ad ad

छापा खबर


संगठन तहसनहस भएपछि यसरी रणनीति बदल्दैछन् विप्लव

संगठन तहसनहस भएपछि यसरी रणनीति बदल्दैछन् विप्लव

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १:९,

पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ।

हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसमेत छाड्ने परिस्थितिमा पु¥याएपछि चन्द नेतृत्वको नेकपाले रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने संकेत गरेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको ‘विप्लव’ समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको छ।

विप्लव नेतृत्वको नेकपाका उच्च तहका एक नेताले पार्टीभित्र वार्ताका लागि छलफल भइरहेको र सरकार नै पहिले सकारात्मक हुनुपर्ने बताए । ‘वार्ता नै नगर्ने भन्ने त होइन, पार्टीभित्र छलफल भइरहेका छन् । सरकार वार्ताका लागि सकारात्मक रूपमा तयार भए हुन सक्छ,’ ती नेताले भने।

महासचिव विप्लवले समेत केही दिनअघि एक अन्तर्वार्ताका क्रममा आफू वार्ताको निरपेक्ष विरोधी नभएको बताएका थिए । तर, सरकारले विगतमा वार्ताको हल्ला मात्रै फिँजाएको र सरकारतर्फकै केही व्यक्ति अहिले पनि वार्ता विरोधी रहेको उनले भनेका छन्।

‘जनताका एजेन्डामा बहस गर्न हामी सधैं खुला छौं तर वार्ता देश र जनताका विषयमा केन्द्रित हुनुपर्दछ,’ विप्लवले भनेका छन्।

उनले क्रान्तिकारीहरूलाई भ्रमित पार्न वार्ता र कूटनीतिको कुरा गर्ने अनि भित्र दमन गरेर सक्ने रणनीतिसमेत हुने विषयमा भने अत्यन्तै गम्भीर भएको भनेका छन् ।

प्रहरीले आइतबारसम्म नेकपाका ८ सय १८ जना नेता कार्यकर्तालाई प्रतिबन्धयता पक्राउ गरिसकेको छ । यस्तै, यसबीचमा ७ सय ५६ वटा मुद्दा प्रहरीले दर्ता गरेको छ भने ५८६ जना मुद्दा दर्ता भई छुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैबीचमा ५५ जना साधारण सोधपुछ पछि छुटेका छन् । यसैगरी, १ सय ५५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ५२ जना अनुसन्धानकै क्रममा छन्।

यसबीचमा करिब ७० बढी विप्लव निकट नेता कार्यकर्ता सत्तारूढ र अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । यसैगरी, करिब २५ जना नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको जनाएका छन् भने केहीले भने प्रहरीले पक्राउ गरेपछि आत्मसमर्पण गरेका छन्।

आइतबार मात्रै प्रहरी नियन्त्रणमा रहेका इलाम जिल्ला सेक्रेटरी दिपेन राईले प्रहरी हिरासतबाटै विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्।

उनलाई गत २० चैतमा झापाको बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले इलाम कारागारमा छन् । उनले कारागारबाटै विज्ञप्ति जारी गरेर विप्लव नेतृत्वको पार्टी परित्याग गरेको र नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन्।

नेकपाले पार्टीका पोलिटब्युरो सदस्य रहेका नेता पदम राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । उनी सत्तारूढ दल नेकपामा प्रवेश गरिसकेका छन् । यसैगरी, पूर्वसभासद किरणकुमार राईसमेत सत्तारुढ नेकपा प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .