ad ad

छापा खबर


फास्ट ट्रयाकको निर्माण कसरी हुँदैछ? काठमाडौँबाट एक घण्टामै निजगढ कहिले पुगिएला ?

 फास्ट ट्रयाकको निर्माण कसरी हुँदैछ? काठमाडौँबाट एक घण्टामै निजगढ कहिले पुगिएला ?

नेपालखबर
साउन २८, २०७६ मंगलबार १:४४,

बहुप्रतिक्षित काठमाडौं–तराई द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको छ।

प्रस्थानबिन्दु, रेखांकन र डीपीआर टुंगो लगाउन लामो समयदेखि गृहकार्य भइरहेको छ।

सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ। भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो।

सेनाले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएकोमा दुई वर्ष बितिसक्दा पनि विस्तृत परियोजना प्रतिवेदन अनुमोदन हुन नसकेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन्।

नेपाली सेनाले डीपीआर रक्षा मन्त्रालयमार्फत् स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेश गरेको भए पनि मन्त्रिपरिषद्बाट थप अध्ययनका लागि सरोकारवाला मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मातहतको सडक विभागमा पठाएको छ।

कोरियन परामर्शदाता सुसुङको प्राविधिक सहयोगमा तयार पारिएको नयाँ डीपीआरमा तीनवटा सुरुङमार्ग रहने उल्लेख छ। तीन सुरुङको लम्बाई ६.४२ किलोमिटर हुनेछ। महादेवडाँडा ३.३५ किमि, धदे्र १.६३ किमि र लेनडाँडा १.४३ किमि लम्बाइ हुनेछ।

ठेक्काको प्रक्रियामा रहेको २.६८ किलोमिटर नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण गर्न ४२ महिना लाग्ने जनाइएको छ। सबै प्रक्रिया पूरा हुँदा पनि सुरुङमार्ग निर्माण गर्न साढे तीन वर्ष लाग्ने बताइएको छ।

भौतिक पूर्वाधार तथा यातायात पूर्वसचिव तुलसी सिटौलाका अनुसार तोकिएको समयमा द्रूतमार्ग निर्माण नहुने बताउँछन्।

‘निर्माण अवधिको दुई वर्ष सकिएको छ। एक साताभित्र डीपीआर पास भए पनि तोकिएको समयमा निर्माण पूरा हुँदैन’, सिटौलाले भने, ‘सेनाले समय थप्न सुरुङको लम्बाई र डीपीआरको विषय उठाएको छ।’

सेनाले द्रूतमार्गको ट्रयाक २०६६–६७ मा सुरु गरेर २०६९ फागुनमा सकेको थियो। द्रूतमार्ग निर्माणका लागि सहजीकरण गर्न १० स्थानमा वेश क्याम्प खडा गरिएको छ।

द्रूतमार्गको ५५ किमि सडक निर्माण गर्न जमिन कटान, माटो भर्ने, पर्खाल लगाउनेसहित नेपाली निर्माण व्यवसायी र सेनाले गरिरहेको छ।

डीपीआरको अभावमा सुरुङमार्ग र ठूला पुलको ठेक्का लगाउन समस्या भइरहेको सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डे बताए। ‘तोकिएको समयमा निर्माण सम्पन्न गर्न सेना कटिबद्ध छ’, पाण्डेले भने, ‘त्यसका लागि डीपीआर स्वीकृति हुनुपर्छ।’

निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्न काठमाडौं र तराईबीचको सबैभन्दा छोटो दूरीको यो द्रूतमार्गको लम्बाई ७२.५ किलोमिटर छ। निर्माण पूरा भएपछि १ घण्टा २ मिनेटमै काठमाडौंबाट निजगढ पुग्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .