अछामको साँफेबगर नगरपालिका ११ देवीस्थानकी कल्पना दास २१ वर्षकी भइन्। शनिबार उनले जिल्ला अस्पताल मंगलसेनमा पहिलो सन्तान छोरा जन्माइन्।
श्रीमान्, सासूससुरा कामका लागि भारत गएपछि उनी सुत्केरी हुन माइतीघर मंगलसेन पुगेकी हुन्। कल्पनाले सुत्केरीपछिको स्याहार, माया र बच्चाको रेखदेख गरिदिने कोही भेटिनन्।
सुत्केरीलाई छोए अपवित्र भइने भन्दै उनकी आमा राधाले समेत उनलाई छोइनन् । ‘सुत्केरीलाई छोए मलाई सन्चो हुँदैन। देउता पनि रिसाउँछन्। अब नौ दिन भएपछि मात्रै छोरीलाई छुन मिल्छ । नातिको मुख पनि त्यही दिन हेर्छु,’ राधाले भनिन्।
जिल्ला अस्पतालमै पुगेका कल्पनाका आफन्तले पनि उनलाई छुन मानेनन् । ‘आमाले पनि मलाई सन्चो हुँदैन भन्नुभयो । झन् अरूले छुने कुरै भएन । अन्तिममा बज्यै नाता पर्नेले छुनुभयो,’ कल्पनाले सुनाइन्, ‘सुत्केरी व्यथाभन्दा धेरै त आफूलाई छुने मान्छे नभेट्दा पीडा भयो ।’
कमलबजार नगरपालिका ५ की मैना भुलले पनि सुत्केरी भइसकेपछि छुने मान्छे पाइनन् । जसोतसो कमलबजार प्रथामिक स्वास्थ्य केन्द्र पुर्याएर शुक्रबार छोरी जन्म दिएकी उनले घरसम्म बच्चा बोकिदिने कोही पाइनन् । ‘सुत्केरी भएको नौ दिनसम्म त अछुतो ठान्छन्। सानो गोठमा आफैं पकाएर खानुपर्छ। यो बेला गह्रौं सामान उठाउन नमिल्ने भए पनि अरू कसैले सहयोग गर्दैनन्,’ मैनाले भनिन्, ‘मेरा त पहिले नै दुई वटी छोरी थिए । फेरि पनि छोरी नै जन्मिन् । मैले परिवारबाट के माया पाउँथेँ र?’
उनका अनुसार अझै पनि सुत्केरी महिलालाई गरिने विभेद हटेको छैन । छोरा भए एकनासको र छोरी भए अर्को खालको व्यवहार गर्ने चलन अझै रहेको उनको भनाइ छ। यो खबर आजको कान्तिपुरमा मेनुका ढुंगानाले लेखेकी छन्।
यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान छ तर परिवारबाटै सहयोग नहुने पीडित महिला बताउँछन् । गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि व्यवहारमा लागू नभएको बयालाकी एक गर्भवतीले बताइन् । ‘मैले घरैमा चारवटा बच्चा जन्माएँ,’ उनले भनिन्, ‘घरका सदस्यले चासो नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ ।’
सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम अछाममा प्रभावकारी नभएको उनको भनाइ छ । ‘गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो भनेर सिकियो, बुझियो पनि । अन्तमा आफैंलाई समस्या पर्यो,’ उनले भनिन् । उनका अनुसार यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन।

प्रतिक्रिया