ad ad

छापा खबर


नेपाली स्याटेलाइटले ग्राउन्ड स्टेसनसँग सुरु गर्‍याे दोहोरो सम्पर्क

नेपाली स्याटेलाइटले ग्राउन्ड स्टेसनसँग सुरु गर्‍याे दोहोरो सम्पर्क

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १:४३,

नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ।

स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको खबर आजको समाचारपत्र दैनिकमा टीका बन्धनले लेखेका छन्।

स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ।

ग्राउन्ड स्टेसन ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा स्थापना गरिएको छ।

स्याट–१ ले डेढ घण्टामा पृथ्वीलाई एक फन्को लगाउने गरेको र एक दिनमा १६ पटक पृथ्वीलाई चक्कर लगाइरहेको विवरण स्टेसनलाई प्राप्त भइरहेको नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले जानकारी दिए।

‘गत बिहीबारयता उसको गतिविधि नियमितरूपमा नियालिरहेका छौं, एक सेकेन्डमा सात किलोमिटरको गतिमा स्याटेलाइट घुमिरहेको पाइएको छ’, ढकालले भने, ‘अहिलेसम्म कुनै प्राविधिक गडबडी देखिएको छैन।’

ढकालका अनुसार पृथ्वीबाट (सबैभन्दा नजिकको दूरी) ४ सय २० किलोमिटर उचाइमा स्याट–१ ले फन्को लगाइरहेको छ।

शनिबार बिहान ४ बजेर ४० मिनेट हाराहारीमा पूर्वी नेपालको भू–भाग हुँदै बाहिरिएको स्याट–१ आइतबार राति ८ बजेर ३५ मिनेटमा नेपालकै सुदूरपश्चिमी भेगको अन्तरिक्षलाई छोएर बाहिरिएको छ।

ग्राउन्ड स्टेसनका कार्यक्रम प्रमुख रोशन पाण्डेका अनुसार स्याटेलाइटको प्रस्ट संकेत आइतबार राति आठ बजेर ४० मिनेट आसपासमा देखिएको छ। ढकालले भने, ‘नेपालको भूगोल र आसपासबाट स्याट–१ ले फन्को लगायो भने सूचना लिन सजिलो हुन्छ, अहिलेसम्मको अवस्था हेर्दा दुई दिनमा नेपाल नजिक भएर स्याट–१ चलिरहेको छ।’

नेपालको पहिलो भू–उपग्रह गत वैशाख ५ गते अमेरिकाको भर्जिनियाको वल्लोप्स द्वीपबाट अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। सोही दिन श्रीलंकाको रावन–१ र जापानको युगुसु भू–उपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .