
समयको सास रोकिएको छ ...

हेर्नु छ सूर्य तसलिमाको आँगनमा खेल्न आउँछ
कि इतिहास मानवताको अनुहारमा कालो रंग खन्याउँछ।

त्यही अवधिमा पारिजातको मृत्यु भयो। परिजातले सम्हाल्नु भएको प्रगतिशील साहित्यको मोर्चा निनु चापागाईं र खगेन्द्र संग्रौलाको काँधमा गयो। गोविन्द भट्ट दुबैको अभिभावकजस्तो हुनुहुन्थ्यो। भट्टसँग थुप्रै सैद्धान्तिक असहमति हुँदाहुँदै पनि निनु चापागाईंले आफ्नो समालोचकीय कृतिको भूमिका भट्टजीबाट नै लेखाउनु भयो। स्मृति केन्द्रले निकालेको पारिजात स्मृति ग्रन्थमा प्रकाशित मेरो लेखपत्रमा पोखिएकी पारिजात पनि भट्टजीको सुझावबाट परिष्कृत भएको हो।

नजानिँदो पाराले गोविन्द भट्ट मेरो लागि पनि साहित्य र दर्शनको क्षेत्रमा एक अभिभावक नै बनिसक्नु भएको थियो। आवश्यकता पर्दा मेरो लागि समय निकाल्न उहाँले कहिल्यै कन्जुस्याइँ गर्नु भएन।

उहाँसँगको साहित्यिक चर्चामा विम्व विधानमा देखा पर्ने वामपन्थी चिन्तनमा रहेको जडताबारे मजाकहरु पनि सुनाउनु हुन्थ्यो, ‘एउटा कविले कविता लेखेछन्ः म सूर्यलाई आफ्नो हत्केलामा खेलाउँछु। पार्टी नेताले त्यो कविता अवैज्ञानिक, अवस्तुवादी भयो भनेर प्रकाशनमा प्रतिबन्ध लगाएछन्। कहिँ प्रचण्ड रापिलो सूर्य पनि हत्केलामा खेलाउन सकिन्छ भन्दै।’

सृजन प्रक्रियामा हाम्रो कल्पना शक्तिको स्थानबारे यस्तो ‘माक्र्सवादी’ धारणा पनि सुन्न पाइयो भन्दै भट्टजी खिस्स हाँस्नु हुन्थ्यो।

अमेरिकाको अध्ययन सकेर सन् २००१ मा नेपाल फर्केपछिका दश वर्ष मैले फेरि भट्टजीको सान्निध्यमा बिताउन पाएँ। घर नजिकै हुने कार्यक्रमहरुमा हामी सँगै जाने गथ्र्यौं, उहाँको घरको पनि म एक नियमित आगन्तुक थिएँ। हाम्रो सबैभन्दा बढी छलफल माक्र्सवादी दर्शन र चीनलाई कसरी बुझ्ने भन्ने बारे हुन्थ्यो। पहिलो विषयमा हामीबीच धेरै समानता थियो, दोस्रो विषयमा भने धेरै अन्तर। आधुनिक चीनबारे उहाँको बुझाई मलाई संप्रेषण गर्न उहाँलाई हम्मे पथ्र्यो। चीन कहिल्यै नगए पनि अध्ययनको आधारमा मलाई निकै थाहा छ भन्ने एक किसिमको घमण्ड मसँग थियो। उहाँ भने अध्ययन र अनुभव दुबैको प्रकाशमा बहस गर्नु हुन्थ्यो।

पहिलो चीन बसाईमा उहाँ माओकालीन चीन, माओको मृत्युपछि तंगको उदय र चारजना समूहको पतनको प्रत्यक्षदर्शी हुनुभयो। दोस्रो अवधिमा तंगका विचारहरु पूर्ण रुपले विकसित भएर सिद्घान्तकै रुपमा मान्यता पाइसकेको अवस्था थियो। नेपालका क्रान्तिकारी कम्युनिष्टहरुले तंगलाई संशोधनवादी घोषित गरिसकेको अवस्थामा पूर्वाग्रहरहित भएर तंगका विचारहरुको अध्ययन मनन गर्ने, त्यसलाई भौतिकवादी द्वन्द्ववादी दृष्टिकोणले आलोचना विवेचना गर्ने प्रयत्नको नेपालमा हिजो पनि खडेरी थिया, आज पनि छ।

चीन गएपछि चिनियाँ समाजलाई बुझ्ने प्रयत्न गर्दा मैले सधैँ भट्टजीसँग भएका बहस छलफल सम्झेँ। त्यसक्रममा पहिलेजस्तो प्याच्च विशेषण भिराई हाल्ने मानसिकताबाट मैले क्रमशः मुक्ति पाउँदै गएँ र त्यही प्रक्रियामा तंगका नीतिहरुमा देखा परेको अन्तरविरोध, धनि र गरिबबीच बढिरहेको खाडलको वस्तुगत कारणहरु बुझ्न पनि सजिलो हुँदै गयो। त्यस समस्याबाट पार पाउन चीनको वर्तमान नेतृत्वले कस्तो कदम कसरी चालिरहेको छ भन्ने बुझ्न पनि सजिलो हुँदै गयो।

gg

भट्टजी भन्ने गर्नु हुन्थ्यो, ‘अर्थिक रुपले गरिब चीन समृद्ध पनि त हुनु प¥यो नि, गरिब चीनले कसरी पुँजीवादी मुलुकहरुसँग प्रतिस्पर्धा गर्न सक्छ? त्यसैले अहिलेको चीनको प्रयत्न समृद्ध चीन बन्ने प्रयत्न हो, ‘पुँजीवादी चीन’ बन्ने प्रयत्न होइन। द्वन्द्वात्मकताले हामीलाई के सिकाउँछ भने तंगका नीतिहरुमा पनि अन्तरविरोधहरु उत्पन्न भएर संकट उत्पन्न हुन थाल्यो भने त्यसलाई हल गर्ने अर्को नीतिगत परिवर्तनको धार शक्तिशाली हुँदै आउँछ।’

यो प्रष्ट छ कि सांस्कृतिक क्रान्तिका कमि कमजोरीहरुप्रति गम्भिर दृष्टि नपु¥याई तंगका नीतिहरु र उनको व्यक्तित्वको लोकप्रियताबारे बुझ्न कठिन हुनेछ। त्यसरी नै कठिन हुनेछ, सांस्कृतिक क्रान्तिका उद्देश्यहरु असल हुँदाहुँदै पनि चीनकै धर्तीमा त्यो किन असफल हुन पुग्यो भन्ने बुझ्न।

भट्टजी भन्ने गर्नु हुन्थ्यो, ‘सांस्कृतिक क्रान्तिको उद्देश्य असल हुँदाहुँदै पनि त्यो अराजक हुन गयो।’

उद्देश्यको असलपनाले मात्रै सबै कुरा निर्धारण गर्दो रहेनछ। माक्र्सले भनेका थिए, ‘नरक जाने बाटो असल नियतले बनाइएको हुन्छ (द रोड टु हेल इज पेभ्ड वीथ गुड इन्टेन्सन्स्)। उद्देश्य प्राप्त गर्न कस्तो व्यवहार अपनाइन्छ, त्यसले त्यत्तिकै महत्व राख्ने रहेछ। र, सांस्कृतिक क्रान्तिको असफलताका कारणहरु यसै त्रुटिपूर्ण व्यवहारमा खोजिनु पर्दछ।

समकालीन सन्दर्भमा म भन्न चाहन्छु– थेसिस, एन्टिथेसिस र सिन्थेसिस (वाद, प्रतिवाद, संवाद) को प्रक्रियाबाट हाम्रा विचारहरुबीच संघर्ष, विकास र रुपान्तरण हुन्छ भन्ने मान्यता राख्ने हो भने माओकालीन नीतिहरु (थेसिस) को एन्टिथेसिस तंगका नीतिहरुलाई मान्न सकिन्छ र अहिले सिन्थेसिसको रुपमा सी चिनफिङका समकालीन नीतिहरुलाई लिन सकिन्छ। तर समय क्रममा सी चिनफिङका नीतिहरुको पनि एन्टिथेसिस तयार भयो भने आश्चर्य हुनेछैन। इतिहासको प्रगतिशील कदम कहिले अगाडि कहिले पछाडि, कहिले माथि कहिले तल हुँदै छालहरुको गतिमा अघि बढिरहेको हुन्छ र चीन त्यसको अपवाद हुन सक्दैन।

छ बर्ष अघि गोविन्द भट्टजीको स्मृति सभामा बोल्दा मैले उहाँका भनाईलाई आत्मसाथ गरिसकेको थिइन। राजदूतका रुपमा चीन गएर चार वर्षभन्दा बढी समय बिताउने अवसर पाएपछि उहाँका तर्कहरुमा अन्तरनिहित अर्थ बुझ्न थालेको हुँ। अहिले पनि उहाँ र मेरो सोच सबै मिल्छन् भन्ने होइन तर सतहबाट हेरेर चीनको इतिहास र विकासलाई बुझ्न सकिन्न भन्ने कुरामा म उहाँकै ठाउँमा पुगेको छु। दिमागका झ्याल ढोकाहरु खोलेर हेर्ने, पढ्ने, चिन्तन मनन गर्ने र गहिराइमा उत्रने बानीले मात्र हामीलाई यथार्थ नजिक पु¥याउँछ। चीनलाई बुझ्ने चुनौतिपूर्ण कार्यभारका लागि पनि यही सूत्र काम लाग्ने देख्छु। चिनियाँहरु भने माओ र तंग दुबैलाई सम्मान गर्छन् र उनीहरुका कमि कमजोरीहरुबारे सचेत हुँदै निश्चित कालखण्डहरुमा दुबैको अतुलनीय योगदान भएको मान्यता राख्दछन्।

२०६८ साल असोज ३ गते गोविन्द भट्टजीको निधन भयो। मैले प्रज्ञा प्रतिष्ठानको प्रांगणमा राखिएको उहाँको शवलाई अन्तिम पटक दर्शन गरेँ र शीर निहुराएर कृतज्ञ मनले उहाँले ममाथि र नेपाली समाजमाथि लगाउनु भएका गुणहरुको स्मरण गरेँ। आज उहाँ हुनु हुन्न तर उहाँको ओजपूर्ण र सरल व्यक्तित्वको स्मृति आफैंमा प्रेरणादायक छ।

संगीत श्रोताले भनेझैँ ‘उहाँको अनुपस्थितिमा सामाजिक रुपान्तरण गर्ने प्रक्रिया बीच बाटोमै अलपत्र परेको’ भान हुन्छ। तर छालहरुको गतिमा तल माथि हुँदै अघि बढ्ने इतिहासको मर्म बुझेका द्वन्द्ववादी गोविन्द भट्ट अवरोहपछि आरोहको पालो आउँछ भन्नेमा प्रष्ट थिए। नेपाली समाज विकास र परिवर्तनको लामो प्रक्रियाको एउटा कालखण्डमा उदाएका गोविन्द भट्टले आगतका दिनहरुमा पनि आफ्नो विचार र कर्मको प्रकाशले आउने सन्ततिहरुको मार्ग दर्शन गरि नै रहनु हुनेछ। हाम्रो समाजको गरिखाने वर्गले भट्टका कृतिहरुको अध्ययन गर्नेछ र आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्वप्रति सचेत हुँदै जानेछ भन्नेमा म विश्वस्त छु।

(‘सम्झनामा गोविन्द भट्ट’ स्मृति ग्रन्थबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .