आचार्य बालकृष्णलाई उनकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ।
केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो।
यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।
कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ।
आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई.शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढिरहेको बताए।
पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए।
उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। करिब दुई दिनसम्म उपचार गरी निवास फर्किनुभएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले बताए।
भर्ना भएपछि भारतभर आचार्यको स्वास्थ्यलाभको कामना गर्दै उच्च तहका राजनीतिक नेता उनको निवास आउने गरेका छन्। मन्त्रीदेखि उच्च राजनीतिक तहका नेता उनलाई भेट गर्न हरिद्वार पुगेका थिए।
भदौ १८ मा नेपाल आउँदै
हत्या प्रयासबाट जोगिएका आचार्य बालकृष्ण यही सेप्टेम्बर ४ तारिख अर्थात् भदौ १८ गते नेपाल आउने भएका छन्। भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाको बारेमा गम्भीर चिन्ता हुन थालेपछि उनी नेपाल आउन लागेका हुन्।
विशेष गरी बाबा रामदेव र आचार्य बालकृष्णले नेपाललाई तपोभूमिका रूपमा परिचय दिन पछिल्लो समय विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।

प्रतिक्रिया