सशस्त्र प्रहरी बलका पूर्ववरिष्ठ अधिकृतहरूले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्।
सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार १२ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) गरी २२ जनाले असुरक्षित महसुस गरेको भन्दै सूरक्षाकर्मी माग गरेका खबर आजको राजधानी दैनिकले छापेको छ।
गृह मन्त्रालयले हाल मुलुकमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताइरहँदा सशस्त्रका पूर्ववरिष्ठ अधिकृतहरूले नै सुरक्षाको माग गर्नुलाई भने अनौठो रूपमा लिइएको छ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार पूर्वएआईजी र डीआईजी गरी २२ जनाले व्यक्तिगत रूपमा असुरक्षित महसुस गरी सुरक्षा सहायक उपलब्ध गराउन माग गर्दै मुख्यालयमा निवेदन दिएका हुन्।
स्रोतका अनुसार असुरक्षित माग गरी सुरक्षाकर्मी मागिए पनि पूर्वअधिकृतहरूले सुरक्षाको बहानामा ती सुरक्षाकर्मीलाई घरायसी काममा प्रयोग गर्ने गरी माग गरेको अनुमान गरिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता एवं डीआईजी सुरजकुमार श्रेष्ठले पूर्ववरिष्ठ अधिकृतहरूले सुरक्षा माग गरेकाले त्यससम्बन्धी निवेदन गृह मन्त्रालयमा पठाइएको बताए ।
‘उहाँहरूले असुरक्षित महसुस गर्दै सुरक्षाकर्मी माग गरेको निवेदन गृहमा पठाएका छौँ। किन असुरक्षित महसुस गर्नुभयो, उहाँहरूले नै जान्ने कुरा हो,’ प्रवक्ता श्रेष्ठले भने।
सुरक्षा निकायका पूर्ववरिष्ठ अधिकृतहरूले कैयौँ सुरक्षाकर्मीलाई सुरक्षाको बहानामा घरेलु कामदारका रूपमा राखिरहेको तथ्य सार्वजनिक भएपछि गृह मन्त्रालयले तीन महिनाअघि मात्रै प्रहरीका पूर्वअधिकृतको घरमा राखिएका सबै सुरक्षाकर्मीलाई फिर्ता गरेको थियो।
गृह मन्त्रालयले फिर्ता गरेको तीन महिना बित्न नपाउँदै पूर्वअधिकृतले असुरक्षाको बहानामा पुनः सुरक्षाकर्मी माग गरेका हुन् । सशस्त्रका प्रवक्ता श्रेष्ठले सुरक्षा माग गरिएको निवेदनबारे सशस्त्र मुख्यालयले कुनै निर्णय गर्न नसक्ने भएकाले गृहमा पठाइएको बताए।
‘उहाँहरूको निवेदन गृह मन्त्रालयमा पठाएका छौं । गृहले जे निर्णय गर्छ, त्यही हुन्छ,’ श्रेष्ठले भने । गृह मन्त्रालयले भने अवकाश पाएको लामो समयपछि समेत असुरक्षित महसुस गर्नुको कारण नदेखिएको भन्दै उजुरीमाथि कुनै प्रक्रिया अगाडि बढाएको छैन।

प्रतिक्रिया