ad ad

छापा खबर


ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउलान्?

ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउलान्?

नेपालखबर
फागुन २९, २०७७ शनिबार १:३०,

नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ।

अहिले दुई दल विभाजनसँगै विकास भएको नयाँ घटनाक्रममा कांग्रेस फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ । तर अहिले नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा आएको खबर आजको नागरिक दैनिकले छापेको छ।

आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ। जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा पार्टीका अन्य नेतालाई कांग्रेस वा माओवादी नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्न नैतिक संकट पर्नेछ।

माओवादी नेतृत्वमा अहिले नयाँ सरकार गठनको सम्भावना निकै कम छ । ओलीको विकल्पमा माओवादी केन्द्रले कांग्रेस वा जसपामध्ये कुनै एकको नेतृत्व स्वीकार गरेर अघि बढ्ने नेताहरूको बुझाइ छ।

त्यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर मुख्य दाबेदार हुन् । पार्टीको १४औं महाधिवेशन संघारमै आइपुगेकाले देउवा मुलुकको कार्यकारी प्रमुख हुँदा त्यसको असर महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा पनि पर्ने कांग्रेस नेताहरूको बुझाइ छ।

प्रधानमन्त्रीसहित पार्टी सभापतिका लागि देउवा अघि बढ्दा उनलाई रोक्न सहज नहुने संस्थापन इतर पक्षको बुझाइ छ । त्यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्रीमा रोक्न मधेसबाट लामो समयदेखि राजनीति गर्दै आएका पार्टीकै पूर्वनेता ठाकुरलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न कांग्रेसलाई धेरै कठिन नहुने नेताहरूको बुझाइ छ।

‘कांग्रेसकै पहलमा मधेसी मूलको नेतालाई प्रधानमन्त्री बनाउने यो एउटा अवसर पनि हो,’ कांग्रेसका एक नेताले भने, ‘महन्थजी हाम्रो पार्टीको पुरानो नेता र असल मित्र पनि हुनुहुन्छ।’

शुक्रबार साँझ नै सभापति देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस र जसपाका नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादवसहितका नेताले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेससहितका दलहरू सँगै लडेको बताउँदै आगामी दिनमा पनि मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए।

उनीहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतमा नयाँ सरकार गठनसहित मुलुकमा देखापरेका समस्या समाधानका लागि अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल नभएको बताएका छन् । कांग्रेससँगको छलफलपछि ठाकुरले पत्रकारसँग भने, ‘तपाईंहरूको मुखबाट सुनेको छु, मलाई त यस्तो कुरा कसैले राखेको छैन । यस्तो राम्रो खबर, त्यसका लागि तपाईहरूलाई धन्यवाद छ।’

जनता समाजवादी पार्टीका अन्य नेताले भने आफ्नो दलले अरुलाई मात्र सहयोग गर्छ भन्ने धारणा गलत भएको जनाउँदै सरकारको नेतृत्वका लागि अग्रसरता लिने बताउँदै आएका छन् । ‘नेपालमा सोच नै के भयो भने हामी खाली अरुको समर्थन गर्न मात्रै हो । कसलाई समर्थन गर्दै हुनुहुन्छ भन्ने प्रश्न उठाइन्छ’, बैठकपछि नेता राजकिशोर यादवले भने, ‘यसलाई हामीले चिर्ने र ऐतिहासिक कार्यभारको नेतृत्व जसपाले लिन तयार हुनुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .