छापा खबर


सांसद यादवको राजीनामाः सीके राउतलाई सांसद बनाउने तयारी !

सांसद यादवको राजीनामाः सीके राउतलाई सांसद बनाउने तयारी !

नेपालखबर
साउन २९, २०७६ बुधबार ३:९,

समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ ।

पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन्।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको बताए । ‘स्वास्थ्यमा समस्या परे उपचारका लागि बिदा बस्न पाइन्छ, राजीनामा दिनुपर्दैन,’ उनले भने।

राजनीतिक वृत्तमा भने सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालाई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ।

विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएका सीके राउतलाई संसद्भित्र छिराउन राउतकै जिल्लाको सिट खाली गराइएको आशंका पनि केहीले गरेका छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

राउतसँगको सहमतिका क्रममा नेकपाका नेताहरूले उनलाई संसद्मा ल्याउनेसम्मको भद्रसहमति गरेको बताइन्छ । त्यो सहमति कार्यान्वयन गर्ने सिलसिलामा सत्तारूढ दलहरू नेकपा र समाजवादीकै योजनाअनुसार यादवको राजीनामा आएको आशंका गरिएको हो।

‘त्यस्तो आशंका गलत हो । मधेसका मूलधारका पार्टी समाजवादी र राजपा हुन् । हाम्रो पार्टी सीके राउतको पार्टीसँग मिल्न आवश्यक छैन र सम्भावना पनि छैन,’ अरगरियाले भने।

राउत नेतृत्वको जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले पनि त्यस्तो आशंकाको खण्डन गरे । ‘हामी मूलधारको संसदीय राजनीति गर्नै पार्टी बनाएर आएका हौं तर अहिले नै उपचुनावमा लड्ने हाम्रो तयारी छैन,’ उनले भने, ‘सप्तरीमा एक सांसदले राजीनामा दिनुमा हाम्रो कुनै सम्बन्ध छैन।’

उनले पहिले पार्टी मजबुत बनाउने र त्यसपछि मात्र चुनावमा जाने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad