कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हित र समृद्धिमा सहयोग पुग्ने परियोजनाहरूमा चिनियाँ लगानीको आफूहरूले स्वागत गर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेटमा उनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई आफूहरूको समर्थन रहेको धारणासमेत राखेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
राष्ट्रपति सीले काठमाडौं उत्रेपछि सत्तारुढ दलका नेताहरूभन्दा पहिले प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवालाई छुट्टै भेटेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटपछि सीले उनलाई सोल्टी होटलमै २० मिनेट भेटेका हुन् । भेटमा देउवाले नेपालमा सञ्चालित परियोजनामा चिनियाँ लगानीको अपेक्षा गरेको बताएका थिए ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार राष्ट्रपति सीले एक चीन नीतिको पक्षमा कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीचको पार्टीगत सम्बन्ध विस्तारबारे पनि कुरा भएको थियो ।
राष्ट्रपति सीले पार्टीगत सम्बन्ध विस्तारमा आफूहरूको जोड रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध थप सुदृढ बनाउँदै लैजानुपर्ने बताएका थिए ।

प्रतिक्रिया