ad ad

छापा खबर


नौबिसे-नागढुंगा जामः काखमै गुम्यो छोरा

नौबिसे-नागढुंगा जामः काखमै गुम्यो छोरा

नेपालखबर
असोज १०, २०७६ शुक्रबार २३:५२,

उनी कहिले छोरालाई काखमा सुताउँथिन् । कति बेला पछ्यौरीले गुटुमुटु पार्थिन् । कति बेला भोकप्यास लागे–नलागेको सोध्थिन्।

मिर्गौलाको उपचारका लागि छोरालाई काठमाडौं लैजाँदै गरेकी रौतहटको गरुडा नगरपालिका–८ की सिर्जनदेवी साहले बिहीबार राति बसमा आँखा झिम्म पनि गर्न पाइनन्।

बिरामी छोरालाई लिएर काठमाडौं हिँडेकी उनले जामका कारण हस्पिटलसमेत पुर्‍याउन पाइनन् । काखको काखमै छोरा गुमाउनुपर्‍यो।

काठमाडौंमा छोराको उपचार गराउँला र उसैमार्फत आफ्नो भविष्य सपारौंला भन्ने उनको उद्देश्य पूरा हुन पाएन। ३५ वर्षीय छोरा रुपलाल साहलाई थप उपचारका लागि काठमाडौं लैजान सिर्जनदेवी रौतहटबाट बिहीबार साँझ ना ७ ख ५३६४ नम्बरको बस चढेकी थिइन्।

आमाछोरासहित यात्रु लिएर हिँडेको बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे–२ हुलाकडाँडामा शुक्रबार बिहान जाम छिचोल्न नसक्दा रुपलालको मृत्यु भएको खबर आजको कान्तिपुर दैनिकमा धादिङबाट हरिहरसिंह राठोरले लेखेका छन्।

जनकपुरमा दुवै मिर्गौला फेल भएर गम्भीर बिरामी भएका साहको उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिँदै थियो। यसअघि पनि सुमेरु अस्पतालमा उनको उपचार गराइएको थियो।

मध्यरातमा थाक्रे–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठोक्किएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववबेंसी बजारनजिकै हुलाकडाँडामै जाममा फसेको थियो।

जाममै रहेका बेला बिहान ३ बजेतिर बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात् गम्भीर बनेपछि चालक र यात्रुले एम्बुलेन्स खोज्दै थिए। तर बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले जानकारी दिए।

‘जहाज चढ्ने रकम छैन, रौतहटबाटै एम्बुलेन्स भाडामा लिने अवस्था पनि नभएकाले बसमा आएका हौं,’ आमा सिर्जनदेवीले भनिन्, ‘एम्बुलेन्स पनि बसभन्दा धेरै महँगो हुँदो रहेछ। त्यसैले सबैको सल्लाहले नाइट बस समातेका हौं।’

एम्बुलेन्स नै ल्याएको भए पनि जामका कारण बाटो छिचोल्न गाह्रो रहेको उनको भनाइ छ। कैयौं एम्बुलेन्स साइरन बजाउँदै त्यही बाटोमा फसेको देखेको सिर्जनदेवीले बताइन्।

बसको सिटमै मृत्यु भएपछि यात्रुले महादेवबेंसीस्थित प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाई रामबाबु साह पनि घटनास्थल आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ।

दसैंका बेला सवारीसाधनको चाप बढेसँगै सडक मर्मत थालिएपछि पृथ्वी राजमार्गको धादिङ–नागढुंगा खण्डमा लामो जाम हुन थालेको छ। असारमै सक्नुपर्ने सडक मर्मतको काम बल्ल आएर सुरु भएको छ। राजमार्गमा ३० किलोमिटरसम्म जाम हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .