ad ad

छापा खबर


ल्यान्डफिल साइट बनाउने १६ वर्षदेखिको आयोजना अलपत्र, राजधानीको फोहोर फेरि रोकियो

ल्यान्डफिल साइट बनाउने १६ वर्षदेखिको आयोजना अलपत्र, राजधानीको फोहोर फेरि रोकियो

नेपालखबर
असार ३, २०७८ बिहिबार २३:४४,

पछिल्लो एक दशकमा देशभर सानाठूला हजारौँ आयोजना शिलान्यास र उद्घाटन भए । देशका प्रधानमन्त्रीदेखि गाउँका वडाध्यक्षसम्मले रिबन काट्न तँछाड–मछाड गरे । तर, नुवाकोटको बन्चरेडाँडामा निर्माणाधीन अत्याधुनिक ल्यान्डफिल साइटप्रति कसैले चासो देखाएका छैनन्, १६ वर्षदेखि उद्घाटनको पर्खाइमा छ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । त्यसका लागि एक हजार सात सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड मुआब्जा पनि बाँडियो । तर, १६ वर्ष बित्दा पनि ल्यान्डफिल साइट सम्पन्न हुन सकेको छैन ।

बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने सरकारको भनाइ छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

सिसडोलमा बिहीबार जे देखियो...

निरन्तरको वर्षाले गलेको फोहोरमा ट्रक गुड्ने बाटो बनाउन बिहीबार नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका इन्चार्ज सरकारदीप श्रेष्ठ एक्स्काभेटर चालकलाई निर्देशन दिँदै थिए । एक्स्काभेटरको चेन घरी फोहोरको दलदलमा भासिन्थ्यो, घरी फोहोर निचोरिएर बगेको लिच्चडमा चिप्लिन्थ्यो । काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक बाटो ‘क्लियर’ हुने प्रतीक्षामा लस्करै रोकिएका थिए ।

छेउछाउको डिस्को ताछेर माटो खन्याएपछि बल्ल फोहोरको पहाडमा सडकको रेखा देखिन थाल्यो । यही रेखा पछ्याउँदै लाम लागेकामध्ये अगाडिको ट्रक अघि बढ्न थाल्यो । तर, लिच्चड जम्मा भएर बनेको दलदलमा चक्का फसेपछि ट्रक अघि बढ्नै सकेन । एक्स्काभेटरले पछाडिबाट ठेल्दासमेत ट्रकको चक्का दलदलबाट निस्कन सकेन ।

चार दिनदेखि नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका कर्मचारी फोहोरको पहाड फाँडेर सडक बनाउन प्रयासरत छन्, तर सफल हुन सकेका छैनन् । जसका कारण चार दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन । ‘केही दिनदेखि लगातार वर्षा भयो । फोहोरको पहाड गल्दै आयो । एकाएक भत्किएर सडक अवरुद्ध गर्न थाल्यो । पहिरो रोक्न अनेक प्रयास भए । तर, असफल भयौँ,’ उपत्यकाको फोहोर डम्पिङ हुन नसकेको कारण बताउँदै ल्यान्डफिल साइटका इन्चार्ज श्रेष्ठले भने, ‘काठमाडौंको फोहोर संकलन हुन नसक्नुको मुख्य कारण यही हो । पानी केही कम भएको छ । अबचाहिँ प्रगति होला कि ’

उपत्यकामा थुप्रिन थाल्यो फोहोरको डंगुर

सिसडोलमा बाटो अवरुद्ध भएपछि उपत्यकाको फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकालगायत स्थानीय निकाय र निजी कम्पनीले चार दिनदेखि घरहरूबाट फोहोर उठाएका छैनन् । घरहरूमा थुप्रिएको फोहोर कुहिन थालेपछि सडकमा फाल्ने क्रम बढेको छ ।

सरकारी तथ्यांकअनुसार उपत्यकामा दैनिक आठ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरपालिकाभित्र मात्रै दैनिक पाँच सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यस हिसाबले तीन हजार दुई सय मेट्रिक टन फोहोर चार दिनदेखि उपत्यकामै थुप्रिएको छ । त्यसअघि उठाइएको केही फोहोर पनि टेकुस्थित फोहोर संकलन केन्द्रमै कुहिन थालेका छन् ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले सिसडोलमा बाटो बिग्रिएको र फोहोर फाल्ने ठाउँ नै नभएका कारण चार दिनदेखि उपत्यकाको फोहोर उठ्न नसकेको बताए । ‘लगातार वर्षा भयो । सिसडोलमा भरिएको फोहोरले बाटो अवरुद्ध गरेको छ । अन्यत्र फोहोर फाल्ने ठाउँ भएन । त्यसैले फोहोर उठ्न नसकेको हो,’ उनले भने, ‘अब बन्चरेडाँडाको विकल्प हामीसँग छैन । तर, बन्चरेडाँडामा डम्पिङ साइट अझै बन्न सकेको छैन ।’

काठमाडौं महानगरपालिकाका अनुसार सिसडोलमा उपत्यकाभित्रका १८ स्थानीय तहको फोहोर फाल्ने गरिएको छ । काठमाडौं महानगरबाट मात्रै पछिल्लो १६ वर्षमा ३० लाख मेट्रिक टन फोहोर लगेर सिसडोलमा फालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .