विचार


चीनलाई दबाउन खोज्दा उल्टै उकास्ने काम गर्दै छन् ट्रम्प

चीनलाई दबाउन खोज्दा उल्टै उकास्ने काम गर्दै छन् ट्रम्प

केयु जिन
चैत ३०, २०८१ शनिबार ११:५८,

प्रविधिको विकास सुबिस्तामा विरलै हुने गर्छ। द्वन्द्व, प्रतिस्पर्धा र आवश्यकताका बीचमा प्रविधिले फट्को मार्छ। आणविक ऊर्जादेखि अन्तरिक्षको प्रतिस्पर्धासम्म र अहिले अमेरिका र चीनबीच चलिरहेको आर्टिफिसियल इन्टेलिजेन्सको टक्करसम्म– नवप्रवर्तन तब हुन्छ, जब दाउ सबैभन्दा उच्च हुन्छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विनाशकारी भन्सार युद्धले चीनलाई गम्भीर आर्थिक चोट पुग्न सक्छ। तर, त्यसले प्रविधिको विकासलाई तीव्रता पनि दिन सक्छ। 

चीनको सबैभन्दा ठूलो आर्थिक चुनौती बाह्य होइन, आन्तरिक हो। तर, १२५ प्रतिशत (ट्रम्पले चीनमाथिको भन्सार महसुल १४५ प्रतिशत पुर्‍याएका छन्) भन्सारले बेइजिङलाई आक्रामक रूपले प्रोत्साहन दिने, रणनीतिक रूपले अनुदान प्रदान गर्ने, अस्तित्वको चेतलाई धारिलो तुल्याउने र प्रविधिको प्रभुत्व अघि बढाउने बहाना दिन्छ।

वासिङ्टनको उदेश्य चीनको उदयलाई दबाउनु हो भने यो पूरै गलत दिशातर्फ गइरहेको छ। 

भन्सार शुल्कले केवल व्यापारको प्रवाहलाई मात्र बदल्दैन। त्यसले स्रोतको दिशा र औद्योगिक संरचना पनि बदल्छ। यदि ट्रम्पको लक्ष्य प्रविधिमा चीनको प्रगतिलाई रोक्नु हो भने उनले अमेरिकामा आयात हुने चिनियाँ निर्यातमा कम भन्सार लगाउनुपर्थ्यो। त्यसले गर्दा चीन कम नाफा हुने आधारभूत उत्पादनमा अल्झिरहन्थ्यो। अनि उनले चीनमा उच्च प्रविधि निर्यातलाई प्रोत्साहित गर्नुपर्थ्यो। ताकि चिनियाँ आधुनिक प्रविधिमा प्रगति हुन नसकोस्।

तर, अहिले जे भइरहेको छ, ठिक उल्टो भइरहेको छ। रोचक कुरा के छ भने ‘चिनियाँ झट्का’ले अमेरिकालाई निम्नस्तरीय उत्पादनबाट बाहिर धकेलिदिएको थियो भने ‘ट्रम्पको झट्का’ले चीनलाई आफ्ना साधन स्रोतलाई मूल्यवान् उन्नत प्रविधि विकासमा केन्द्रित गर्न प्रेरित गरिरहेको छ। जसले गर्दा चीनले सिधै अमेरिकासँग प्रतिस्पर्धा गर्छ। 

बेइजिङले निष्कर्ष निकालिसकेको छ– भन्सारविरुद्धको एक मात्र दिगो प्रतिरक्षा भनेको नवप्रवर्तन र मुख्य प्रविधिमा नियन्त्रण हो। ह्वावे र बीवाईडीजस्ता कम्पनीहरू भन्सार र आपूर्ति शृंखलामा पर्ने झट्काबाट पहिलेभन्दा सुरक्षित भएका छन्। चीनले क्षेत्रीय उत्पादन, प्रविधिमा सम्प्रभुता र पर्याप्त आपूर्ति शृंखलासहितको प्रविधिको एउटा नयाँ आपूर्ति शृंखला निर्माण गर्ने सपना देखेको छ।

आज चीनको राष्ट्रिय एजेन्डाको केन्द्रमा प्रविधि र नवप्रवर्तन जति छ, त्यति कहिल्यै थिएन। चीनले सम्भव भएसम्म हरेक क्षेत्रलाई एआईसँग जोड्ने रणनीति अख्तियार गरेको छ। सस्तो एआई मोडल डिपसिक अनेक बाधाहरूको बीचमा जन्मेको थियो। जसलाई अहिले विश्वभर प्रयोग गरिँदै छ।

२०१९ मा तीन वर्षभित्र अत्यन्त महत्त्वपूर्ण प्रविधिमध्ये ७० प्रतिशतलाई घरेलु प्रविधिले प्रतिस्थापन गर्न २०० अर्ब युआनको एउटा कोष खडा गरिएको थियो। चीनले क्वान्टम कम्प्युटिङमा भारी लगानी गरिरहेको छ, इलोन मस्कको स्टारलिंकलाई टक्कर दिनेगरी स्याटलाइट नेटवर्क बनाइरहेको छ र व्यावसायिक स्पेस स्टेसनको आधार तयार गर्दै छ। चिप बनाउने उपकरण निर्माणमा पनि सफल हुने उसको लक्ष्य छ भने कारखानामा काम गर्ने रोबोट निर्माणमा पनि अग्रता हासिल गरेको छ।

चीन राज्य निर्देशित एजेन्डातर्फ ढल्किँदै थियो भने पनि भन्सार महसुलको झट्काले उसलाई अर्थतन्त्रको आधारभूत विषयहरूमा फर्काएको छ। व्यापार युद्धले सबैकुरालाई ठिक ठाउँमा फर्काउने काम गरिरहेको छ। जसले वृद्धि र प्रतिस्पर्धा मुख्य कुरा हुन् भन्ने पुष्टि गर्छ। निजी क्षेत्रप्रतिको समर्थनले पुनरोत्थानको संकेत गर्छ। करमा छुट र व्यवसायमैत्री नीतिहरू पुनः लागू गरिँदै छन्।

प्रविधिमा प्रतिबन्धले प्रायः अनपेक्षित परिणाम दिने गर्छ। यसले प्रगतिलाई रोक्नुको सट्टा मागलाई आन्तरिकतर्फ निर्देशित गर्छ। उदाहरणका लागि सेमिकन्डक्टरलाई नै लिऔँ– चीनले विश्वभर खपत हुने चिप्समध्ये एकतिहाइ हिस्सा ओगट्छ। जो कुनै समय अमेरिकी आपूर्तिकर्ताहरूमा निर्भर थियो। अमेरिकाले लगाएको प्रतिबन्धहरूले चीनमा चिपको माग घटाएन। बरु, उनीहरूको आपूर्तिको स्रोत बदलियो। अहिले एसएमआईसीजस्ता घरेलु चिप कम्पनीहरूले कीर्तिमानी नाफा कमाइरहेका छन् भने त्यस्ता कम्पनीले अनुसन्धान र विकासमा पुनः लगानी गर्दै छन्।

चिनियाँ भनाइ नै छ, राम्रा कम्पनी ‘सुतेर बस्दैनन्’। तिनले आफूलाई बदलिँदो अवस्था अनुकूल ढाल्छन्। ट्रम्पको प्रतिबन्धको पहिलो लहरले विश्वव्यापीकरणको उन्माद पैदा गरिदिएको थियो। चिनियाँ कम्पनीहरूले तुरुन्त चाल चले र आफ्नो उत्पादन स्थानान्तरण गरे, नयाँ बजारमा विस्तार भए अनि व्यवसायको मोडल समेत बदले।

सेन्चेनमा सूचीकृत ट्रान्स्सनले अफ्रिकाको स्मार्टफोन बजारको ५१ प्रतिशत हिस्सा ओगट्छ। स्मार्टफोन निर्माता साओमीले आफ्नो आम्दानीको ७५ प्रतिशत हिस्सा विदेशबाट ल्याउँछ।

बढ्दो भन्सारले डिजिटल आपूर्ति शृंखला, सेवा व्यापार र क्लाउड पूर्वाधारतर्फको परिवर्तनलाई पनि तीव्र पार्छ। यी प्रवृत्तिले डिजिटल प्लाटफर्म, एआई र ईकमर्समा चीनको प्रगतिलाई दर्शाउँछन्। चीन अझैसम्म उत्पादन महाशक्ति हो। त्यसैले विश्वभर हुने सेवा व्यापारमा चीनले ६ प्रतिशत हिस्सा मात्र ओगट्छ। जसका कारण उत्पादनको तुलनामा सेवामा उसको अपार वृद्धिको सम्भावना कायम छ।

यस्तो बदलाव इतिहासमा पहिले पनि देखिसकिएको छ। नेपोलियनले महाद्वीपीय प्रणालीको माध्यमबाट बेलायतको व्यापारलाई पंगु तुल्याउने कोसिस गरेका थिए। त्यतिबेला बेलायत एसिया, अफ्रिका र अमेरिकातर्फ फर्कियो। उसले औद्योगिकीकरण र यन्त्रीकरण अपनायो। बढ्दो लागत र ज्यालामा दबाब वाष्प इन्जिन, कपडा बुन्ने मिल र नौसैनिक शक्तिका उत्प्रेरक थिए।

हुनसक्छ, अमेरिकाले त्यही गल्ती दोहोर्‍याइरहेको छ। यदि साँच्चै ट्रम्पको उदेश्य अमेरिकालाई फेरि महान् बनाउने हो भने उनी सहज र सुबिस्तायुक्त चीनसँग डराउनु हुँदैन। बरु, उनी विवशतामा परेको चीनसँग चाहिँ डराउनु पर्छ। 

(केयु जिन हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक हुन्। उनको ‘द न्यु चाइना प्लेबुकः बियोन्ड सोसलिजम एन्ड क्यापिटालिजम’ पुस्तक प्रकाशित छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad