छापा खबर


दसैँको खसी बजारमा पनि बिचौलिया नै हाबी

दसैँको खसी बजारमा पनि बिचौलिया नै हाबी

नेपालखबर
असोज ९, २०७६ बिहिबार २:३१,

अन्यक्षेत्र सरह चौपाया क्षेत्रमा पनि बिचौलिया हाबी हुने गरेका छन् ।

पशु सेवा विभागका अनुसार व्यापारीहरुले किसानबाट प्रतिकिलो जिउँदो खसी ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा खरिद गर्छन्।

कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेको समाचार अनुसार ती खसीबोका काठमाडौंमा प्रतिकिलो ६ सय रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भइरहेको विभागका महानिर्देशक वंशी शर्माले बताए।

‘किसानबाट प्रतिकिलो साढे ३ सय देखि साढे ४ सय रुपैयाँमा खरिद गरिएको जिउँदो खसी उपभोक्ताले तयारी मासु खरिद गर्दा १३ सयदेखि १५ सय रुपैयाँमा तिरेको गुनासो छ,’ महानिर्देशक शर्माले भने, ‘उपभोक्ताले तिर्नु परेको तयारी मासुको मूल्य स्वभाविक र न्यायोचित देखिदैन।’

चौपाया व्यवसायी संघ कलंकीका निवर्तमान अध्यक्ष दिपक थापाले पनि किसानले मूल्य नपाएको स्वीकार गरे। ‘अहिलेको सन्दर्भमा किसानले खसीको मूल्य पाएका छैनन। तर, किसानको पहुँचमा व्यवसायीसँगै राज्य पनि पुग्न सकेन,’ थापाले भने, ‘जसले गर्दा समस्या भएको हो।’

विभागले एउटै खसीमा व्यवसायीले दोब्बर मूल्य लिएको दाबी गरेपनि व्यवसायीहरुले भने प्रतिकिलो १ सय रुपैयाँसम्म नाफा राखेको बताउँछन्। सघका अनुसार ग्रामिण क्षेत्रमा खसीको मूल्य फरक–फरक छ।

‘सहजकर्ता (बिचौलिया)ले किसानसँग प्रतिकिलो ५ सय रुपैयाँसम्ममा खरिद गर्छन्। प्रतिकिलो १ सय रुपैयाँसम्म नाफा राखेर कलंकी बजारमा बिक्री गर्छन्,’ निवर्तमान अध्यक्ष थापाले भने, ‘सहजकर्ताबाट खरिद गरिएको मूल्यमा प्रतिकिलो करिब २०र२५ रुपैयाँको मुनाफा राखेर बिक्री गर्छौँ।’

दसैं तिहार नजिकिएपछि खसीबोकाको मूल्य अकासिदै गएको छ। माग र आपूर्तिको आधारमा दसैंमा मूल्य थप बढ्न सक्ने व्यवसायीहरुले बताउँदै आएका छन्।

यद्यपी, व्यवसायीले अहिले पनि चर्को मूल्य असुलेको विभागको ठहर छ। ‘भारतबाट खसीबोका आयात नभएको र चाडवाडले च्याप्दै लगेपछि व्यापारीले मिलोमतोमा मूल्य वृद्धि गरेका छन्,’ उनले भने, ‘तर यसरी मूल्य वृद्धि गर्नु पर्ने जायज कारण र अवस्था छैन।’

विभागले कृक्रिम मूल्यवृद्धि भएको स्वीकारे पनि अनुगमन र नियन्त्रणको प्रयास भने गरेको छैन।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले नियमनका लागि प्रभावकारी अनुगमन गरिने बताए। उनले उपभोक्तासम्म पुग्ने मासुको स्वस्थता र गुणस्तरको नियमन र अनुगमनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad