छापा खबर


दसैं मान्न घर जानेकाे लर्को, उपत्यकाबाट बाहिरिए १९ लाख जना

दसैं मान्न घर जानेकाे लर्को, उपत्यकाबाट बाहिरिए १९ लाख जना

नेपालखबर
असोज १८, २०७६ शनिबार १:१८,

दसैं मान्न उपत्यकाबाट करिब १९ लाख यात्रु बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन्।

यो संख्या असोज ५ मा टिकट बुकिङ खुला भएयताको हो। यात्रु लगेर १ लाख ९० हजार ९ सय ९४ सवारी साधन उपत्यका बाहिरिएका छन्।

यो अवधिमा ९ लाख ५२ हजार ५ सय ४५ यात्रु काठमाडौं भित्रिएका छन्। १ लाख ६४ हजार ७ सय २५ गाडी भित्रिएका छन्। यसमा निजी सवारी साधनको संख्यासमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ। रुटका गाडी कम चल्न थालेपछि काठमाडौंका यात्रु भने मर्कामा परेका छन्। थोरै गाडीले कोचाकोच यात्रु बोक्ने गरेका छन्। ट्याक्सीले भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिँदै आएको गुनासो बढेको छ । रुटका गाडी कम चल्दा ट्याक्सीले भाडामा बार्गेनिङ गरिरहेको यात्रुले बताए। यो खबर आजको कान्तिपुरमा विमल खतिवडाले लेखेका छन्।

सुन्धारा, रत्नपार्क, चाबहिल, कोटेश्वर, कलंकीमा यात्रुको भीड बढी लाग्ने गरेको छ। ‘बढी भाडा लिएर यात्रु बोक्ने ट्याक्सीबारे थाहा पाउना साथ कारबाही गर्ने गरेका छौं,’ एसएसपी ढकालले भने, ‘दैनिक ४० वटासम्म कारबाहीमा पर्ने गरेका छन्।’ बुधबारबाट शुक्रबार साँझसम्म यात्रुको चाप बढी रह्यो । जसले गर्दा उपत्यकामा जाम बढी भएको थियो । एसएसपी ढकालका अनुसार राजधानीमा पूजापाठ र किनमेलले गर्दा बढी भीडभाड भएको छ। ‘बाहिरबाट आफन्त लिन राजधानीमा सवारी साधन लिएर आउने पनि छन्,’ उनले भने, ‘जुन कुल संख्याको १० प्रतिशत छ, यसले सवारी चाप बढाएको छ।’

शुक्रबार साँझबाट अवस्था सामान्य बन्दै गएको र धेरै यात्रु बाहिरिएको उनले बताए । ट्राफिक महाशाखाका अनुसार बढी भाडा लिने ३०४ जनालाई कारबाही गरिएको छ । लामो दूरीका सवारी साधनमा दुईजना चालक नराखी चलाउने २२ जना कारबाहीमा परेका छन् । ‘विगत वर्षहरु भन्दा यो वर्ष हामीले धेरै कुरा व्यवस्थित गरेका छौं,’ उनले भने, ‘यात्रा सहज बनाएका छौं।’

छतमा यात्रु राखेर चलाउने ४० वटा सवारी साधनलाई कारबाही गरिएको छ । त्यस्तै राजमार्गमा बिग्रिएका ८७ वटा सवारी साधनलाई र्‍याकरको माध्यमबाट झिकेर सडक सुचारु गरिएको छ । बिहीबार र शुक्रबार चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने छजना चालकलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै एकजना भने फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ । यसरी नियन्त्रणमा लिइएका अधिकांश लामा दूरीका सवारी साधन चलाउने चालक छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार यात्रुले कतै समस्या झेल्नुपरेको छैन । ‘हामीले एकदम यात्रुको ख्याल गरेका छौं,’ उनले भने, ‘यात्रुका गुनासा सुन्ने ठाउँ राखिएका छन्, जहाँ गुनासा आउनासाथ सुनुवाइ हुने गरेको छ।’

धनगढी र महेन्द्रनगर जाने यात्रुले बस नपाएको गुनासो आएपछि शुक्रबार तुरुन्त समाधान गरिएको उनले दाबी गरे। ‘एकैचोटि टिकट लिन ८ सय यात्रु जम्मा भएका थिए,’ उनले भने, ‘हामीले तत्कालै ४० वटा गाडी व्यवस्थापन गरेर यात्रुलाई गन्तव्यमा पठायौं।’ उनले शनिबार अझै बढी यात्रु बाहिरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .