ad ad

छापा खबर


सदरमुकाम सुनसान, गाउँ भरिभराउ !

सदरमुकाम सुनसान, गाउँ भरिभराउ !

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ३:२१,

कालिकोटको रास्कोट नगरपालिका–८ का धर्मराज धमला सदरमुकाम मान्म बजारमा होटल व्यवसाय गर्थे।

सशस्त्र द्वन्द्व र त्यसपछिको समयमा पनि गाउँबाट सदरमुकाम आउनेहरूको भीड लाग्थ्यो। ‘किनमेल, बेचबिखन, विभिन्न कार्यक्रम र सरकारी कामकाजका सिलसिलामा आउजाउ गर्ने बढी हुँदा सदरमुकाम भरिभराउ हुन्थ्यो, व्यवसाय पनि जमेको थियो,’ अहिले गाउँमै होटल खोलेका उनले भने, ‘स्थानीय सरकार आएपछि सदरमुकाम शून्य हुँदै गयो, गाउँ भरिभराउ।’

धमलाले भनेजस्तै अहिले कालीकोटको सदरमुकाम मान्म सुनसान छ। यो खबर आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्याय र गोविन्द केसीले लेखेका छन्।

अत्यावश्यक सरकारी कामबाहेक आउने काम नपर्ने भएकाले सदरमुकाममा खासै चहलपहल छैन। त्यसकारण व्यापार–व्यवसाय पनि पहिलेजस्तो हुँदैन।

स्थानीय सरकार सञ्चालनमा आएसँगै सदरमुकाम सुनसान हुन थालेको कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए। उनका अनुसार स्थानीय तहको निर्वाचन भएसँगै सदरमुकाम क्रमिक रूपमा सुनसान हुन थालेको हो।

‘सदरमुकाममा पहिलेजस्तो चहलपहल नै छैन,’ उनले भने, ‘व्यापार–व्यवसाय सबै गाउँ केन्द्रित भएको छ।’ केही वर्षअघिसम्म गाउँमा सडक पुगेको थिएन। बैंक तथा वित्तीय संस्थामात्रै होइन, उपचारका लागि स्वास्थ्यचौकी पनि थिएन।

‘अहिले गाउँगाउँमा सडक पुगे, सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरू छन्, अस्पताल तथा स्वास्थ्यचौकी बनेका छन्,’ अध्यक्ष शाहीले भने, ‘आवश्यक सुविधा गाउँमा पुगेपछि सदरमुकाम खाली हुने नै भयो।’

‘सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले अहिले पूर्णता पाएजस्तो लागेको छ। बल्ल अहिले गाउँ फर्किने वातावरण बनेको छ।’
जुम्ला सदरमुकाम खलंगा साबिक कर्णाली अञ्चलको सदरमुकाम हो।

अञ्चल कार्यालय भएकाले यहाँ जिल्लाभित्रका मात्रै होइन, बाहिरी जिल्लाबाट पनि सदरमुकाम आउनेको भीड हुन्थ्यो। संघीय संरचनासँगै अञ्चल संरचना खारेज भयो। सदरमुकाम केन्द्रित अधिकार गाउँ पुग्यो।

सदरमुकाम सुनसान भएसँगै बैंकबाट करोडौं ऋण लिएर घर बनाएका घरधनी र व्यवसाय गरिरहेकाहरू तनावमा परेको जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले बताए।

‘नागरिकता, राहदानी सिफारिस र मालपोतका लागि बाहेक मानिसहरु सदरमुकाम आउनै छाडे,’ उनले भने, ‘करोडौं ऋण लिएर गर्दै आएको व्यापार र बनाइएका संरचना प्रयोगमा नआउँदा सदरमुकाम केन्द्रित व्यवसायीहरू मारमा परेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .