छापा खबर


अब महिला आफैँले परीक्षण गर्न सक्छन् पाठेघरको क्यान्सर

अब महिला आफैँले परीक्षण गर्न सक्छन् पाठेघरको क्यान्सर

नेपालखबर
चैत ५, २०७७ बिहिबार १:५४,

महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ।

धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच नै नगराउने गरेको चर्चा गर्दै भनिन्, ‘आफैँ जाँच गरी क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिनेछ।’ यो खबर आजको गोरखापत्रमा यलु जोशीले लेखेकी छन्।

धुलिखेल अस्पतालले तीन महिनाअघिदेखि सुरु गरेको ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ हालसम्म १५० महिलाले प्रयोग गरिसकेका छन्। धुलिखेल वरपरका महिला यो विधि अपनाउन इच्छुक छन् वा छैनन् भनेर सर्वेक्षण गरेपछि मात्र सो किट वितरण गरेको र प्रयोग गर्न पाएपछि सबै खुसी भएका शाक्यले बताए।

पाठेघरको मुखको क्यान्सर एचपीभी डीएनए टेस्ट, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआईए) तथा प्यापस्मियर टेस्ट गरी तीन तरिकाले परीक्षण गर्न सकिने जानकारी उनले दिए। यो सबै डाक्टरले नै गर्नुपर्ने कारण धेरै महिला लाज मान्ने तथा हिच्किचाउने गरेको पाइन्छ।

‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गरी महिलाले आफैँले नमुना लिन सक्छन् । त्यही नमुना परीक्षण गरी क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ । यो किटले ३० वर्षभन्दा माथिको उमेर समूहका महिलाको मात्र जाँच गर्न सकिन्छ।

डा.शाक्यले यो किटलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मान्यता दिइसकेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रयोग गर्न अनुमति दिइसकेको बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की सदस्य नमिता घिमिरेले ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गर्न अनुमति दिएको जानकारी दिइन्। नेपालमा पाठेघरको मुखको क्यान्सर ठूलै समस्या भएको जानकारी दिँदै घिमिरेले यो जाँच प्रक्रियाले पाठेघर मुखको समस्या केही हदसम्म कम गर्न सहयोग गर्ने आशा व्यक्त गरिन्।

धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. शाक्यका अनुसार पाठेघरको मुखमा भएका कोषको असामान्य ढङ्गले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो। समय–समयमा पाठेघरको जाँच गरी क्यान्सरपूर्वको अवस्था तथा प्रारम्भिक चरणको उपचार समयमै गर्न सके यसबाट बच्न सकिने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad