छापा खबर


नेपालमा कोरोना महामारी : सरकारको त्रुटिले धेरैको मृत्यु

नेपालमा कोरोना महामारी : सरकारको त्रुटिले धेरैको मृत्यु

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १:४४,

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत वर्षको पहिलो लहरमा ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको थियो। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको बताए।

‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ। सरकारले राम्रो व्यवस्थापन गरेको भए यति धेरै मानिसको मृत्यु हुने थिएन’, उनले भने। सरकारले होम आइसोलेसनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए। ‘सरकारले होम आइसोलेसनमा अक्सिजन घटेपछि अस्पताल जाऊ भन्यो। अस्पताल पुग्दा ७० प्रतिशत अक्सिजन घटिसकेको हुन्थ्यो। यस्ता बिरामीको अस्पताल पुगेको दुईचार घण्टामै ज्यान गयो’, उनले भने।

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार पछिल्लो एक सातायता संक्रमितमध्ये २ प्रतिशतको मृत्यु भएको देखिन्छ। ‘हामीकहाँ जुनसुकै उमेर समूहका पनि धेरैको मृत्यु भयो तर २ प्रतिशतभन्दा माथि गएको छैन। अब सुधार पनि हुन सक्छ’, उनले भने।

गत २४ घण्टामा कोरोना संक्रमण दर अघिल्लो दिनको भन्दा चार प्रतिशतले बढेर ४१ प्रतिशत पुगेको छ। आइतबार संक्रमणदर ३७ प्रतिशत थियो। गत २४ घण्टामा परीक्षण गरिएका २२ हजार ८७ नमुनामध्ये ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।

थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता १ लाख ८६ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .