ad ad

छापा खबर


नदीकाे बालुवाभित्र सुन खोज्दै

नदीकाे बालुवाभित्र सुन खोज्दै

नेपालखबर
भदौ १२, २०७६ बिहिबार २:४६,

कर्णालीको किनार। भदौको टन्टलापुर घाम। केही महिला असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन्।

कोही डुँडीमाथि राखिएको सोनाट्टा (जाली) ले बालुवाबाट ठूला ढुंगा अलग गर्दै छन्। कोहीचाहिँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन्।

बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ। यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवा सुन संकलन गर्दै आएका छन् वर्षौंदेखि।

‘हामी पुस्तौंदेखि नदीकिनारमा बालुवामा सुन खोज्दै आएका छौं’, बालुवा धुन व्यस्त विष्णुमती सोनाहाले भनिन्, ‘सोनाहाको मुख्य पेसा सुन खोज्नु र माछा मार्नु हो।’

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कैलालीबाट परमानन्द पाण्डेले लेखेका छ्न्।

यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीमावर्ती कर्णाली किनार हो। ‘नदीबाट बालुवा झिकेर डुँडीमाथिको सोनाट्टामा थुपार्छौं। सोनाट्टाबाट बचेको बालुवा डुँडीमा जान्छ’, फूलमती सोनाहाले भनिन्, ‘डुँडीमा थुपारिएको बालुवालाई बेस्सरी धुन्छौं। बचेको थोरै बालुवा र पानी ठग्नामा हालेर हल्लाएपछि सुन भेटिन्छ।’

उनीहरू दिनभर समूहमै बालुवा छान्छन्। केही रातो र मसिनो बालुवामा सुन भेटिने उनीहरू बताउँछन्। रमा सोनाहाले सुन नपाए भोकै बस्नुपर्ने बताइन्। उनले भनिन्, ‘दिनभरि सुन चाल्छौं। साँझ बेच्छौं। त्यही पैसाले खाद्यान्न किनेर गुजारा चलाइरहेका छौं।’

सुन खोज्ने एउटा समूहमा सातजनासम्म हुन्छन्। एउटा समूहले दिनभरमा २५ देखि ५० लालसम्म सुन जम्मा गर्छ।

स्थानीय जनक सोनाहाले समूहमा निकै मेहनत गरेर सुन चाले पनि सुन खरिद गर्ने एजेन्टले सस्तोमा लिँदा गुजारा गर्न समस्या रहेको बताए।

‘समूहमा ५० लालसम्म सुन जम्मा गरे पनि व्यक्तिगत रूपमा कम हुन्छ’, उनले भने, ‘पहिलेपहिले सुन भेटिए पनि मूल्य थिएन। अहिले मूल्य छ, तर सुन निकै कम भेटिन्छ।’

बालुवा चालेर छानेको सुन कैलालीको टीकापुर, लम्की, धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालगन्जसम्म बिक्री हुन्छ।

व्यापारी नारायण थारूले भने, ‘हामी सोनाहासँग चार सय ५० रुपैयाँ प्रतिलालमा किनेर ६ सय रुपैयाँसम्ममा बेच्छौं।’ अहिले नेपाली बजारमा एक लाल सुनको मूल्य झन्डै ७ सय २५ रुपैयाँ छ। एक तोलामा सय लाल हुन्छ।

 नदीबाट निकालिएको सुन एक नम्बर नै हुने भए पनि सुनमा १० प्रतिशत पारो मिसावट हुने गरेको व्यापारीहरू बताउँछन्। त्यसरी ल्याएको सुन खारेर मात्रै गरगहना बनाउन सकिने टीकापुरका सुन व्यापारी जनक साहुले बताए। ‘व्यापारीले सुनको मूल्यको १० प्रतिशतसम्म घटाएर खरिद गर्छन्’, साहुले भने, ‘सुन खारेपछि मात्रै गहना बनाउन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .