छापा खबर


भाडा नबढाई दसैंको लागि अग्रिम टिकट बुकिङ खोल्न व्यसायी सहमत

भाडा नबढाई दसैंको लागि अग्रिम टिकट बुकिङ खोल्न व्यसायी सहमत

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १:३६,

हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी महासंघका प्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला निकायको बैठकले दसैंका लागि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो।

महानिर्देशक हमालले व्यवसायीसँगको छलफलका आधारमा दसैंमा यात्रुलाई सहज होस् भनेर ५ असोजबाट टिकट बुुकिङ खुलाउने निर्णय गरिएको जनाए ।

दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ। यातायात व्यवसायीले पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका थिए।

विभागले चाडपर्वमा भाडा बढाउन नसक्ने जवाफ दिएको थियो । महासचिव सिटौलाले २०६९ सालदेखि भाडा समायोजन गर्न सरकारसँग माग गर्दै आएको र भाडा समायोजन गर्ने विषयमा सरकारले सोच्नुपर्ने बताए।

व्यवसायीको भाडा समायोजनको माग सरकारले पूरा नगरे पनि उनीहरू टिकट खुलाउन भने सहमत भएका हुन्।

यता, टिकट बुकिङ खुला गर्न सरकार र व्यवसायी सहमत भए पनि देशैभरको सडकको अवस्था भने दर्दनाक छ । काठमाडौं उपत्यकासहित राजमार्गभरि खाल्टाखुल्टी देखिएका छन्।

बिहीबारको बैठकमा सडकको मर्मत सम्भार गर्न व्यवसायीले आवाज उठाएका थिए।

महासचिव सिटौलाले आफूहरूले ठाउँठाउँमा बाटो बिग्रिएको र खाल्टाखुल्टी रहेकाले सहज रूपमा यातायात आवतजावत हुने वातावरण मिलाउन सरकारसँग माग गरेको बताए।

‘खाल्टाखुल्टी बनाउन र बिग्रिएको सडक मर्मत गर्न हामीले माग राखेका छौं’, उनले राजधानीसँग भने, ‘पहिरो जाने ठाउँहरू र नाकाहरूमा हेभी इक्विपमेन्टजस्ता सामग्री तयारी अवस्थामा राख्न पनि आग्रह गरेका छौं।’

यातायात विभागले भने सडक विभागसँग समन्वय गरेर बिग्रिएका सडकको मर्मत गर्न पहल गर्ने जनाएको छ।

दसैं मनाउन उपत्यकाबाट १५ देखि २० लाखको हाराहारी मानिस बाहिरिने गरेका छन् । यो वर्ष २० लाखभन्दा बढी बाहिरिने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad