विचार

Tata MotorsTata Motors

भारतीय आर्थिक मन्दीबाट नेपाल कसरी जाेगिने ?


विशाल चालिसे
काठमाडौं, भदौ १४

सन् २०१६ को नोभेम्बरमा नोटबन्दी घोषणासँगै भारतले ५ सय र १० हजारका नोटमाथि प्रतिबन्ध लगाएको थियो। तस्विर: रोयटर्स

‘हामीले भारतमा हुने गतिविधिलाई सुक्ष्म रुपमा अध्ययन गर्न आवश्यक छ। त्यहाँ हुने परिवर्तनले पार्ने सक्ने नाकारात्मक असरलाई कसरी न्युनिकरण गर्ने भनेर अध्ययन गर्न जरूरी छ।’

भारतमा आर्थिक मन्दी सुरु भयो भनेर चिन्ता व्यक्त हुँदै आएको छ। भारत सरकारले त्यसलार्ई रोक्ने भन्दै केही कदम पनि चालेको छ। पछिल्ला वर्षहरूमा भारतको अर्थतन्त्र विस्तार भइरहेको छ। अहिलेको अवस्था आर्थिक वृद्धिको मन्दी हो। सुरुमा भारतले वृद्धिदर ७ प्रतिशत प्रक्षेपण गरेको थियो। त्यो नहुने भएपछि ६.९ प्रतिशत नभएर ६.४ प्रतिशत हुँदै ६ प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ। पहिलो तीन महिनमा ५ प्रतिशत वृद्धिदर देखिएको छ। भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतकै हाराहारीमा रहँदै आएको थियो। अरविन्द सुब्रमण्डयमसहितका अर्थशास्त्रीहरुले यही वृद्धिदर पनि सही होइन भनेर शंका गरेका छन्।

आर्थिक मन्दी हुन अर्थतन्त्रको आकार नै घट्नुपर्ने हुन्छ। जस्तो : २००८ मा अमेरिकासहित पश्चिमा देशहरुमा त्यो अर्थतन्त्र संकुचित भएको थियो। वृद्धिदर घटे पनि अहिले पनि भारतको अर्थतन्त्र विस्तार हुँदै गएको छ। त्यसैले यसलाई मन्दी भनेर भन्न मिल्दैन। प्राविधिक रुपमा मन्दी हुन लगातार दुई त्रैमासमा कूल गार्हस्थ्य उत्पादन ऋणात्मक हुनुपर्छ। यसले गर्दा अर्थतन्त्रको आकार नै साँघुरिन्छ। जस्तो : नेपालमा करिब ३४ खर्बको अर्थतन्त्र छ। यदि यो घटेर अर्को वर्ष ३३ खर्बको भयो भने त्यो मन्दी हो। त्यही भएर अहिले भारतको अर्थतन्त्रमा देखिएको तरंग मन्दी होइन। तर अहिले जसरी आर्थिक वृद्धिदर घट्दै गएको छ त्यसले भारतलाई मन्दीसम्म नपु¥याउला भन्न सकिँदैन।

भारत सरकारले त्यसलाई रोक्न कदम पनि चालेको छ। तर यो केवल अहिले सुरू भएको समस्या होइन, सन् २०११ देखिकै हो। यसमा भारतीय अर्थशास्त्रीहरूसमेत सहमत छन्। यो एक्कासि झड्का दिने गरी आएको होइन। वृद्धिदरको समस्या बिस्तारै चुलिएको हो। नरेन्द्र मोदीले गरेको नोटबन्दीले भारतीय अर्थतन्त्रको समस्या अझै तीव्र बनायो। भारतीय अर्थतन्त्रमा ठूलो हिस्सा अनौपचारिक क्षेत्रको छ। रोगजारीको ठूलो हिस्सा पनि तिनै क्षेत्र रहेका छन्। त्यहाँ ८५ प्रतिशत कारोबार नगदमै हुने गरेकाे थियो। लामो समयसम्म नोटबन्दी हुँदा त्यसको शृ‌‌ङखलाबद्ध असर अर्थतन्त्रमा पर्यो। गत चुनावमा यो विषय मुद्दा बन्नै लागेको थियो तर पुलवामा आक्रमण भएपछि चुनावी मुद्दा अर्थतन्त्रबाट राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा पुग्यो। अहिले त्यो विषय केही सेलाएपछि अर्थतन्त्रको संकटबारे भारतमा छलफल सुरु भएको छ।

भारतको अर्को समस्या भनेका वित्तीय क्षेत्रको समस्या हो। वाणिज्य बैंकहरु समस्यामा छन्। आजै मात्रै भारत सरकारले सार्वजनिक बैंकहरुलाई मर्जरमा लैजाने घोषणा गरेको छ। तर त्यसले पनि समाधान दिँदैन। एउटा बैंक मात्रै होइन, सबै बैंकमा त्यस्तै समस्या छन्। भारतीय बैंकहरुमा १० प्रतिशतसम्म नन पर्फमिङ एसेस्ट (एनपीए) छ। जबकि एनपीए नेपालमा दुई प्रतिशतको हाराहारीमा मात्रै रहेको छ। केन्द्रीय बैंकले ऋणको संकटलाई कम गर्न केही प्रयास गरेको छ तर तिनका कारण पूर्ण रुपमा पहिचान भइसकेका छैनन्।

कुन मितिमा कुन क्षेत्रका समस्याका कारण आर्थिक वृद्धिदर घट्यो भनेर पहिचान गर्न अत्यन्त गाह्रो हुन्छ। आपूर्ति वा माग कुन कारक तत्व हो यो पहिचान हुन सक्यो भने त्यसैअनुसार उपचार हुन्छ। चीन र भारत दुई ठूला अर्थतन्त्र भए पनि तिनको प्राकृति फरक प्रकारको छ। चीनको अर्थतन्त्र बढी निर्यातमुखी छ। अमेरिका वा पश्चिममा के हुन्छ भन्ने विषयले चीनलाई बढी प्रभावित पार्छ । तर भारतको अर्थतन्त्र चीनको जति निर्यातमुखी होइन। अर्थतन्त्रमा निर्यातको भूमिका नभएको होइन तर मध्यम वर्ग नै त्यहाँको अर्थतन्त्रको प्रमुख आधार हो।

भारतीय अर्थतन्त्र डगमगाउनुको कारण आपूर्ति क्षेत्रको समस्या हो भने उत्पादनको क्षेत्रलाई सुविधा दिएर त्यसलाई सजह रुपमा समाधान गर्न सकिन्छ। तर मागमै समस्या हो भने त्यो धेरै चुनौतिपूर्ण हुन्छ। झनै गम्भीर समस्या हुन्छ। माग हुँदैन भन्ने स्थितिमा नयाँ लगानी आउँदैन। यसको चेन इफेक्ट हुन्छ। मागै नहुने हो भने कसले उत्पादन गर्छ?

धेरैले चीन र अमेरिकाको व्यापारयुद्धबाट भारतले फाइदा लिन्छ भन्ने ठानेको अवस्थामा यो मन्दीको विषय उठिरहेको छ। हो भारतले त्यसबाट पनि फाइदा लिन सकेन। अमेरिका र भारतबीच आफैँमा व्यापार युद्ध छ। चीन र अमेरिकाबीच व्यापारिक तनाब बढ्दा ठूलो अर्थतन्त्र भएको भारतजस्तो बजार विकल्प हुनसक्थ्यो। तर उसले निर्यात मापदण्डअनुसार आफ्नो उत्पादन बनाउन सक्नुपर्छ। चीनले जुन सामग्री बेच्थ्यो त्यो भारतले उत्पादन गरेर बेच्न सकेको भए फाइदा हुन्थ्यो। जस्तो चीनले अमेरिकाबाट भटमास मगाउथ्यो। अमेरिकासँग व्यापारिक तनाब बढ्दै गएपछि चीनका लागि भारतका लागि भटमास बेच्ने अवसर हुनसक्थ्यो। तर भारतले त्यो बजार लिन सकेन, चीनले ब्राजिलबाट मगायो।

नेपाल कसरी जोगिन सक्छ?

भारतसँग हाम्रो राजनीति, सांस्कृति मात्रै होइन ठूलो आर्थिक सम्बन्ध रहेको छ। भारतमा विकसित हुने घटनाक्रम र उथलपुथलबाट नेपाल चोखो रहन सक्दैन। हाम्रो आयात निर्यातको दुई तिहाइ हिस्सा भारतसँग जोडिएको छ। भारतसँग व्यापार घाटा ठूलो भए पनि निर्यातका ५० प्रतिशत अंश भारतसँगै हो। त्यसैले भारतमा माग कम भयो भने त्यसको असर हाम्रा उद्योग व्यवसायमा सिधै पर्नेछ।

अर्कोतर्फ भारतका विभिन्न शहर तथा राज्यहरुमा प्रत्येक वर्ष लाखौ नेपाली काम गर्न जान्छन्। खेतीपाती गरेर बाँकी रहेको समयमा काम गरेर केही रकम पनि जम्मा गर्छन्। तर भारतमा मन्दी भयो भने कामदारको माग हुँदैन। भारतीय मुद्रा कमजोर हुँदा पनि हामीलाई समस्या पर्छ। भारतीय मुद्रासँग हाम्रो स्थिर विनियम दर रहेको छ। यसले गर्दा  रेमिट्यान्स रकम बढ्न सक्छ। तेस्रो मुलुकतर्फको निर्यात बढाउन नेपाललाई अवसर हुनसक्छ। तर हाम्रो आयातमुखी अर्थतन्त्र हो। त्यसैले हामीले बाहिरबाट किनेर ल्याएको बस्तु महँगो पर्छ।

हामीले भारतमा हुने गतिविधिलाई सुक्ष्म रुपमा अध्ययन गर्न आवश्यक छ। त्यहाँ हुने परिवर्तनले पार्ने सक्ने नाकारात्मक असरलाई कसरी न्युनिकरण गर्ने भनेर अध्ययन गर्न जरूरी छ। त्यसर्तफ सोच्नु पर्छ। ठूलो अर्थतन्त्र भएको भारत समस्यालाई पार लगाएर आफू अघि बढ्न सक्छ तर त्यसले सानो अर्थतन्त्र भएको देशमा धेरै समस्या पार्न सक्छ। 

(नीति फाउन्डेसनका अनुसन्धानकर्ता विशाल चालिसेसँगको कुराकानीमा आधारित)

ट्विटर: @bishalkchalise

भदौ १४, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors