छापा खबर


कम्तीमा ६ महिना पुनः कोरोना संक्रमण हुने सम्भावना न्यून

कम्तीमा ६ महिना पुनः कोरोना संक्रमण हुने सम्भावना न्यून

नेपालखबर
चैत ७, २०७७ शनिबार १:३६,

कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ।

कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

अध्ययनले ६५ वर्ष उमेरभन्दा कम उमेरका मानिस भाइरसबाट ८० प्रतिशतले सुरक्षित हुने तर ६५ वर्ष उमेरमाथिका ४७ प्रतिशत मात्र सुरक्षित रहने देखाएको छ।

डेनमार्कको स्टेटन्स सेरम इन्स्टिच्युट, कोपेनहेगन विश्वविद्यालय र स्विडेनमा रहेको युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले गरेको उक्त अध्ययनले संक्रमण भएको ६ महिनापछि सुरक्षाको स्तर घट्ने प्रमाण नभेटिएको देखाएको छ। अध्ययन नतिजाले वृद्धहरूलाई भाइरसबाट बढी सुरक्षित गर्न यसअघि अवलम्बन गरिएका रणनीतिलाई सही प्रमाणित गरेको मेडिकल जर्नल ल्यान्सेटले जनाएको छ।

‘यो अध्ययनले भाइरसबाट संक्रमित भइसकेका वृद्धहरूले खोप लगाउनुपर्ने देखाएको छ,’ उक्त जर्नलद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ। यसअघि भएका अध्ययनले पनि संक्रमित भइसकेकाहरू कम्तीमा ६ महिनासम्म सुरक्षित रहने देखाएका थिए तर यो अध्ययनले सुरक्षाको समग्र स्तर राम्रो रहेको र यो सुरक्षा उमेर समूहअनुसार फरकफरक हुने देखाएको छ। अध्ययन नतिजालाई प्रकाश पार्दै स्टेटन्स सेरम इन्स्टिच्युटका डा.स्टिन इथेलबर्गले यो अध्ययनले पुनः संक्रमण दरसम्बन्धी यसअघि भएका अध्ययनको नजितालाई पुष्टि गरेको बताए।

‘हाम्रो अध्ययनले युवा तथा स्वस्थ मानिसमा पुन संक्रमणको सम्भावना विरलै रहने देखाएको छ तर वृद्धहरूमा यो जोखिम अत्यधिक देखिएको छ। वृद्धमा भाइरसको लक्षण पनि देखिने र मृत्युको सम्भावना पनि अत्यधिक हुँदा यो अध्ययनले त्यो समूहको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्नुपर्ने देखाएको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad