पहिले निश्चित उमेर पुगेपछि मात्र देखिने रगत तथा मुटुसम्बन्धी रोग पछिल्लो समय वृद्ध, युवा सबैमा बढ्दै गएको छ।
रक्तचाप बढी र कम किन हुन्छ? यसले कुन कुन अंगमा कस्तो असर पु¥याउँछ? यस विषयमा अाजकाे नागरिक दैनिकमा मनमोहन कार्डियो भास्कुलर, थोरासिक एन्ड ट्रान्सपलान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. रत्नमणि गजुरेलसँग पवित्रा सुनारले गरेको कुराकानीको छापिएकाे छ।
उच्च रक्तचाप हुनुको कारण के हो?
सबैको कारण थाहा हुँदैन। तर केही व्यक्तिमा थाहा हुन्छ। वंशाणुगत रूपमा सो समस्या छ भने उमेर बढ्दै जाँदा देखिने हो। त्यसैगरी प्राकृतिक रूपमै उमेरसँगै नसाहरू खुम्चिँदै जाँदा यो समस्या बढ्दै जान्छ। आफ्नै कारण, मिर्गौला रोगका कारण, सिस्टेलिक रोग, थाइराइड तथा हर्मोनका बिरामीमा पनि उच्च रक्तचाप बढी हुन्छ। धेरैलाई निश्चित उमेर पुगेपछि रक्तचाप देखिन्छ। आफ्नै कारणले पनि उच्च रक्तचाप बढेको हुन सक्छ। विभिन्न कारणले शरीरमा १० प्रतिशतमा यो समस्या देखिन्छ।
कम उमेरमै देखिनुको कारण नि?
उमेरमै उच्च रक्तचाप देखिनुको मुख्य कारण व्यक्तिले अपनाएको जीवनशैली नै हो। आरामदायी जीवन, धुमपान तथा मध्यपान अत्यधिक गर्ने, व्यायाम नगर्ने, चिल्लो तथा बोसोजन्य खानेकुरा बढी खाने, खानपानमा ध्यान नदिने, तौल नियन्त्रण नगर्ने, कोलस्ट्रोल तथा सुगरको मात्रा बढ्दै जानेहरूमा पनि उच्च रक्तचाप बढेको देखिन्छ। विकसित मुलुकले यो समस्यालाई पहिल्यै व्यवस्थापन गरिसकेका छन् भने हाम्रो जस्तो विकासोन्मुख देशमा बढ्दै छ। तेस्रो विश्वका मुलुकहरूमा यो समस्या बढ्दो देखिन्छ।
उच्च रक्तचापले शरीरको कुन-कुन अंगमा असर गर्छ?
मस्तिष्कको नसामा रक्तसञ्चार बन्द हुन सक्छ, मुटुको धमनी फुट्ने, आँखाको दृष्टि नसामा असर पुग्ने र महŒपूर्ण अगंहरूलाई समाउन सक्छ। साथै मिर्गौला फेल हुने, पक्षघात, बे्रन हेमरेज हुने जस्ता समस्या पनि देखिन सक्छ। रक्तचाप एउटा माध्यम हो, यसको असर विभिन्न अंगमा विभिन्न तरिकाले आउन सक्छ। उच्च रक्तचाप भएका सबैलाई अन्य अंगमा असर नगर्न पनि सक्छ।
उच्च रक्तचापबारे पहिल्यै कसरी थाहा पाउने?
रक्तचापले खास लक्षण नदेखाउने भएकाले यसलाई साइलेन्ट किलर भनिएको हो। जस्तो परिवारमा दाजुभाइलाई उच्च रक्तचाप छ भने आफूलाई पनि छ कि भनेर जाँच गर्नुप¥यो। विश्व स्वास्थ्य संगठनले निर्धारण गरेअनुसार रक्तचापको निर्धारण भएको छ। सिस्टोलिकमाथिको रक्तचाप एक सय २० भन्दा माथि र तलको अर्थात् ८० भन्दा कम छ भने आफ्नो रक्तचाप घटबढ भएको रहेछ भन्ने थाहा पाउनु पर्छ।
सुरु भइसकेको उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने?
भइसकेको अवस्थामा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ। मैले कति व्यायाम गर्छु रु कति तनाव लिन्छु रु भन्ने कुरामा ख्याल गर्नुपर्छ। तौल नियन्त्रण गर्ने, शारीरिक व्यायाम गर्ने, चिल्लो तथा नुन कम भएका खाना खाने गर्नुपर्छ। व्यायामले पाँच मिलिलिटर रक्तचाप घट्छ भने खानपानले अर्को पाँच मिलिलिटर घटाउन सकिन्छ।
यसरी घटाउँदै गए रक्तचापको औषधि सेवन नगर्ने अवस्था पनि आउन सक्छ। तर कुनै पनि बिरामीले चिकित्सकको सल्लाहमा औषधि छोड्ने या सेवन गर्ने गर्नुपर्छ। उच्च रक्तचापसँगै अन्य रोग पनि छन् भने औषधि छोड्न मिल्दैन। अर्थात् बिरामीमा अन्य रोगको स्थिति, मधुमेह तथा कोलस्ट्रोलको जोखिम छ भने औषधिको सेवन गर्नुपर्छ।

प्रतिक्रिया