विचार


उप-प्राध्यापक परीक्षाको नतिजाले उब्जाएका केही प्रश्न

उप-प्राध्यापक परीक्षाको नतिजाले उब्जाएका केही प्रश्न

अजित राई
पुस १६, २०७७ बिहिबार १३:२,

त्रिवि सेवा आयोगले कात्तिक २६ गते विभिन्न संकायअन्तर्गतका विभिन्न विषयहरुको परीक्षाको नतिजा प्रकाशित गर्‍यो। धेरै परीक्षार्थीहरु अनुत्तीर्ण भए। कतिपय विषयमा एक जना पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन्। धेरै विषयमा निर्धारित कोटाभन्दा कम संख्यामा परीक्षार्थी उत्तीर्ण भए। त्रिवि सेवा आयोगले सञ्चालन गर्ने उप-प्राध्यापक पदको परीक्षाको इतिहासमा  सम्भवतः यो पहिलो घटना हो।

चरम राजनीतिकरणको सिकार बन्न पुगेको चरणको त्रिवि सेवा आयोग र कम रुपमा र सूक्ष्म  अवलोकनद्वारा मात्र थाहा पाउन सकिने तरिकाले राजनीतिकृत अहिलेको त्रिवि सेवा आयोगबीचको निष्पक्ष ढंगले परीक्षा सञ्चालन गर्ने क्षमतामा आधारित भिन्नतालाई यस नतिजाले छर्लङ्ग पारेको छ। यस अप्रत्याशित नतिजाले त्रिविसँग कुनै न कुनै रुपले आवद्ध र त्रिविसँग कुनै न कुनै रुपले सरोकार राख्ने मानिसहरुमाझ बहस सिर्जना गरेको छ। यस बहसमा संलग्न व्यक्तिहरुको तर्कहरुलाई सरसर्ती हेर्दा तिनीहरुबाट पाँच वटा सार खिच्न सकिन्छ।

पहिलो , यसपालीको परीक्षा निष्पक्ष भएको छ। दोस्रो, त्रिविले उत्पादन गरेका जनशक्तिको बौद्धिक क्षमतामाथि नै प्रश्न गर्न सकिने आधार यस नतिजाले दिन्छ। तेस्रो, यस नतिजाले त्रिवि सेवा आयोगको परम्परागत शिक्षक छनौट प्रक्रियाको प्रभावकारितामाथि प्रश्न गर्ने ठाउँमा हामीलाई लैजान्छ। चौथो, बुँदागत लेखाइ वा लोकसेवा शैलीको लेखाइ त्रिवि सेवाको उप-प्राध्यापकको परीक्षामा उत्तीर्ण हुने सूत्र हो। वर्णनात्मक, आलोचनात्मक, विश्लेषणात्मक र बढी प्राज्ञिक प्रकृतिको लेखाइ त्रिवि सेवा आयोगको परीक्षामा सफलता हासिल गर्ने लक्ष्यको बाधक हो। र पाँचौं , राजनीतिक आडमा प्राज्ञिक दरित्रताको बाबजुद आदर्श प्राज्ञिक वातावरणमा बौद्धिक रुपमा अत्यन्तै चुनौतीपूर्ण मानिने प्राध्यापकीय पदमा पुगेकाहरुले त्रिवि सेवा आयोगको निष्पक्ष रुपमा परीक्षा सञ्चालन गर्ने नीतिको चलाखीपूर्ण तरिकाले प्रयोग गरेका रहेछन् र पैसा लिएर पास गराउने अनैतिक कार्यलाई निरन्तरता दिएका रहेछन्।

यी पाँचै तर्क न त पूर्ण रुपमा सही छन् न त पूर्ण रुपमा गलत नै। मैले यस लेखमा यी तर्कहरुलाई खासगरी समाज विज्ञान र मानविकी संकायसँग सम्बन्धित विषयहरुको सन्दर्भमा केलाउने प्रयत्न गरेको छु।

पहिलो तर्कलाई हेरौं। यसपालीको परीक्षा धेरै हदसम्म निष्पक्ष भएको तथ्य अकाट्य हो। आफ्नो पहिचानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संकेत गर्ने फोन नम्बर लगायतका संकेतहरु भएका उत्तरपुस्तिकाहरुलाई रद्ध गरिएको छ। यसलाई पनि परीक्षाको निष्पक्षताको एउटा प्रमाणको रुपमा लिन सकिन्छ। तर आदर्श परीक्षकहरु पाइने आदर्श प्राज्ञिक जगतमा मात्र यो प्रमाणले यसपालीको परीक्षाको निष्पक्षताको पुष्टि शतप्रतिशत गर्दछ। तीतो सत्य के हो भने त्रिविमा अझै पनि यस प्रकारको आदर्श प्राज्ञिक वातावरण छैन। विगत साढे चार वर्षदेखिको केन्द्रीय विभागमा अतिथि शिक्षकका रुपमा रहँदा मैले केही यस्ता प्राध्यापकहरुलाई नजिकबाट राम्ररी चिन्ने अवसर पाएँ, जो  प्राज्ञिक रुपमा मात्र दरिद्र छैनन्, नैतिक रुपमा पनि यति भ्रष्ट छन् कि उनीहरु कामचलाउ शोधपत्र पनि लेख्न नसक्ने र जसरी  पनि स्नातकोतर तहको पढाइ सफलतापूर्वक अन्त्य गर्नु पर्दछ भन्ने मानसिकता बोक्नेहरुबाट आर्थिक उपहार लिनेसम्मको काम गर्छन्। अंग्रेजी पत्रिका रिपब्लिकामा 'त्रिवि मृत छ', 'मैले किन त्रिवि मृत छ भनेँ?', ‘त्रिविलाई बौद्धिक रुपमा कसरी ब्युँत्याउँने?’ र 'त्रिविको प्रशासनिक देहावसान' जस्ता मेरा लेखहरु प्रकाशित भएपछि एक जना प्राध्यापकले मलाई बारम्बार भन्ने गर्थे, 'यो फलानो विभागको फलानो उप/सह/प्राध्यापकले थेसिस पास गराउन यति रकम लिए। अर्को फलानो विभागको फलानो उप/सह/प्राध्यापकले फलानो उप-प्राध्यापकको परीक्षामा फलानो परीक्षार्थीलाई यति रकम लिएर पास गरायो। राईजी, हेर्दै जानुहोस्, उसले काठमाडौँमा निकट भविष्यमै घर बनाउने छ।' अप्राज्ञिक र अनैतिक व्यवहार गर्दा रमाउने स्वभावका केही उप/सह/प्राध्यापकहरु त्रिवि अन्तर्गत अझै छन् भन्ने पुष्टि गर्ने यस्ता कयौं दृष्टान्त छन्।

 केही परीक्षार्थीहरुले उत्तरपुस्तिकामा परीक्षकलाई आफ्नो पहिचानको संकेत गर्न प्रयास गरेको र तिनीहरुका   उत्तरपुस्तिकाहरुलाई रद्ध गरेको त्रिवि सेवा आयोगले पुष्टि गरेको छ। यसबाट यो पनि स्पष्ट हुन्छ कि यसपालीको परीक्षामा पनि माथि मैले उल्लेख गरेका प्रकारका कम्तीमा पनि केही प्राध्यापकहरु परीक्षकको रुपमा सामेल भए। यस्ता प्राध्यापकहरुसँगको मिलेमतोमा मात्र परीक्षार्थीहरुले उत्तरपुस्तिकामा संकेत छाड्ने काम गर्दछन्। आयोगको उत्तरपुस्तिका परीक्षण नियमले यस्ता प्राध्यापकहरुलाई एउटा स्तरमा अमर्यादित ढंगले उत्तरपुस्तिका परीक्षण गर्ने कामबाट निश्चित रुपमै बन्चित त गरायो। तर तार्किक रुपमा चिन्तन गर्दा के स्पष्ट हुन्छ भने ती व्यक्तिहरुलाई यस्तो काम गर्नबाट आयोगले पूर्ण रुपमा बन्चित गराउन सक्दैन।

कुनै परीक्षार्थीले यस्ता प्राध्यापकहरुलाई आफ्नो उत्तरपुस्तिकामा फोन नम्बर वा अन्य कुनै पनि प्रकारको आयोगको आँखा सीधै पर्न सक्ने खालको संकेत नलेखिकन कुनै प्रश्नको उत्तरको अन्तिम तीन वा दुई शब्दहरु जानकारी गराएर पनि आफ्नो उत्तरपुस्तिका चिनाउन सक्छ। कुनै पनि उत्तरपुस्तिका एक जनाले मात्र परीक्षण नगर्ने हुनाले यो चोर बुद्धि तब मात्र फलदायी हुन्छ जब उसको उत्तरपुस्तिका परीक्षण गर्ने सबै परीक्षकहरुसँग उसले राजनीतिक आडमा वा आर्थिक उपहारको जगमा आफ्नो बनाउन सफल हुन्छ। त्रिविमा सबै प्राध्यापकहरु खराब नैतिक चरित्रका नभएका हुनाले यो चोर बुद्धिबाट उप-प्राध्यापकको परीक्षामा उत्तीर्ण हुने सम्भावना समग्रमा न्यून छ। यद्यपि यो पूर्ण रुपमा असम्भव भने छैन। राम्रो लेखेर पनि अनुत्तीर्ण भएको वा  सम्बन्धित विभागमा भएका भ्रष्टाचार वा सम्बन्धित विभागका कुनै अनैतिक चरित्रका उप/सह/ प्राध्यापकले त्रिविअन्तर्गत गरेको अन्य  कुनै पनि प्रकारको भ्रष्टचारसम्बन्धी तथ्यलाई बाहिर ल्याउनबाट रोक्न अनुत्तीर्ण गराइएको परीक्षार्थीले उजुरी दिन सक्छ। त्यसबेला स्वतन्त्र विज्ञ समूह गठन गरेर उत्तीर्ण परीक्षार्थीको उत्तरपुस्तिका र उसको उत्तरपुस्तिकाको पुनर्मूल्यांकन गराउने व्यवस्था त्रिवि सेवा आयोगले गरेमा मात्र अनैतिक चरित्रका परीक्षकहरुले गर्ने चलखेलको दायरालाई घटाउन सकिन्छ।

अनैतिक चरित्रका प्राध्यापकहरुले त्रिवि सेवा आयोगको परीक्षालाई पूर्ण रुपमा निष्पक्ष हुनबाट रोक्ने अर्को तरिका प्रश्नपत्रको चुहावट हो। केही परीक्षार्थीहरुले यस्ता प्राध्यापकहरुसँग राजनीतिक पहुँच वा आर्थिक उपहारमा आधारित निकटतम सम्बन्ध स्थापित गरेर कम्तीमा पनि सम्भावित प्रश्नहरुको संकेतहरु प्राप्त गर्न सक्दछन्। उत्तीर्ण हुनेहरुमध्ये केहीले यस्ता संकेतहरु निश्चित रुपमा पाएका थिए। त्रिवि सेवा आयोगले परीक्षामा सोधिने प्रश्नहरुको कुनै पनि रुपको चुहावट नहोस् भन्ने प्रशासनिक प्रयास गरे तापनि यस्ता प्राध्यापकहरुको अनैतिक व्यवहारले सो प्रयासलाई असफल पारिदिन्छ। यसबाट पाँचौं तर्क केही हदसम्म वैध छ भन्ने तार्किक रुपमा प्रमाणित हुन्छ।

अब दोस्रो तर्कलाई हेरौं। अघिल्ला परीक्षाहरुमा कम्तीमा निर्धारित कोटा बराबर वा सोभन्दा बढी संख्यामा परीक्षार्थीहरु लिखित परीक्षामा पास हुने गर्थे। तर यसपाली कुनै विषयमा एक जना पनि उत्तीर्ण नभएको, अधिकांश  बिषयहरुमा निर्धारित कोटाभन्दा कम संख्यामा परीक्षार्थीहरु उत्तीर्ण भएको अवस्था छ। अनुत्तीर्ण परीक्षार्थीहरु वास्तबमा विश्वविद्यालय स्तरमा प्राध्यापन गर्न सक्षम नभएर नै अनुत्तीर्ण भएका हुन् भन्ने कतिपयको तर्क छ। लोक सेवा आयोगले लिने परीक्षाभन्दा आधारभूत रुपमा फरक नभएको त्रिवि सेवा आयोगले संचालन गर्ने परीक्षालाई विश्वविद्यालय स्तरमा प्राध्यापन गर्ने क्षमताको एउटा मापक मान्न सकिन्छ। तर यो विवादरहित मापक भने निश्चित रुपमा होइन। अहिले विद्यमान उप-प्राध्यापक छनौट प्रक्रियाको अवैज्ञानिकता सोही प्रक्रियाद्वारा छनौट भई त्रिविमामा हाल प्राध्यापनरत र अहिले कोर्समा आधारित विद्यावारिधि गरिरहेका ग्रामीण विकासका विद्यार्थीहरुलाई मिसेल फुको, एन्टोनिओ ग्राम्सी र कार्ल मार्क्सका आधारभूत विचारबारे मैले लिएको ६ घण्टा लामो अतिथि कक्षामा उनीहरुले मसँग  प्रकट गरेको जटिल सैद्धान्तिक जालोभित्र हराउँदाको मानसिक पीडा र सम्बन्धित प्राध्यापकले सैद्धान्तिक रुपमा चुनौतीपूर्ण त्यो कक्षा मलाई लिन विशेष आग्रह गर्नुले पनि पुष्टि गर्छ। यस तथ्यले तेस्रो तर्कमा केही दम छ भन्ने देखाउँछ।

प्राध्यापक बन्ने क्षमताका सम्भावित वैज्ञानिक मापदण्डहरुसम्बन्धी समुन्नत आलोचनात्मक बुझाइद्वारा निर्देशित भएर चिन्तन गर्दा सम्पूर्ण अनुत्तीर्ण परीक्षार्थीहरु प्राध्यापक बन्न लायक छैनन् भन्ने निष्कर्षलाई शत प्रतिशत सही मान्न सकिन्न। विश्वविद्यालय स्तरमा पढाउन सक्षम हुन मूलभूत रुपमा दुई प्रकारका क्षमता आवश्यक पर्दछ। पहिलो जटिल लिखित प्राज्ञिक भाषिक प्रस्तुति भित्र जटिल रुपमा व्यक्त गरिएका जटिल तर्कहरुलाई छिटो र सही तरिकाले बुझ्न सक्ने क्षमता हो। दोस्रो  सापेक्षिक रुपमा छोटो समयमा आफ्नो  मौलिक आलोचनात्मक विश्लेषण उत्पादन गर्न सक्ने क्षमता हो। तर त्रिवि सेवा आयोगले लिने लिखित परीक्षाले यी दुई क्षमताहरुको वैज्ञानिक ढंगले परीक्षण गर् तिर ध्यान दिँदैन। विश्लेषणात्मक, आलोचनात्मक, सिर्जनात्मक  उत्तरको माग गर्ने प्रश्नहरु सोधिए तापनि त्यस्ता प्रश्नहरुको उत्तर परीक्षण गर्दा विश्लेषणात्मक, आलोचनात्मक र सिर्जनात्मक  कुराभन्दा बुँदागत र तथ्यगत कुराहरुलाई प्राथमिकता दिने आम प्रवृत्ति छ। चौँथो तर्क पूर्ण रुपमा मनगढन्ते होइन भन्ने यसले देखाउँछ।

कार्ल मार्क्सले मार्क्सवादी सिद्धान्तकार कार्ल काउत्स्की तथ्यांकीय ज्ञानले सुसज्जित तर तथ्यांकीय ज्ञानबाट महत्वपूर्ण विचारहरु पैदा गर्न नसक्ने औसत बौद्धिक क्षमताको व्यक्तिको रुपमा आफ्नो छोरी जेनीलाई पठाएको पत्रमा चित्रित गरेका थिए। सामान्यतया त्रिविका परीक्षकहरु ‘मार्क्स बौद्धिक प्रवृत्ति’का नभई ‘काउत्स्की बौद्धिक प्रवृत्ति’का  भएकाले चौथो तर्क अस्तित्वमा आएको हो। चौथो तर्कलाई बलियो पार्ने अर्को ऐतिहासिक तथ्य पनि यहाँ स्मरणयोग्य छ। बीसौं शताब्दीका एक महान दार्शनिक लुडविग विट्गन्स्टाइनले आफ्ना गुरु बर्ट्रेन्ड रसेललाई आफू महामूर्ख हो या होइन भन्ने बताई दिन आग्रह गरे। विट्गन्स्टाइनले आफू महामूर्ख प्रमाणित भएमा दर्शनशास्त्र नपढ्ने प्रतिबध्दता रसेल सामु व्यक्त गरे। रसेलले विट्गन्स्टाइनको महामूर्खता प्रमाणित/अप्रमाणित गर्न कुनै दार्शनिक विषयमा निबन्ध लेख्न लगाए। रसेलले विट्गन्स्टाइनको निबन्धको पहिलो वाक्य पढ्नेबित्तिकै तिमी महामूर्ख होइनौ भने। रसेलको गैर-तथ्यांकीय/सैद्धान्तिक मूल्यांकन सही थियो भन्ने कुरा  पछि  विट्गन्स्टाइन एक प्रभावशाली दार्शनिक हुनुले प्रमाणित गर्दछ। त्रिविमा रसेल जस्तै एउटा वाक्य पढेर सैद्धान्तिक क्षमताको अनुमान गर्न सक्ने परीक्षकहरुको बाहुल्यता भइदिएको भए सायद चौथो तर्क अघि सारिँदैनथ्यो होला।

तेस्रो तर्कलाई केही महत्वपूर्ण ऐतिहासिक तथ्यहरुले पनि बल प्रदान गर्दछ। सन् १८८९ मा बीसौं शताब्दीका महान दार्शनिक, गणितिज्ञ  र साहित्यकार बर्ट्रेन्ड रसेल गणितका विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिको परीक्षामा अनुत्तीर्ण भएका थिए। ए. एन. ह्वाइटहेड छात्रवृत्ति समितिका प्रमुख थिए। उनले समितिको बैठकमा उत्तीर्ण परीक्षार्थीको लब्धाङ्क पत्र जलाई दिए र रसेललाई छात्रवृत्ति दिने एकल निर्णय गरे। उनको गहिरो मूल्यांकनमा उत्तीर्ण परीक्षार्थी भन्दा रसेल गणितमा धेरै अब्बल थिए। उनको मूल्यांकन सही थियो भन्ने कुरा रसेल र उनी मिलेर लेखिएको 'प्रिन्सिपिअ म्याथम्याटिका' नामक विशाल मौलिक गणितीय कृतिको प्रकाशनले पनि पुष्टि गर्दछ। यो पुस्तक यति मोटो थियो कि यसको पाण्डुलिपिलाई  ठेलामा राखेर छापाखाना लागिएको थियो। आर्थिक चिन्तनको इतिहासमा सबैभन्दा प्रभावशाली तीन चिन्तकहरुमध्ये एक जोन मेनार्ड किन्स लोकसेवा परीक्षा अन्तर्गत अर्थशास्त्र विषयमा अनुत्तीर्ण  भएका थिए। अनुत्तीर्ण भएपछि उनको  उनले दिएको प्रतिक्रिया थियो, 'मलाई अर्थशास्त्रको बारेमा  मेरो परीक्षकभन्दा बढी  थाहा छ।' त्रिवि सेवा आयोगको मूलभूत रुपमा लोक सेवा शैलीको परीक्षाले सम्भावित रसेल र किन्सजस्ता उम्मेदवारहरुको क्षमता परीक्षण गर्न सक्दैन।

आफैँमा अपूर्ण विषयगत र वस्तुगत प्रश्नहरुको तोडमोडले उप-प्राध्यापकको कम प्रभावकारी लिखित परीक्षाको प्रभावकारिता झन् घटाएको छ। आलोचनात्मक, विश्लेषणात्मक र सिर्जनात्मक प्रकृतिका वस्तुगत प्रश्नहरु सोध्नु पर्ने नियम भएता पनि व्यवहारमा २० वटै वस्तुगत प्रश्नहरु  तथ्यगत प्रकृतिका हुन्छन्। त्रिवि  सेवा आयोग विषय विज्ञहरुमाथि यति विश्वस्त हुन्छ कि सामान्यतया यसले निर्माण गरिएका प्रश्नहरु निर्धारित विशिष्टिकरण  तालिका अनुसार छन् या छैनन् भन्नेतिर ध्यान दिँदैन। कतिपय विषयको हकमा परीक्षामा सोधिएका प्रश्नहरु निर्धारित विशिष्टिकरण  तालिकाको मर्मसँग धेरै हदसम्म मेल खाँदैनन्।  प्राध्यापन क्षमतालाई  आंशिक रूपमा मात्र  मापन गर्ने विषयगत र वस्तुगत प्रश्नहरुलाई  निश्चित कम क्षमताका परीक्षार्थीहरुको हितको  निम्ति तोडमोड गर्दा लिखित परीक्षा नाम मात्रको परीक्षामा रुपान्तरित हुन्छ।

आयोगले उप-प्राध्यापक परीक्षाको अप्रत्याशित नतिजाले सिर्जना गरेका माथि उल्लेखित पाँच तर्कहरुलाई ध्यान दिँदै अनैतिक चरित्रका प्राध्यापकहरुले चलखेल गर्न सक्ने सम्भावनालाई निमिट्यान्न पार्न जरुरी छ। साथै, माथि उल्लेखित दुई क्षमताहरुलाई  वैज्ञानिक ढंगले मापन गर्न मदत गर्ने खालको उप-प्राध्यापक छनौट प्रक्रिया लागू गर्नुपर्छ। त्यति हुन सके पौराणिक चरा 'फिनिक्स' आफ्नो खरानीबाट फेरि पैदा भएजस्तै मैले बौद्धिक र प्रशासनिक रुपमा मृत घोषणा गरिसकेको त्रिवि आफ्नो खरानीबाट फेरि पैदा हुने निश्चित छ।

(अजित राई त्रिविअन्तर्गत ग्रामीण विकास केन्द्रीय विभागमा अतिथि लेक्चरर हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad