ad ad

छापा खबर


रात परेपछि यसरी रुप फेर्छ काठमाडौँ

रात परेपछि यसरी रुप फेर्छ काठमाडौँ

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ३:२१,

सिमसिमे पानीसँगै साँझ ढल्किएपछि बुधबार रात नपर्दै काठमाडौं सुनसान बनिसकेको थियो।

गन्तव्यतर्फ लम्किरहेका सवारीको हल्लाखल्ला र सटर बन्द गर्दाको कर्कस आवाजसँगै रात पर्दै थियो । धेरै मान्छे न्यानोको खोजीमा घर पसिसकेका थिए।

राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास तथा समन्वय केन्द्रका अधिकारी भने यही झरीमाझ सडक छेउछाउमा रात गुजारिरहेका, सडक पेटी र गल्लीमा भौंतारिरहेका र यौन गतिविधिमा संलग्न बालबालिकालाई उद्धार गर्न हिँडेका थिए।

राष्ट्रिय बाल अधिकार परिषद् (साविकको बाल कल्याण समिति) का अधिकृत र बालबालिका खोजतलास केन्द्रका प्रहरी अधिकारीसहितको २५ जनाको टोली झन्डै साढे आठ बजे भृकुटीमण्डपबाट पुतलीसडक हुँदै बागबजार घुमेर रत्नपार्कछेउ पुग्यो ।

त्यतिबेला सिमसिम पानीमा रुझ्दै दुई किशोरी युवकसँग मोलतोल गरिरहेका थिए । सादा पोसाकको प्रहरीले गतिविधि प्रमाणित गरेलगत्तै उनीहरूलाई समात्यो ।

पक्राउलगत्तै १८ वर्षमुनिका दुई किशोरी जोडजोडले चिच्याए । एउटीले भनिन्, ‘मेरो बच्चा छ । छाड्दे ।’ खोजतलास केन्द्रको भ्यानभित्र राखिसक्दा पनि उनीहरूको चिच्याहटमा कमी आएको थिएन।

केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालले सुनाए, ‘यी दुवै पहिला पनि पक्राउ परेर तीन महिना सुधार गृहमा बसीवरी सीपमूलक तालिम लिएर निस्केका किशोरी हुन् । उनीहरू फेरि पहिलेकै जीवनशैलीमा फर्केछन् ।’

पक्राउ पर्ने, छुट्ने र फेरि पुरानै गतिविधिमा संलग्न हुने निरन्तरको चक्रको कारण के हो ? उनले भने, ‘यौन गतिविधिबाट छिटो हुने आम्दानी र स्वतन्त्र जीवनशैलीका कारण यस्तो भइरहेछ ।’

उनको अनुभवले भन्छ, राजधानीमा करिब तीन सयको संख्यामा सडक बालबालिका छन्, जसमध्ये करिब आधा बालिका छन् । उनीहरूमध्ये धेरैजसो यौनजन्य गतिविधि र लागूऔषध दुर्व्यसनमा फसिरहेका छन् ।

रत्नपार्कलाई केन्द्र बनाएर हुने यौन गतिविधिमा किशोरीको पनि संलग्नता देखिने दाहाल बताउँछन् । केही दिनअघि मात्र केन्द्रले गरेको यस्तै कारबाहीमा यही क्षेत्रबाट किशोरीहरू पक्राउ परेका थिए ।

केन्द्रका एक अधिकारीले केही समयअघि रत्नपार्क छेउबाटै समातिएकी एक किशोरीको गोजीभरि कन्डम भेटेका थिए । ती किशोरी पनि केन्द्रले पक्राउ गरेर सुधार गृहमा तीन महिना बिताएर निस्केकी रहिछन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

 न्युरोड गेट कटेर अघि बढेको टोलीले फोहोर बोक्ने ठूलाठूला बोराको थैली बोकेर हिँडिरहेका ससाना बालबालिकालाई च्याप्पै समात्यो । तिनीहरू चर्कोसँग कराउँदै उम्किने प्रयत्न गरे तर अधिकारीहरूले तिनलाई भ्यानभित्र राखिहाले ।

एकैछिनमा भूगोल पार्कछेवैको गल्लीमा बोरामा फोहोर टिपिरहेका भारतीय मूलका महिलाहरू चर्कोसँग कराउँदै आइहाले । अघि समातिएका तिनैका छोराछोरी रहेछन् । उनीहरूले रुँदै कराउँदै छोराछोरी छाडिदिन बिन्ती बिसाए । शान्त बन्दै गरेको न्युरोडको मूल बाटोमा रुवाइ र अलापविलापको चर्को आवाज फैलियो ।

अनिता गुप्ता आफ्ना छोराछोरीलाई छाडिदिन बिन्ती बिसाउँदै धेरै बेरसम्म चर्को चर्को स्वरमा रुँदै कराउँदै गरिरहिन् । अर्की एक महिलाले भने बच्चाको बाबु नभएको र घरमा राख्न नमिल्ने भएकै कारण आफूसँग फोहोर टिप्न हिँडेको तर्क गरिन् ।

केन्द्रका अधिकारी सन्तोषचन्द्र अधिकारीले तिनीहरूलाई सम्झाउँदै भोलि बिहान केन्द्रमा आएर छोराछोरी लैजान सकिने बताए । चर्कोचर्को स्वरमा रोइरहेका बालबालिका र तिनका अभिभावकको चित्कारले शान्त न्युरोडमा खैलाबैला मच्चियो । दर्जनौं कुकुर एकसाथ भुके ।

बालबालिकाका आमाहरू फर्केपछि सन्तोषले सुनाए, ‘यिनीहरू रोएको देख्दा छाडिदिऊँ जस्तो लाग्छ । गाडीबाट भागेरै जाऊन् जस्तो लाग्छ तर फर्केपछि फेरि यिनीहरू दुर्व्यसनमा फस्छन् । त्यत्ति सम्झेर यिनको रुवाइ भुल्नुपर्छ ।’

आमासँगै हिँडे पनि यी बालबालिका धेरै जोखिममा रहेको उनको भनाइ छ । सडकमै भेटिने डेनड्राइड (जुत्ता टाल्ने गम, जसलाई सडक बालबालिकाले लागूऔषधका रूपमा प्रयोग गर्छन्) सुँघ्छन् । अवैध धन्दामा पनि प्रयोग हुने जोखिम उत्तिकै हुन्छ । ‘हामीले जति सम्झाउँदा पनि अभिभावक टेर्दैनन्,’ अधिकारीले भने ।

प्रहरीका अनुसार रातको समयमा अभिभावकसँगै फोहोर टिप्ने काममा ससाना बालबालिकाको प्रयोग गर्नेमा भारतीय मूलका महिला धेरै छन् । यस्ता बालबालिका समयक्रममा सडक बालबालिकाको संगतमा पुग्ने र दुर्व्यसनमा फस्ने गरेको देखिन्छ ।

टोलीले वसन्तपुर, जैसीदेवल र मखनका गल्ली चहारेर झन्डै एक दर्जन बालबालिकालाई नियन्त्रणमा लियो, जसमध्ये केहीबाट प्रहरीले गाँजा र अन्य लागूऔषध पनि बरामद गर्‍यो ।

यसरी मध्यरातमा सडक छेउछाउ डुलिहिंडने धेरैजसो अभिभावकविहीन थिए भने केही अभिभावक भए पनि परिवारको रेखदेखबाहिर थिए । वसन्तपुरबाट उद्धार गरिएका केही बालक भने पहिला पनि उद्धार भएर परिवारको जिम्मा लगाइएका थिए।

कालीमाटीबाट बल्खु, एकान्तकुना हुँदै टोली पाटन पुग्दा रातको ११ बजिसकेको थियो । पाटनका गल्लीहरूमा बगेको पानीमा प्लास्टिकजन्य फोहोर तैरिरहेका थिए । कुकुरको एकोहोरो भुकाइबाहेक मान्छेको चहलपहल शून्य थियो ।

पाटननजिकै टोलीले दुई किशोरीलाई नियन्त्रणमा लियो । ती दुवै किशोरी यौन गतिविधिमा संलग्न रहेको अधिकारीहरूको दाबी थियो । नियन्त्रणमा परेकी एक किशोरीले तुरुन्तै कसैलाई फोन गरिन् र भनिन्, ‘बोर भयो नि । हामी त मामाघर जाने भएम् ।’

पुलिसले पक्राउ गरेर थुनामा लैजाने कुरालाई उनले मामाघरका रूपमा अर्थ्याएकी थिइन् । नियन्त्रणका बेला कुनै प्रतिवाद नगरेका ती किशोरीले एकआपसमा सांकेतिक भाषामा केके कुरा साटे र भने, ‘कति केटी हामी जसरी हिँडेका छन् । हाम्लाई मात्र किन समात्या ?’ उनीहरूको प्रश्नको उत्तर सादा पोसाकका प्रहरीले दिएनन् । त्यसपछि ती किशोरीले हाँस्दै गुनगुनाइन्, ‘हामी यस्तै त हो नि हौ...।’

झन्डै १२ बजे ठमेल पुग्दा ट्याक्सी, रिक्सा र मान्छेहरूको ओहोरदोहोरले गुल्जार देखिन्थ्यो । टोलीले होटल र साँघुरा ओसिला गल्लीबाट करिब एक दर्जन किशोरीलाई नियन्त्रणमा लियो ।

तीमध्ये केही पहिला पनि नियन्त्रणमा परेर महिनौं लामो समय सुधार गृहमा बसेर फर्केकाहरू थिए । १८ वर्षमुनिका किशोरीहरू यौन व्यापार र यौनजन्य गतिविधिमा सामेल हुने गरेको र तीमध्ये धेरैजसो दुर्व्यसनमा फसेको प्रहरी नायब निरीक्षक सुशीला राउतले बताइन् ।

‘टोली आएपछि थुप्रै भागे । नत्र यिनीहरूको संख्या धेरै नै पुग्थ्यो,’ उनले भनिन् । किशोरीहरूलाई यौनजन्य गतिविधिमा लगाउनेहरूको गिरोह नै भएको र यो अपराध तथा दुर्व्यसनको कारण रहेको उनको भनाइ छ ।

पानी धेरै दर्किएपछि टोलीले उद्धारको काम बन्द गर्‍यो । उद्धारमा निस्किएका प्रहरी र अन्य अधिकारी सबै पानीले भिजिसकेका थिए । रातको एक बजे बालबालिका खोजतलास केन्द्रमा १५ बालिका र ३० बालक जम्मा भएका थिए । केन्द्रले अघिल्लो साता मात्रै यसैगरी १८ बालक र १९ बालिकाको उद्धार गरेको थियो ।

‘बुधबार उद्धार भएका १५ बालिकामध्ये ३ र ३० बालकमध्ये ६ जना पहिला पनि उद्धार भएर पुनःस्थापना केन्द्र बसेर निस्केका हुन्,’ टोलीमा सँगै रहेका राष्ट्रिय बाल अधिकार परिषद्का सडक बालबालिका व्यवस्थापन इकाई प्रमुख चित्र पौडेलले भने ।

अधिकारीहरूका अनुसार सडकमा हुर्किरहेका बालकभन्दा बालिका धेरै जोखिममा छन् । टोलीले सबभन्दा सुरुमा रत्नपार्कबाट नियन्त्रणमा लिएकी एक किशोरी २ वर्षअघि पनि उद्धार भएकी थिइन् । चित्रले उति बेलाको कुरा सम्झए, ‘१३ वर्षकै उमेरमा गर्भवती बनेर १४ वर्षमै आमा बनेकी यी किशोरीलाई उद्धारपछि तीन महिनासम्म पुनःस्थापना केन्द्रमा राखिएको थियो ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .