बितेको वर्ष सदाका लागि चीनसँग जोडिएर रहनेछ। किनभने त्यही साल धेरै मानिसले चीनसम्बन्धी स्पष्ट धारणा बनाए। त्यसअघि पनि उदाउँदो शक्तिका रुपमा चीनले अमेरिकी प्रभुत्व र लोकतान्त्रिक मान्यताहरुलाई चुनौती दिएर पश्चिमा विश्वमा भय उत्पन्न गरिसकेको थियो। तर, यो वर्ष थुप्रैका लागि चीन भयानक खतराका रुपमा स्थापित भयो।
कोरोना भाइरसको विश्वव्यापी महामारी चीनले जानीबुझी निम्त्याएको प्रलय थिएन। तर, डिसेम्बर २०१९ मा रहस्यमयी निमोनियाजस्तो बिमारी पहिलो पटक फेला परेको ठाउँ चीन नै थियो। हरेक चीजलाई गुप्त राख्ने संस्कृतिका कारण सरकारी अधिकारीहरुले यो रोगको जोखिमलाई सुरुमा कम आक्ने गल्ती गरे। प्रकोपको खबरलाई उनीहरुले दबाए। जनवरीमा पुगेर मात्रै उनीहरुले यो संकटको वास्तविक स्तरलाई स्वीकार गरे। त्यसपछि पनि पश्चिमका केही विश्लेषकहरु सोचिरहेका थिए– कतै यो नयाँ कोरोना भाइरसले कम्युनिस्ट पार्टीमाथि नै खतरा त निम्त्याउँदैन? फेब्रुअरीमा कोभिड–१९ को खुलासा गर्ने डाक्टरको मृत्यु भयो। त्यसले चीनमा आक्रोशको लहर पैदा गर्यो। जसले पक्कै पनि चिनियाँ नेताहरुमा असहजता पैदा गरेको हुनुपर्छ।
तर, आश्चर्यको कुरा कोभिड युगमा चीनको राजनीतिलाई बाधा गर्नेगरी कुनै जनआक्रोश पैदा भएन। न त महामारीको रोकथाम कसरी गर्ने भन्ने विषयमा नेतृत्वबीच कुनै फाटो नै उत्पन्न भयो। जे जसो भएपनि कम्युनिस्ट पार्टी एक वर्षअघिको भन्दा बलियो भएको छ। र पार्टीप्रतिको जनविश्वास अझ बढेको छ।
गत जनवरीसम्म महामारीलाई लिएर कम्युनिस्ट पार्टीमा केही हिचकिचाहट र दुविधा थियो। तर, जनवरीको अन्तिमदेखि चीनले रोगलाई नियन्त्रणमा राख्ने मात्रै होइन, पुरै समाप्त पार्ने उदेश्यले सम्पूर्ण शक्ति परिचालन गर्यो। र, यो लक्ष्य प्राप्त गर्न चीन सफल पनि भयो। जसले गर्दा लगभग सामान्य जनजीवन कायम राख्न यो मुलुक सफल भयो। यो सफलता पार्टीका प्रचारकहरुका लागि दैवी चमत्कार नै साबित भयो।
महामारीका कारण पश्चिमा मुलुकहरुको अवस्था दयनीय बनिरहँदा चीन र पश्चिमा मुलुकबीच देखिएको फरकलाई प्रकट गर्न कुनै झुठको खेती आवश्यक थिएन। कम्युनिस्ट पार्टीको प्रयासका कारण उसको राजनीतिक पकड थप बलियो बनाउन मद्दत पुग्यो। यही मौकामा पार्टीले तल्लो तहका संगठनहरुलाई पुनर्जीवन दियो।

कम्युनिस्ट पार्टीले हङकङमा अर्को अतिरिक्त लाभ प्राप्त गर्यो। जुन २०१९ देखि हङकङमा सरकारविरोधी प्रदर्शन चल्दै आएको थियो। त्यसलाई रोक्न महामारीले राम्रो मौका उपलब्ध गरायो। कोभिडका कारण सार्वजनिक जमघटमा प्रतिबन्ध र भीडमा जाँदा हुने स्वास्थ्यसम्बन्धी चिन्ताका कारण सडक शान्त राख्न सहयोग पुर्यो। व्यापक धरपकडले पनि त्यसलाई मद्दत गर्यो। यसमा अन्तिम धक्का भने जुन महिनाको अन्त्यमा लाग्यो। चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गर्यो, जसको अनुमान हङकङमा चीनको कसिँदो नियन्त्रण देखेका थुप्रैले गरिसकेका थिए।
हालसम्म यो कानुनको प्रयोग सिमित मात्रामा मात्र गरिएको छ। तर, त्यसबाट उत्पन्न त्रास भने व्यापक छ। कुनै समय हङकङ राजनीतिक रुपले उदार संस्कृति भएको स्थान मानिन्थ्यो। तर, यो कानुनले त्यसलाई चीनभित्रको कुनै एक सहरमा बदल्न थालेको छ। जहाँ कम्युनिस्ट पार्टीको स्पष्ट नियन्त्रण रहन्छ।
सायद चीनका कट्टर नेता सी चिनफिङ यही चाहन्थे। तर, हङकङमा कम्युनिस्ट पार्टीको यो सफलताले सीको अर्को लक्ष्यमा भने धक्का लागेको छ। चीनले भन्दै आएको थियो– हाम्रो उदयबाट डराउनुपर्ने कुनै कारण छैन। चीनको तानाशाही राजनीतिक व्यवस्थाले अन्यत्र मानिसको जीवनमा कुनै जोखिम पैदा गर्दैन। तर, राष्ट्रिय सुरक्षा कानुनले पश्चिमलाई जोडदार धक्का दिएको छ। यसले अमेरिकाका राजनीतिक नेताहरुलाई ठूलो हतियार दिएको छ– रिपब्लिकन र डेमोक्रेट्स दुवैलाई। जो चीनसँग दुश्मनको जस्तो व्यवहार गर्न चाहन्छन्। जसरी ट्रम्प प्रशासनले चीनसँग व्यवहार गर्दै आएको छ, त्यसैलाई अपनाउन उनीहरु चाहन्छन्।
नोभेम्बरको अमेरिकी राष्ट्रपतीय निर्वाचन जो बाइडेनले जितेकोमा चिनियाँ नेताहरुले केही हदसम्म शान्तिको सास फेरेको हुनुपर्छ। चिनियाँ नेताहरु बाइडेनलाई बढी स्थिर र चीनसँग सहकार्यका लागि इच्छुक नेताका रुपमा हेर्छन्। कमसेकम जलवायु परिवर्तन र विश्व स्वास्थ्यका विषयमा सहकार्य कायम रहने उनीहरुको अपेक्षा छ। तर, सीको निष्ठुरताबाट रिपब्लिकनहरुझैँ डेमोक्रेटहरु पनि निराश छन्। जुन गत वर्ष सिन्झियाङमा भएको मानवअधिकार उल्लंघनका घटनाहरुबाट थप प्रमाणित भयो। बाइडेनको विजयले शान्तिको नयाँ युग सुरु होला भन्ने अपेक्षा बेइजिङमा छैन।
पक्कै पनि अमेरिकाबाट हेर्दा सन् २०२० मा चीनको वास्तविक चरित्र उदांगो भयो। राजनीतिक रुपले चीन गत वर्ष पहिलेभन्दा थप दमनकारी बन्यो। आर्थिक रुपले चीन आफैँतिर फर्कियो। र, उसको बाह्य व्यवहार पहिलेभन्दा धेरै आक्रामक रह्यो। उसले ताइवाननजिक लडाकु जेटको ताँती पठायो। हिमालमा भारतीय सैनिकहरुसँगको भीडन्तमा कयौँको ज्यान गयो। कोभिड–१९ को उत्पत्तिका सम्बन्धमा छानबिन माग गर्ने तथा अन्य कारणले अस्ट्रेलियामाथि व्यापारिक प्रतिबन्धहरु लगायो।
सन् २०२० मा ‘वुल्फ वारिअर डिप्लोमेसी’ पदावली पनि विश्वभर चर्चित भयो। चिनियाँ विदेश मन्त्रालयको आक्रामक कूटनीतिक अभिव्यक्ति र तौरतरिकालाई यसले जनाउँछ (यो पदावली भने चिनियाँहरुमाझ लोकप्रिय फिल्मबाट लिइएको हो)। सीले सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने घोषणा गरे। त्यस्तै महामारीसँग जुध्न अन्य मुलुकहरुलाई चीनले सघायो। तर, सीका यी सकारात्मक कामले चीनप्रतिको पश्चिमको विश्वास फर्काउन सकेन। सन् २०२० मा सीले घरेलु राजनीतिक लडाइँ जितेपनि बाह्य सम्बन्धमा सफलता भने सुनिश्चित गर्न सकेनन्।

प्रतिक्रिया